मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कसले बनाउला समुन्नत नेपाल ?

कसले बनाउला समुन्नत नेपाल ?


" नेपाल दक्षिण एसियामा तेश्रो भ्रष्ट देश " – गत हफ्ताको यो समाचार कुनैपनि नेपालीकालागि सुखद हैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको विश्वका गरिब देशहरूको सूचिमा आफ्नो देश यसरी तेश्रो नम्बरमा परेको देख्दा कसको मन दुख्दैन होला ! 
 
उक्त प्रतिवेदनले नेपालका राजनीतिक दल र संसद् ७० प्रतिशत भ्रष्ट मानेको छ । त्यतिमात्र हैन वैदेशिक सहयोगको ४० प्रतिशतसम्म दुरुपयोग एवम् चुहावट हुने गरेको उल्लेख गरेको छ । यस्तो नमिठो यथार्थ पढे पछि मन पोल्छ । झनै परदेशमा बसेर स्वदेशको नराम्रो कुरा सुन्नु पर्दा ग्लानी र हीनताबोधले सताउँछ । 
 
स्वदेशमा बस्नेहरु सोच्दा होलान् विदेशिएकालाई के को पिर ! तर त्यस्तो सोच राख्नेहरुलाई के थाहा त्यहाँभन्दा दश गुणा यता बस्नेलाई दुख्छ । परदेशी मुलुकहरूमा देखिरहेको व्यवस्थापन , पारदर्शिता , जवाफदेहिता र त्यसले निर्माण गरेको प्रगति नेपालसँग दाँजेर हेर्नै पर्ने हुन्छ । तर राजतन्त्र , लोकतन्त्र अथवा गणतन्त्र जे हुँदा पनि नेपालको आर्थिक अवस्थामा तात्विक परिवर्तन कसरी आउन सकेन ! केले रोक्यो नेपालको गति ? किन आउँदैन राजनीतिक स्थिरता ? ट्रान्सपरेन्सी इन्टरनेसनलले यिनै प्रश्नहरूको जवाफ दिन खोजेको देखिन्छ । 
 
देशको राजनीति , कर्मचारीतन्त्र , बुध्दिजीवि सबैतिर आफू अनुकूल सोच्ने र गर्ने रोग व्याप्त छ । सत्ताको तात्कालिक नशा र " ह्याङ्ग ओभर " न उत्रिँदा राजनीतिक अस्थिरताले गाँजेको छ । देशको मूल नीति राजनीति र यस्का नाइकेहरु नै सही बाटोमा नलागेपछि अब अर्को साल तेश्रोबाट दोश्रोमा उक्लिन के बेर ! राजनीतिमा कालो धन बलियो भएको छ । डन र फाटाहाहरु नेताका दाहिना बनेका छन् । दलका नेताहरूमा नैतिकता , इमान्दारी र लाज खडेरी परेको छ । कर्मचारी राष्ट्रसेवक हैन भक्षक हुनेगरेका छन् । बिजुली बेचेर आफू धनी बन्छन् जनता भने अँध्यारोमा बस्छन् । कुलमान र डा. गोविन्द केसीजस्ता सपुतहरु पागल मानिन्छन् , जाली फटाहा र धूर्तहरु जनताको मसिहा बनेर मालाले पुरिन्छन् । नेता र उनीहरूका आसेपासे अनि पहुँचवालाले स्वास्थ्य उपचारमा करोडौं स्वाहा पार्दा निर्धा गरिब जनताको ज्वरोमा सिटामोल पुग्दैन । 
 
नेपालमा कुनै पनि संस्था पारदर्शी भएनन् । सरकारी , गैरसरकारी  त कुरै नगरौं  निजी क्षेत्र समेत यो मामिलामा चोखो बन्न सकेको छैन । सामान्य केही भयोकि बन्द हड्ताल, तालाबन्दी , तोडफोड नेपालीको अपरिहार्य परम्परा झैँ भैसक्यो । जसले जे भने पनि जे गरेपनि जवाफदेहिताको संस्कार छैन । अझै राजनीतिक नेताहरूमा आफूले जे बोलेपनि जे गरेपनि पाच्य हुन्छ भन्ने अहम् देखिन्छ । भुटीभाङ्ग केही नगर्ने तर उनीहरू नै पपुलिष्ट हुनुपर्ने महारोगले ग्रसित छन् नेताहरू । राजनीतिक विश्लेषक डा. हरि शर्मा कै शब्दमा भन्नु पर्दा " पपुलिजम अमेरिकाबाट होस् वा युरोपमा होस् , त्यस्को बाछिटा हामीसम्म आइपुगेको छ " –  त्यसैले त कोहीलाई पॢथ्विनारायण शाह भनिनु पर्नेछ , कोही महेन्द्र वा वीपी जस्तै अदभुत मानिनु पर्ने प्रतियोगितामा दौडिएका छन् । कोभन्दा को बढी राष्ट्रवादी हुने खेलले मुलुकलाई झनै अस्थिर र बन्जर बनाउँदैछ भन्ने हेक्का कसैले राखेका छैनन् । 
 
अरू मुलुकहरू हेर्यो ईर्ष्या जाग्छ । आफ्नोतिर हेर्यो  विरक्त लाग्छ । कसरी उँभो लाग्ला नेपाल ? कसले बनाउला नेपाल ? अब कोबाट आश गर्ने ? सबै लाउकेहरुको परीक्षण त भैसक्यो । राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र – गणतन्त्र भित्र ज्ञानेन्द्र , शेरबहादुर , प्रचण्ड, केपी , बाबुराम , कमल थापा लगायत मधेसी नेताहरू सबै असफल भैसके । काँग्रेस , एमाले , माओवादी , राप्रपा , मधेसी दलहरू सबै सत्ताको कुर्चीमा बसिसके । खै त परिणाम ? 
 
नेपालको कायापलट गर्न अब यी पुराना आउटडेटेड शक्तिहरूको सामर्थ्य छैन भन्ने स्पष्ट भैसकेको छ । अहिलेनै त्यहाँभित्रका राम्रा र इमान्दार युवाहरू आउटडेटेडलाई पन्छ्याएर अघाडि आइहाल्लान् भनेर विश्वास गर्ने आधार पनि देखिँदैन । 
 
नयाँ सोच , नयाँ ऊर्जा र दॢढ इच्छा शक्ति भएको नेतॢत्व खोजेको छ देशले । स्यानो , चिटिक्क मिलेको नेपालमा सबैलाई मिलाएर तराई , पहाड र  हिमालको आस्था र ऊर्जालाई अकुण्ठित बनाउँदै समॢध्द पार्ने नयाँ शक्ति चाहिएको छ । डा. बाबुराम भट्टराईको जस्तो नयाँ शक्ति किमार्थ हैन । त्यो त सबैखाले परीक्षणमा अनुत्तिर्ण भएकाहरुको विश्राम गर्ने चौतारी मात्रै हो । 
 
नेपाललाई अब लरतरो हैन  चमत्कारिक इच्छा शक्ति , इमान्दार र  निष्ठा भएको  राजनीतिक शक्तिले मात्रै सुशासन र गन्तव्य दिन सक्छ । सुशासनको आशामा नेपालीले धेरै समय खर्चिसके । धेरैलाई आफ्नो मत र विश्वास दिएर हेरिसके । तर कतैबाट पनि त्यो आशा  र भरोषालाई थेग्ने प्रयत्न भएन । हो त्यसैले नेपालीले अब विकल्प खोज्ने बेला भैसक्यो । जति अबेर भयो दुख पाउने आँफैले हो ।