मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

यौनका सुख-दु:ख : केही भ्रम केही यथार्थ

यौनका सुख-दु:ख : केही भ्रम केही यथार्थ


संसारमा सबैभन्दा बढी चाखलाग्दो कुरा यौन नै हुनुपर्छ । संसारका ९९ प्रतिशत मानिसहरू यसैमा बढी चासो राख्छन् । यौनका बारेमा गरिएका कैयौँ कुरा विज्ञान र शोधका क्षेत्रमा गलत देखाइएको भए पनि सर्वसाधारणले गलत कुरालाई नै सत्य मानिरहेका छन् । यहाँ यस्तै केही भ्रम र त्यसको निवारण गर्ने प्रयास गरिएको छ ।
 
समलैंगिकताको कुनै खास जिन हुँदैन
समलिङ्गीहरूको भाव उत्पन्न गर्ने विशेष किसिमको जिन हुन्छ भन्ने सोचलाई शोधकर्ताहरूले गलत भनेका छन् । उनीहरूले अभिनव प्रयास गर्दा पनि त्यस किसिमको जिन फेला पार्न सकेनन् । अर्थात्, समलैंगिकताको कुनै खास जिन हुँदैन । हाम्रो वरिपरिको वातावरण र हाम्रा इच्छाले हाम्रा कैयौँ सोच र भावनालाई असर पुर्‍याउने गर्छन् । त्यस वातावरणले कतिपयलाई समलैंगिकताको इच्छा उत्पन्न हुन जान्छ । कुन व्यक्तिलाई सो किसिमको इच्छा उत्पन्न हुन्छ र कुनलाई हुँदैन भन्ने डिएनएबाट पत्ता लगाउन सकिँदैन ।
 
टेस्टोस्टेरोनले महिलालाई कामोत्तेजित बनाउँछ
पुरुष हार्मोन टेस्टोस्टेरोनका कारण महिलामा यौनेच्छा उत्पन्न हुन्छ भन्ने कुनै प्रमाण पाइँदैन । बरु कतिपय महिलाहरू आफूलाई यौनेच्छा नभएको गुनासो गर्दा चिकित्सकहरूले उनीहरूलाई टेस्टोस्टेरोनको सुई लिने उपाय सुझाउँछन् । शोधपछि स्पष्ट भयो, महिलामा यौनेच्छासँग त्यो सुईको कुनै साइनो नै छैन । बरु यसको वास्तविकता के हो भन्ने चाहिँ शोध हुन नै बाँकी छ ।
 
केटाकेटीको लिङ्ग पहिचान
उमेर बढ्दै जाँदा कतिपय बालबालिकाहरूमा आफू केटा हुँ या केटी भन्ने दुविधा बढेर जान थाल्छ। यस्तोमा उनीहरूलाई राम्रोसँग सरसल्लाह दिन सकिएन भने तिनीहरूमा अवसाद बढेर जान्छ । यो हदभन्दा अघि बढे तिनले आत्महत्यासमेत गर्न सक्छन् । सुरुवाती चरणमा हामीलाई हाम्रो लिङ्गबारे उति धेरै चासो हुँदैन । धेरैजसो बालबालिकाले आफू केटा हो या केटी भनी प्रश्न सोध्ने गर्छन् । उमेर बढ्दै जाँदा आफ्नो वास्तविकता थाहा पाउँछन् । शोधकर्ताका अनुसार आफू के हो भन्ने थाहा नपाउनेहरूमध्ये १० प्रतिशत बालबालिका ट्रान्सजेन्डर बन्ने सम्भावना रहन्छ । त्यस्ता बच्चाहरूलाई बढी ध्यान दिनुपर्ने हुन्छ । किशोर वयमा पहिचानको सङ्कट बढ्दै गयो भने डराएर तिनले आत्महत्यासमेत गर्न सक्छन् ।
 
त्यसो त लिङ्गको पहिचानको सङ्कट निकै पुरानो कथा हो । यो पुस्ता मात्र होइन, महिला र पुरुषको बनिबनाउ ढाँचाबाट बाहिर आउने प्रयास यसअघि पनि नभएको होइन । दुई लिङ्गमा बाँडिएको समाजमा चुनौती थप्ने केही मानिसहरु नभएका होइनन् । उन्नाइसौँ शताब्दीमा फ्रान्सेली कलाकार क्लाड काहुनले पनि यस्तै चुनौती दिएका थिए । उनी लुसी भएर जन्मिएकी थिइन् तर पछि आफूलाई क्लाडका रुपमा परिचित गराए । फ्रान्समा क्लाड पुरुष र स्त्री दुवैको हुने गर्छ । आफ्नो लिङ्गका बारेमा क्लाडको भनाइ थियो– ‘कहिलेकाहीँ म स्त्री हो र कहिलेकाहीँ पुरुष । चरित्र बद्लिरहन्छ र अवस्थामा भर पर्छ ।’
 
कतिपय जीवमा पनि त दुईभन्दा बढी लिङ्ग हुन्छन् ! प्रायः हामीले त जनावरमा भाले या पोथी नै हुन्छन् भन्ने मान्यता राख्छौँ । भाले एक खास किसिमको व्यवहार देखाउँछ । त्यस्तै पोथीले पनि आफ्नै किसिमको व्यवहार देखाउँछे । तर यो कुरा सत्यभन्दा अलि टाढै छ ।
 
जसरी मानिसमध्ये केही समलैंगिक हुन्छन्, ट्रान्सजेन्डर हुन्छन्, त्यसरी नै जनावरका कैयौँ जातिमा भाले र पोथीका अतिरिक्त अलग्गै किसिमको लिङ्गयुक्त जनावर पनि पाइन्छन् । ब्लुगिल सनफिसमा त भालेकै तीन प्रकार पाइन्छन् । यिनले विपरीत लिङ्गीलाई लोभ्याउने क्रममा कहिलेकाहीँ भालेसँगै जोडिन आइपुग्छन् ।
 
हिजोआज पुरुष र स्त्रीलाई जनाउन ‘ऊ’ वा ‘उनी’जस्ता प्रयोग गरिन्छन् । अंग्रेजीमा ‘हि’ र ‘सी’। अंग्रेजीमा भाले वा पोथीबाहेक अन्य किसिमको सम्बोधनको आवश्यकता महसुस गर्दै नयाँ शब्द सिर्जना गर्ने पक्षमा छन् । काम चलाउनका लागि ‘दे’ शब्द उपयोग गर्न थालेका छन् । हुन त मानिसहरूको झुण्ड बुझाउन तिनीहरू उपयोग गरिँदैआएको छ । तर, अब भाले वा पोथी अर्थात् स्त्री वा पुरुषभन्दा बेग्लै किसिमको पहिचान भएकालाई दे अर्थात् ‘तिनीहरू’ भन्न सकिने भनी अमेरिकन डायलेक्ट सोसाइटीले सुझाएको छ । यो शब्दले पनि त पुरुष या स्त्री के हो भन्ने ठ्याक्कै बुझाउँदैन नि !