मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बद्री पंगेनीले रुवाए चितवनबासीलाई

बद्री पंगेनीले रुवाए चितवनबासीलाई


 ‘…बाध्य भइयो परदेशमा छिर्न
आमा मैले पढ्दा लागेको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको दसैँमा आमा घरमा आउँदिन…’
 
जव बद्री पंगेनी मञ्चमा उत्रिए, तव माहोल एकाएक शान्त भयो । किनकि लोकगायक पंगेनीले आफूले गीत गाउनुअघि वैदेशिक रोजगारको यथार्थ पीडा र अवस्थाबारे वर्णन गरेका थिए । परदेशीको पीडालाई लयमा गाउन थालेपछि निकै रौनक बनेको चितवन महोत्सवको माहोल एकाएक शान्त बनेको थियो ।
 
आफूले गाएको गीतको उक्त अंश सुनाउनुअघि गायक बद्री पंगेनीले दुई आमा गुमाउनुको पीडा पोखेका थिए । आमाप्रति आफ्नो सधैँ उच्च सम्मान रहने भन्दै पंगेनीले सुरूवातमै उक्त गीत गाएका थिए । 
 
चर्चित लोकगायक बद्री पंगेनीले उक्त गीतको टुक्का गाउँदै गर्दा चितवन महोत्सव कार्यक्रमस्थल निकै भावुक बनेको थियो । कार्यक्रममा उपस्थित भएकाहरु शान्त वातावरणमा गीत सुनिरहेका थिए ।
 
जव बद्री पंगेनी हाते माइक लिएर दुःखको गीत गाउँदै दर्शकमाझ आए, माहोल एकाएक फेरियो । धेरैको आँखा रसाएका थिए । सबै भावुक देखिन्थे । बद्रीको गीत सुनेर कपाल पाकेकी ६० वर्षीया वृद्धा धुरुधुरु रोइरहेकी थिइन् । रुनेमध्येकी ती वृद्धा प्रतिनिधि पात्रमात्र थिइन् । किनकि बद्रीको उक्त गीत सुन्दा प्रायः महिलाका आँखा रसाएका थिए । 
 
‘यस गीतले हरेक घरको आवाज बोलेको छ’, भावुक अवस्थामा मंगलपुरकी रीता पुनले भनिन्, ‘साँच्चै गीतले समाजको पछिल्लो अवस्था चित्रण गरेको छ ।’
 
आउँछु एकदिन बस् भर परेर
आमा पाखोबारी फर्काउने गरेर
 
पीडाको गीत पस्कने क्रममा गायक पंगेनीले ‘मन थिएन जोगी बन्नलाई’ भन्ने गीत गाएका थिए । त्यस्तै पञ्चेवाजाको तालमा पनि उनले गीत गाए । सुरूमा परदेशको पीडा सुनाएका पंगेनीले अन्तिम प्रस्तुतिस्वरुप निकै नै चर्चित गीत ‘ससुरालीमा ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ गाए । पंगेनीले उक्त गीत गाउँदा दर्शकले नाचेर पूर्ण मनोरञ्जन लिएका थिए ।