मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कस्ता समाचारलाई विश्वास गर्ने ?

कस्ता समाचारलाई विश्वास गर्ने ?


‘कस्ता अनलाइनमा आएका समाचारको विश्वास गर्ने ?’
शनिबार साँझ सानो जमघटमा एक नेपालीले जिज्ञासा राखे । नेपालमा राम्रै पृष्ठभूमि भएका ती व्यक्ति एक दशकदेखि अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका छन् । उनले सोधेको जिज्ञासाको चित्तबुझ्दो जवाफ मैले दिन सकिन । छरपस्ट खुलेका अनलाइनका छरपस्ट समाचारले मान्छेका दिमाग रन्थनिएका छन् यतिखेर । कुन सही र सत्य आम पाठकले खुट्याउन सक्ने अवस्था छैन । उनलाई पनि भएछ त्यस्तै । 
 
नेपालमा छँदा मेरो पृष्ठभूमि पत्रकारिता रहेको थाहा पाएपछि उनले मसँग यो जिज्ञासा राखेका थिए । मैले उनको जिज्ञासालाई साम्य पार्ने प्रयास गर्दै मैले सोझो र सजिलो उपाय सुझाएँ–‘अब कुनै अनलाइनको नाम हेरेर होइन त्यहाँ काम गर्ने पत्रकार को को छन् त्यसलाई आधार मानेरमात्र विश्वास गर्नुस् ।’ 
 
लामो समय पत्रकारितामा बिताएका व्यक्तिले सितिमिति गलत तथ्यमा आधारित समाचार लेख्दैनन् भन्ने मेरो बुझाई हो । ९० प्रतिशतमा मेरो यो विश्वास छ । एकाधमा चुकेका घटना बाहेक पत्रकारितामै केही वर्ष बिताएकाले अनलाइनको भिजिटर बढाउने लोभमा शत प्रतिशत झुठो समाचार अहिलेसम्म दिएका छैनन् । 
 
‘त्यसो भए को अनुभवी पत्रकार हो भनेर चाँही हामीले कसरी जान्नु ?’ उनको यो प्रश्नले भने म रन्थनिएँ । उनको ठाउँमा म भएको भएपनि शायद म रन्थनिन्थे होला । किनकी अधिकांश पाठकले समाचार पढ्दा कसले लेख्यो ? कसको बाइलाइनमा समाचार छ भन्ने जस्ता कुराहरु ख्याल गर्दैनन् । गर्ने कुरो पनि भएन । जसरी कुनै रेष्टुरेन्टमा गएर खाना खाँदा कुन सेफले बनायो भनेर चासो दिइन्न त्यसैगरि समाचारको सन्दर्भमा पनि धेरैले संवाददाता को रहेछ, कसले समाचार लेखेको रहेछ भनेर मतलव राख्दैनन् । 
 
म डेढ दशकसम्म नेपाली पत्रकारितामा प्रत्यक्ष ढंगले संलग्न रहे । त्यसो हुँदा कुन पत्रिकाका समाचार कति विश्वसनीय रहन्छन् ? कुन अनलाइनले भरपर्दो समाचार दिन्छन् र कुन पत्रकारले लेखेका समाचार कति तथ्यपरक हुन्छन् भन्ने कुरालाई थोरै भएपनि खुट्याउनसक्छु । तर, आम पाठकले त्यसप्रति चासो दिँदैनन् । दिएर साध्य अनि संभव पनि हुँदैन । 
 
सूचना प्रविधिले संसारलाई असाध्यै साँघुरो बनाइदिएको छ । अमेरिकामा के भैराखेको छ भनेर नेपालको जुम्लामा बसेर जानकारी लिन सकिन्छ । नेपालको ताप्लेजुङमा भैराखेको गतिविधि अमेरिकामा बसेर अपडेट हुन सकिन्छ । अझै फेसबुकले त सबैलाई पत्रकार बनाइदिएको छ । केही नयाँ जानकारी, भिडियो पायो कि फेसबुकमा अपलोड गरिदियो । छिनभरमा डढेलो सल्केजसरी फैलिइहाल्छ । स्मार्टफोनले असाध्यै सजिलो पारिदिएको छ ।
 
यतिखेर फेसबुकको भन्दा पनि अनलाइनहरुको चर्चा गर्न लागिएको हो । केही दिनयता नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उनले चालेका अध्यागमनसँग संबन्धित कृयाकलापले सञ्चारमाध्यमहरुमा गतिलै ठाउँ पाएको छ । विशेषगरि ट्रम्पले सातवटा मुस्लिम देशका नागरिकहरुलाई ९० दिनका लागि अमेरिका प्रवेशमा लगाएको वन्देजपछि उनी निकै चर्चित भए । भलै, अदालतले राष्ट्रपति ट्रम्पको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । 
 
ट्रम्पको यो कदमपछि ‘अमेरिकाबाट सारा नेपालीहरु खेदिने भए’, ‘ट्रम्पले नेपालीलाई यसो भने, उसो भने’ भन्ने आशयका समाचारहरु अहिले अनेकन नामधारी अनलाइनहरुमा बग्रेल्ती देखिन्छन् । 
 
‘हामी यहाँ कुनै तनावविहिन आनन्दले बसिराखेका छौँ, नेपालबाट यसो भयो रे, उसो भयो रे । नेपालीलाई खेदिराखेको छ अरे भनेर फोन आएर हैरान भयौैँ,’ आइतबार एक कार्यक्रममा भेटिएका नेपाली भन्दैथिए । अधिकांश नामै नसुनिएका र केही स्थापित अनलाइनहरुले समेत अमेरिकामा नेपाली खेदिन थालेका, ‘तिम्रो देश फर्क’ भनेर प्रदर्शन भएका खबरहरु प्रकाशित गरिरहेकोमा ती नेपालीको आपत्ति थियो । 
हुँदै नभएका खबरहरु लेखेर मान्छेहरुलाई उत्तेजित बनाउनेमा ब्लगस्पट खालका अनलाइन अग्रपङ्क्तीमा छन् । जसलाई यतिखेर अमेरिका, ट्रम्प अनि नेपालीहरु अमेरिकाबाट निकाला भएको समाचार विकाउपूर्ण लागेको छ । शायद यी समाचारहरु अहिले नेपालमा मात्र होइनन् संसारमै सबैभन्दा ज्यादा विकाउ र पढिने समाचार भएका कारणले नक्कली कथा बुनेर भएपनि अनलाइनमा पाठकहरुको ‘भिजिट’ बनाउन व्यस्त छन् । कुनै बखत नेपालमा माओबादी असाध्यै विकाउको चिज थियो मिडियाका लागि । यतिखेर नेपाली मिडियाका लागि ट्रम्प विकाउको चिज भएका छन् । 
 
हुँदै नभएका, तथ्यसँग मिल्दै नमिल्ने कुराहरुलाई जोडजाड गरेर समाचार बनाउने र शेयर गरेर मान्छेलाई आतंकित बनाउने समूह यतिखेर सल्बलाएका छन् । यसमा पहिलो वर्ग छ, आपूmलाई पत्रकार भन्न र चिनिन रुचाउने तर अनुमानका भरमा छेउ न टुप्पाको समाचार लेख्नेहरु । जसको कामनै आफ्नो अनलाइनको भिजिटर बढाउने हो । ज्योति मगरले तिघ्रा देखाएर नाचिन् भन्ने शिर्षक राखेर हुन्छ कि सन्नी लियोनले फलानोसँग डेटिङ गइन् भनेर हुन्छ । 
 
जसरी हुन्छ मान्छेलाई आफ्नो साइट खोल्न वाध्य पार्नु यो वर्गको एउटै ध्येय हो । अहिले डोनाल्ड ट्रम्प बिकाउ मसला भएका छन् तिनका निम्ति । जसले आप्रवासीप्रति बोलेका र गरेका निर्णयमात्र होइनन् उनले भन्दै नभनेका, ट्रम्पले सोच्न पनि नभ्याएका विषयहरु समाचारको नाममा डँढेलोसरी फैलाइएको छ । 
अमेरिका आउन लाखौ प्रयास गरेका र असफलता हात पारेका समूहहरु पनि अमेरिकामा रहेका नेपालीलाई ट्रम्पले खेदुन् भनेर धुप हाल्दैछन् । उनीहरु जसरी हुन्छ अनलाइनमा गलत समाचार लेखेर आफ्नो मनलाई शान्ति दिने प्रयासमा छन् । 
 
ट्रम्पको टार्गेट भनेको गैरकानुनी रुपमा (नागरिकता, ग्रीनकार्ड वा वर्क परमिट बेगर) अमेरिकामा बस्दै आएका आप्रवासीप्रति हो । तर अनलाइनहरुमा समाचार यसरी प्रवाह भइरहेका छन् कि अमेरिकाभन्दा बाहिरबाट आएका सबै आप्रवासीहरु, जसले नागरिकता लिइसकेका छन्, ग्रीनकार्ड छ र वर्क परमिट लिएर काम गरिराखेका छन् भने पनि तिनीहरुलाई भोलीनै गोर्खेलौरी लगाएर लखेटिँदैछ । के यी समाचार सही हुन् त ? एक रत्ती पनि सत्य होइनन् । 
 
सर्वसाधारणमात्र होइन यस्ता हावादारी समाचारका कारण पूर्ब राष्ट्रपति समेत प्रताडीत हुनु परेको छ । गत साता नेपालबाट जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले फेसबुकमा एउटा पोष्ट गर्नुभयो । श्रेष्ठले जिन्दगीमा आफ्नो पत्रकारिता पेशाप्रति पश्चाताप लागेको उल्लेख गरेका छन् । प्रेस काउन्सिलको सदस्य समेत रहेका श्रेष्ठले यसो लेख्नुको कारण रहेछ–एउटा अंग्रेजी भाषामा निस्कने ‘मेगान्यूज ३६० डटकम’ नामक अनलाइनमा प्रकाशित पूर्ब राष्ट्रपति डा. रामवरण यादवको अमेरिकामा निधन भएको खबर समाचार । अमेरिकामा उपचार गराइरहेका यादवको मिचिगनको हेनरी फोर्ड अस्पतालमा निधन भएको खबर मेगान्यूजमा प्रकाशित छ । 
 
जुन दिन यो समाचार प्रकाशित भयो सोही दिन श्रेष्ठले पूर्ब राष्ट्रपति यादवसँग भेट गरेका थिए काठमाडौंमै । अब भन्नुस् यस्ता शत प्रतिशत झुठामात्र नभै जिउँदो मान्छेलाई मरेको भनेर ‘ब्रेकिङ न्यूज’ दिने अनलाइनलाई कसरी पाठकले विश्वास गर्ने ? 
यो त भयो अमुक ठाउँबाट प्रकाशित अनलाइनको समाचार । नेपालमा पनि मान्छेलाई आतंकित बनाउने समाचार हरेक दिन कुनै न कुनै अनलाइनमा हुन्छन् । प्रेस काउन्सिल प्रभावकारी निकाय हुनुपर्ने हो यस्तामाथि डण्डा बर्षाउनका लागि । तर काउन्सिलमाथिनै धावा बोल्नेहरुको वाहुल्यता भएपछि पत्रकारिता बेलगामको त हुनेनै भयो । त्यसैले परिणाम आम पाठकले फेरि पनि निरन्तर सोध्न वाध्य भइनै रहनेछन्–‘कस्ता अनलाइनमा आएका समाचारलाई मात्र विश्वास गर्नु ?’