मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

एचआइभी सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै

एचआइभी सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै


चितवन । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् । 
 
एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा जन्माउन सकिने देखिएको छ । एएचएफ नेपालको सहयोगमा भरतपुर अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरमा सन् २०१० यता एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ देखिएका हुन् । सेन्टरबाट सेवा लिइरहेका ७२ सङ्क्रमित आमाले बच्चा जन्माइसकेका छन् । 
 
सन् २००७ यता जन्मिएका ७२ बालबालिकामध्ये तीन जनामा मात्र सङ्क्रमण भेटिएको छ । सङ्क्रमित भएकाहरु पनि सन् २०१० अघिका मात्रै हुन् । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१० यता सङ्क्रमित आमाबाट जन्मिएका कुनै पनि बच्चामा एचआइभी सङ्क्रमण भेटिएको छैन । 
 
सन् २०१६ मा पाँच सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये सबै निःसङ्क्रमित छन् । सरकारी स्वास्थ्य संस्थामा गर्भवती र प्रसूति सेवा लिन आउने सबैको एचआइभी परीक्षण हुँदै आएको छ । जिल्लामा एचआइभी सङ्क्रमण दर घट्दै गएको छ । विगत छ वर्षको तथ्याङ्कअनुसार विगतका वर्षमा क्रमशः सङ्क्रमितको पहिचान दर घट्दो छ । 
 
तथ्याङ्कअनुसार जिल्लामा हालसम्म एक हजार ३४९ सङ्क्रमित दर्ता भएका छन् । तीमध्ये ७०९ पुरुष, ५२५ महिला र ११३ बालबालिका छन् । सेन्टरको तथ्याङ्कअनुसार सन् २०१० सम्म जिल्लामा ९०४ सङ्क्रमित दर्ता भएका थिए । सन् २०११ मा ८० , २०१२ मा ९२, २०१३ मा ९२, २०१४ मा ८३, २०१५ मा ५७ र सन् २०१६ को नोभेम्बर २० सम्म ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
 
सेन्टरमा हाल ६७२ जनाले एआरटी सेवा लिइरहेको सेन्टरका कार्यक्रम संयोजक सापकोटाले बताए । उनका अनुसार ३१७ महिला ३२ पुरुष र ६०बालबालिका रहेका छन् । केन्द्रमा सम्पर्कमा आएका मध्ये हालसम्म ११९ जनाको मृत्यु भएको सापकोटाले बताए । जसमा पुरुष ८३, महिला ३० बालबालिका छ जना थिए ।
 
एचआइभी पहिचान भएकामध्ये एआरटी प्रयोग गरिरहेका २१९ जना र प्रयोग नगरेका ३०८ जना बाहिरी जिल्ला गएको कार्यक्रम संयोजक सापकोटाको भनाइ छ । उनका अनुसार सङ्क्रमण सर्ने दर भने घटेर गएको छ । नयाँ थपिनेहरु पनि अधिकांश पुराना रोगी हुन् । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयका एचआइभी स्रोतव्यक्ति अनुप अधिकारीका अनुसार पछिल्लो समय ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका सङ्क्रमित बढी सम्पर्कमा आएका छन् । सहरीकरण, बसाइँ सराइ, असुरक्षित यौन सम्पर्क, लागुऔषध, स्वास्थ्यप्रतिको बेवास्ताका कारण सहरमा यस्ता रोगी बढेको उनले बताए । प्रचारप्रसारका कारण लुकेर रहेका सङ्क्रमित खुलेर उपचारका लागि आउनेक्रम भने बढेर गएको छ । 
 
जिल्लामा १८ देखि ७२ वर्षसम्मका सङ्क्रमित भेटिएका छन् । तिनीहरुमध्ये अधिकांश २५ देखि ४९ वर्षसम्मका रहेको भरतपुर अस्पतालका ल्याब इन्चार्ज हरिबहादुर थापाले बताए । रासस