मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अक्षर समूहको पर्खालमा कला अभियान

अक्षर समूहको पर्खालमा कला अभियान


कुनै समय थियो, सार्वजनिक पर्खालहरु राजनीति नारा र विज्ञापनहरुले भरिन्थे । अनि फिल्मका पोस्टरहरुले रगिन्थे । ती पर्खालमा न कुनै सन्देश पाइन्थ्यो न कुनै सूचनामूलक जानकारी । 
 
चितवनका साहित्य र कलाका पारखीहरुको समूह अक्षर समूहले जब ‘पर्खालमा कला’ अभियान चलायो तब त्यस्ता विज्ञापन र राजनीति नाराहरुले भरिएका पर्खाल सन्देशमूलक कलाले भरिन थाल्यो । 
 
अनावश्यक र सन्देशविहीनका सामग्रीले रंगहीन र कुरुप बनेका भित्ताहरुलाई अक्षर समूहले आवश्यक र सन्देशमूलक बनाएको छ । अक्षर समूहका निवर्तमान अध्यक्ष तथा युवा साहित्यकार भूपिनले २०७१ सालबाट पर्खालमा कला अभियान चलेको बताए । 
 
पहिलो चरणको कला अभियान जिल्ला विकास समितिका भित्ताहरुमा चलेको थियो । ‘भित्तामा रहेका जति कलाहरु छन्, ती सबै सन्देशप्रवाह दिने खालका छन्’ निवर्तमान अध्यक्ष भूपिनले भने, ‘कुरुप बनेका पर्खालहरु अहिले सुन्दर भएका छन् ।’ 
 
भित्ताहरु सन्देशमूलक सिर्जनाले भरिँदा सबैको आकर्षण बढेको उनी बताउँछन् । पहिलो चरणमा जिल्ला विकास समितिको पर्खालमा १४ वटा चित्रहरु बनाइएको थियो । 
 
अक्षर समूहले दोस्रो चरणको ‘पर्खालमा कला’ अभियान जिल्ला प्रहरी कार्यालयका भित्ताहरुमा चलायो । पर्खालमा पोतिएको कलाले महिलालाई अगाडि बढ्न हौसला थपेको छ । महिला हिंसाविरुद्ध लड्न सिकाएको छ ।  बालअधिकार प्राप्त गर्न भनेको छ । वातावरणलाई संरक्षण गर्नुपर्ने सन्देश दिएको छ । 
 
बालुवाबाट कला भर्ने चित्रकार प्रकाश थापा (प्रथा) र रत्ननगर वल्र्ड आर्ट लिंकका सञ्चालक एवं कलाकार योगेश खनालको अगुवाइमा पर्खालमा कला भरिएको हो । हरिकृष्ण भट्ट, सुरज अर्याल, कृष्ण थापा, सेवक श्रेष्ठ, प्रियंका चौधरी, विश्व श्रेष्ठ र निश्चल श्रेष्ठको समूहले पर्खालमा कला भरेको हो ।
 
अक्षर समूहले तेस्रो चरणको कार्यक्रम फेरि जिल्ला विकास समितिको भित्ताहरुमा चलाएको थियो । ती भित्ताहरुले आज सन्देशप्रवाह गरिरहेका छन् । सुन्दर र सफा सहर बनाउन पर्खालमा कोरिएको कलाले महत्वपूर्ण भूमिका खेलेका छन् । 
 
भित्ताको तस्बिरसँगै बसेर फोटो खिचाउने युवायुवतीको भीड लागेको छ । अक्षर समूहले चौथों चरणको अभियान फेरि चलाउने सुरसार गरेको समूहका निवर्तमान अध्यक्ष भूपिनले बताए । उनका अनुसार एक चरणको पर्खालमा कला अभियान सम्पन्न गर्दा ५० हजार खर्च हुन्छ । 
 
चौंथो चरणको अभियान चलाउन अक्षर समूहले आर्थिक जोहो गर्दैछ । आर्थिक जोहो गर्ने काम सकेपछि चौंथो चरणको अभियान चलाउने कवि भूपिनले बताए । विदेशतिर सरकारले नै लगानी गरेर पर्खालमा कला भर्ने काम गर्छ । ‘म अमेरिका, कलकत्ता जाँदा भित्तामा सन्देशमूलक कला भरेको देखेर नै यहाँ पनि यस्तो अभियान चलाइएको हो’ कवि भूपिनले भने ।