मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

आत्माको आवाज लेख्दा आमाको अनुहारले नछेकोस् -शिव प्रकाश

आत्माको आवाज लेख्दा आमाको अनुहारले नछेकोस् -शिव प्रकाश


धेरै सत्य उधिन्ने र थोरै कल्पनामा डुवेर लेख्ने लेखक हुन साहित्यकार शिव प्रकाश । उनका लेखनमा कटाक्षहरु हुन्छन् । तितासत्यहरु हुन्छन् । आठ महिना अघि प्रकाशित उनको “घागी” कथा सङ्ग्रहले धेरैको मन मस्तिष्क छोयो । यस अघिको कथा सङ्ग्रह “जमैली” मा भन्दा उनी अझ लेखनमा तिखारिएको उनको पछिल्लो कृति घागीले प्रमाणित गरेको छ । 
 
सुनेको अमेरिका र भोगेको अमेरिका आकाश जमिन झैँ फरक रहेको सप्रमाण यथार्थ लेखन अनि यस्तै विषयवस्तुलाई कथाका रूपमा पस्किन खप्पिस छन्, शिव प्रकाश ।  प्रवासी साहित्य फिलता हुन्छन् भन्ने भनाइलाई शिव प्रकाशका लेख तथा कथाहरुले गतिलो झापड हानेका छन् । उनी मूलधारमा उभिएर समसामयिक विषयमा पनि नियमित लेख्ने गर्छन् । उनी लामो समय देखि अमेरिकाको वोस्टन बस्दै आएका छन् ।
 
पढदै गरेको पुस्तक ?
अविनाश श्रेष्ठले सम्पादन गर्नु भएको नेपालीमा आधुनिक भारतीय नेपाली कथा । अङ्ग्रेजीमा जोसेफ क्याम्पवेल र विल मोयर्सको “द पावर अफ मिथ ।”
 
पढेको उत्कृष्ट पुस्तक ?
धेरै छन् । नामै किटेर भन्दा अलि न्यायपूर्ण नहोला । नेपाली मानसिकता संवेदनशील छ । अङ्ग्रेजीका केही पुस्तक पढेको छु र ती मध्ये हालै पढेको “लाइफ इज ह्वाट यु मेक इट” पनि सारै राम्रो लाग्यो । पिटर वफेट लेखक हैनन सङ्गीतकार हुन् । तर एउटा सङ्गीतकारले पनि कति राम्रो किताब लेख्न सक्दा रहेछन् भन्ने प्रश्नले थिचिरहेको छ ।
 
आख्यान कि गैर्आख्यान ?
“आघुनिक भारतीय नेपाली कथा” नामैले आख्यान हो । “लाइफ इज ह्वाट यु मेक इट” गैर् आख्यान हो ।
 
तपाईँलाई प्रभाव पार्ने पुस्तक ?
पढेका किताब सबैले केही न केही प्रभाव पार्छन नै । साहित्यमा मेटाफिक्सन शैली पनि प्रभावशाली लाग्छ । त्यसमा मनोविज्ञान, चिन्तन र तर्कहरू छन् भने मेरा लागी साहित्य पनि प्रभावशाली बन्छ । नत्र टाइमपास मात्र हुन्छ । नन फिक्सनका आफ्नै विशेषता छन् ।
 
पढन सिफारिस पुस्तक ?
“गीता” । धर्मका दृष्टिकोणले हैन तर्क र ज्ञानका दृष्टिकोणले ।
 
मनपर्ने लेखक र मनपर्ने कृति ?
यो प्रश्नमा मेरो जवाफ अलि भिन्न हुन सक्छ । कृति प्रति भए पनि लेखक प्रति सर्वकालीन समान मान्यता हुँदैन । कुनै लेखकले एउटा उम्दा किताब लेख्यो भन्दैमा उ मेरा लागी सर्वकालीन उम्दा लेखकमा पर्दैन । जसले जुन समयमा राम्रो लेख्छ, त्यो त्यही समयका लागी राम्रो लेखक हुन्छ । राम्रा थपिदै जान्छन ।
जहाँ सम्म मन पर्ने लेखकको कुरा छ मेहनेत गरेर लेख्न सबै मन पर्छन त्यसमाथि इमान्दार भएर लेख्न असाध्यै मन पर्छन ।
 
इमान्दार भएर लेख्ने भन्नुको मतलब ?
सुनेको, देखेको, जानेको, बुझेको र भोगेको लेख्नेलाई इमान्दार लेखक भनिन्छ । तर त्यसमाथि पनि मलागेको कुरा अलिकति फरक छ । आफूले लेख्ने चाहेको कुरा लेख्न सकियो कि सकिएन ? कुनै कारणले रोकियो कि रोकिएन ? प्रवृत्ति लेख्दा कुनै व्यक्तिको अनुहारले छेक्यो कि छेकेन ? छेक्यो र लेख्ने सकेन भने लेखनमा त्यो वेइमानी हुन्छ । त्यसले तमाम पाठक प्रति घात गर्छ । पाठक प्रति ठुलो बेइमानी हुन्छ ।
 
मेरा लागी इमान्दार लेखक त्यही हो, जसले लेख्न चाहेको कुरा लेख्छ । अन्तर आत्माको आवज लेख्दा आमाको अनुहारले पनि नछेकोस, अरूको त कुरै छाडौ । त्यही लेखकले मात्र पाठक प्रति न्याय गर्छ नत्र कोही रिसाउँला भनेर कसैलाई खुसी पार्न लेख्ने हो भने लेखनदास भए भई हाल्यो नि ।
 
अमेरिकामा मनपर्ने नेपाली लेखक ?
माथि भने जस्तै लेखनका दृष्टिकोणले जसले राम्रो लेख्छ त्यही मनपर्छ । सिनियर, जुनियर वा सिकारुलाई भिन्नाभिन्नै कित्तामा राखेर हेर्दिन । मनपर्नेको सूचीमा नाम तलमाथि भइरहन्छ । अहिलेका नयाँले झन् राम्रो लेख्छन, नयाँ शैली हुन्छ ।
 
किन पढनु हुन्छ ?
पढनु मेरा लागी टाइम पास गर्नु पनि हो । एउटा आर्टिकल लेख्न कहिलेकाही चारवटा किताब पढनु पर्छ । किन पढछु भनौ अव ? जवाफ तपाइ नै दिनुस ।
लेख्दा निधारवाट पसिना हैन, रगत चुहिन्छ तर त्यसको रंग पसिना कै हुन्छ । त्यसले लेखनालाई धेरैले हल्का रूपमा लिन्छन ।
 
किन लेख्नु हुन्छ ?
सकेसम्म आफूलाई खराब हुनवाट वचाउँन ।
 
कसरी ?
हामी प्रायः सबैले आर्दशका कुरा नै लेख्छौ । आफूले लेखेका आर्दश मध्ये २५ प्रतिशत मात्र सम्झिए र १० प्रतिशत मात्र पनि पालना गरे भने आफूलाई खराब हुनवाट जोगाउन सक्छु जस्तो लाग्छ । खराब हुनवाट जोगाइयो भने आफूलाई सरदर मान्छेमा उभ्याउन सकिन्छ ।
 
साहित्य किन पढने ?
सोर्स अफ एम्पेथि हो साहित्य । साहित्यले मान्छेलाई दया र करुणाशील बनाउँछ ।
 
पढनका लागी रोजाईको स्थान ?
निश्चित छैन जहाँ पुगिन्छ, जुन ठाउँमा समय पाइन्छ ।
 
केही दिन अघि फोटो विवादमा तानिनु भो नि के हो ?
विवाद त्यति वेला सिर्जना हुन्छ जब नैतिक तर्क शक्ति गुम्छ । त्यो शक्ति त्यति बेला गुम्छ जब मान्छेलाई इगोको ज्वालाले पोल्छ । त्यसपछि मान्छेले जुनसुकै कुरालाई निहुँ बनाउन सक्छ । त्यो कुनै इष्यु थिएन, विवाद गर्नु पर्ने । सामाजिक सञ्जालमा मलाई तथानाम लेखेर कसैले आफ्नो मनको पोट्रेट आफैले उतारेर दुनियाँलाई देखाउदा साच्चिकै हास्यास्पद लाग्यो । हाँसीहाँसी उडाइदिए सकियो । नसकिएको भए हाँसीहाँसी पराजित गर्ने प्रमाण र क्षमता म सँग अझै छ । तर वकवासका पछाडि हिडने फुर्सद छैन ।
 
प्रस्तोताः शरद पोखरेल/हिमालयखबर