विचार / ब्लग

एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ?

प्रकाशित |
यतिखेर सामाजीक सञ्जालहरु विशेषगरि फेसबुक र ट्विटरमा असाध्यै धेरै रोइलो अनि चित्कार भेटिन्छ । अनि गालीगलौज र टिकाटिप्पणी पनि असाध्यै धेरै छन् । एकजना पत्रकार असाध्यै राष्ट्रवादी थिए अरे । उनले नेपाल छाडेछन् । त्यसैको सेरोफेरोमा कसैले देशलाई गाली गरेर त कतिले ती पत्रकारलाई उडाएर सामाजीक सञ्जाल रंगाएका छन् ।
 
उनी पलायन हुँदा नेपालले ठूलै वस्तु गुमाएछ कि जस्तो लाग्यो । नेपालका ‘मैँ हुँ’ भन्नेदेखि लिएर वर्षौदेखि विदेशमा बस्नेले समेत एकजना व्यक्ति टिभीमा चिच्याउन छाडेर अमेरिका पसेको विषयलाई ठूलो हल्लाको विषय बनाएको देख्दा ताजुब लागेर आयो । म ती पत्रकारलाई व्यक्तिगत रुपमा चिन्दिन र चिन्न जरुरी पनि छैन । देशलाई रुवाएर आउने को रहेछन् ती पत्रकार भनेर जान्ने असाध्यै रहर जाग्यो । उनीसँग चिनजान भएका केहीलाई जिज्ञासा राख्न पुगेँ म । जुन उत्तर मैले उनका बारेमा पाएँ जति हल्ला भएको छ उनका बारेमा त्यो रुपमा होइन रहेछन् । 
 
उनले एउटा टिभीमा जागिर खाएका थिए । त्यसैबाट हुने कमाईले परिवार पाल्थे । टिभीमा अनुहार देखाएर चिच्याएको भरमा नत कोही राष्ट्रवादी बन्नसक्छ । नत सञ्चारमाध्यममा नआउने बाँकी अरु देशद्रोहीनै हुन् ।
 
उनी अमेरिका आए । बशः कुरा सकिएकै थियो । अमेरिका आउनेहरु कोही हल्लाखल्ला गरेर, माला लगाएर एअरपोर्टबाट विदाई हुन्छन् । कोही गुपचुप रुपमा आएर अमेरिकामा घण्टावारी काम गर्छन । सबैलाई अमेरिका आउने, बस्ने रहर हुन्छ । ती पत्रकार केही समय टिभीमा चिच्याउँदैमा उनलाई अमेरिकाको लोभ लालशा थिएन भनेर कोही माइकालालले भन्नसक्दैन । अमेरिका यस्तो मुलुक हो जहाँ आएर बस्नका लागि अर्थ सचिव जस्तो पद खुशीसाथ त्यागे नवराज भण्डारीले । निजामति, जंगी, नेपाल प्रहरीका माथिल्ला तहका हजारौं अधिकारीहरु अमेरिकासँग लोभिएर छिरेका छन् । अनि अमेरिकामा बस्नकै लागि हजारौं नेपालीले शरणार्थीको आवेदन दिएका छन् । 
 
कोही व्यक्ति अमेरिका छिर्दैमा नेपाल डुबिहाल्ने पनि होइन । त्यसमाथि एकजना नाथे पत्रकार त्यो पनि समयमा तलब नदिएर दर्जनौ पत्रकार र कर्मचारीलाई बिचल्लीमा पार्ने मिडियाको पत्रकार । उ अमेरिका छिर्दैमा नेपाललाई गंभिर असर पर्ने कुनै क्षेत्र देखिन मैले त । नेपालमा नौटंकी गर्नेहरु धेरै छन् । तिनै नौटंकी गर्नेहरुकै बोलवाला छ । त्यही नौटंकी गरेर राष्ट्रवादी देखाउन एउटा प्रयास ती पत्रकारले गरेका थिए । अनुहार देखाउने भाँडोमा काम गर्ने अनि चिच्याउन सक्ने स्वर भएका कारणले उनी चिनिए । अनि दुई चार जनाले चिनेका भरमा ठूलै सेलिब्रेटीले देश छाडेर हिँड्यो भनेझै भ्रम धेरैलाई परेको मात्र हो । 
 
ती पत्रकार नत मिडियाको ठूलै पदमा, आफु  भन्नुपर्दा लेखेको आधारमा नीति निर्माण तहमा प्रभाव पार्नसक्ने हैसियतका थिए । उनीभन्दा धेरै माथिल्लो स्तरका, उनीभन्दा धेरै लामो समय पत्रकारितामा लागेर थुप्रै भोटो फटाएका, समाचार/लेख लेखेकै भरमा नेपाल सरकारका नीतिमा परिवर्तन ल्याइदिनसक्ने (परिवर्तन गर्न सक्षम) थुप्रै पत्रकार अमेरिकामा छन् । नामै लिनुपर्दा कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायदेखि लिएर गोरखापत्रका प्रधानसम्पादक भइसकेका तारा बराल अमेरिकामै छन् । 
 
अनि नेपालको आर्थिक पत्रकारिताका ‘पिलर’ भन्दा पनि हुने विजय घिमिरेदेखि लिएर विष्णु शीतल, सेजनका अध्यक्ष भैसकेका नारायण सापकोटा समेत अमेरिकामै छन् । नेपाली र अंग्रेजी दुबै भाषामा दख्खल राख्ने राजेश मिश्रदेखि लिएर मैना धितालसम्म अमेरिकामै छन् । अनि नेपालको टेलिभिजन क्षेत्रमा कहिल्यै कसैले बिर्सन नसक्ने रमा सिंहसम्म हल्लाखल्ला नगरि अमेरिका आएर बसेकी छिन् ।
 
उनीहरु अमेरिका आउँदा कसैले हल्लाखल्ला गरेनन् । नत ठूलै पत्रकार अमेरिका भासियो, मुलुक तहसनहस हुनेभयो भनेर कसैले भने । तर एकजना पत्रकार अमेरिका आउँदा उसको चर्चा र फुर्तीफार्ती हेर्दा लाग्दैछ- अमेरिकाको सिएनएनले लगानी बिनानै ठूलै पत्रकार पाउने भएछ । मैले सिएनएनको नाम किन लिएको भने ती पत्रकार यतिखेर सिएएनको हेडक्वाटर भएको एटलान्टामा आइपुगेका छन् ।
 
कोही पत्रकार अमेरिका रहरले आएका छन् । कोही करले आएका छन् । कोही वाध्यताले आएका छन् । ती पत्रकारको पनि रहर र वाध्यता दुबै हुनुपर्छ । अमेरिकाको सुख सुविधा हेर्ने अनि प्रयोग गर्ने रहरले नेपालका सचिवलाई त छाडेन भने ६ महिनासम्म पनि तलब नदिने मिडियामा काम गर्ने ती पत्रकारलाई कसरी रहर नहोस् । पत्रिकाको बाइलाइनमा नाम हेरेका भरमा कोही पनि व्यापारीले पत्रकारलाई एकबोरा चामल दिँदैन । नत बिहान एक पोका दुध पाइन्छ टिभीमा अनुहार देखाएको भरमा । रेडियोमा स्वर सुनेका भरमा स्कूले छोराछोरीको फि मिनाहा गरिदिने होइन । ती कामका लागि त चाहियो पैसानै । पैसा आउनुपर्ने हो तलबबाट । तर नेपालका मिडिया न परे । समयमा तलब र सुविधा दिने मुस्किलले आधा दर्जन मिडिया छन् । बाँकी सबै मजदुर र पत्रकारमारा न थिए । 
 
पलायन भएका ती पत्रकार कार्यरत टिभी कुनै ठूलो लगानी अनि समयमा पारिश्रमिक दिने खालमा पर्दैनथ्यो । पैसाकै अभाव अनि सुरक्षित भविष्यको खोजीमा ती पनि यता छिरेका हुन् । 
 
मौका मिलेको खण्डमा नेपालमा ९९ प्रतिशत पत्रकार अमेरिका छिर्छन र यतै बस्छन् । यो पृष्ठभूमिमा ती पत्रकारले केही वर्ष अघि गगन थापा र गणेश गुरुङलाई टिभीमा चलाएको वहशः पनि यहाँ स्मरणिय छ । उनले त्यतिखेर भनेका थिए—नेपालको लागि अमेरिकामा बसेका नेपालीले कुनै योगदान गर्दैनन् र गर्न पनि सक्दैनन् । उनले त्यतिखेर बोलेका यो कुरारुपी थुकलाई उनी आफैं चाट्छन् या गल्ती महसुस गर्छन ? 
 
मैले नजिकबाट चिनेको एकजना दिदी हुनुहुन्छ । उहाँ र म कुनै समय काठमाडौंको घट्टेकुलोमा सँगै एउटै घरमा बस्थ्यौं भाडामा । त्यतिखेर उहाँहरुसँग दुई वर्षको सानो छोरा पनि थियो । उहाँका लोग्ने त्यतिखेर नेपालको एउटा राष्ट्रिय दैनिक पत्रिकामा काम गर्नुहुन्थ्यो । (पत्रिकाको नाम सम्झना त छ तर सार्वजनिक गर्न चाहन्न म ।) 
 
एक बिहान ती दिदी रुँदै मेरो कोठामा छिर्नुभयो । उहाँका आँखाबाट आँशु झरिरखेको थियो । ‘बहिनी तपाईसँग १० रुपैयाँ होला ? मलाई सापटी दिनुस् न प्लिज,’ उहाँले भन्नुभयो । मैले १० रुपैयाँ दिएँ । 
 
भएको के रहेछ भने उहाँका लोग्नेले तलब नपाएको चार महिना भैसकेछ । चार महिनासम्म आफन्तसँग सर सापटी गर्दै घरभाडा र अरु खर्च टार्दै आएका रहेछन् । ‘हिजो एकाउन्टेनले तलब दिन्छु भनेको थियो रे, विज्ञापनको भुक्तानी आएन भनेर तलब दिएनछ अफिसले बहिनी । एक पोका दुध किन्न १० रुपैयाँ पनि नभएर म तपाईलाई दुःख दिन आएकी,’ दिदीले पीडा सुनाउनुभयो । ‘यो पत्रकारको स्वास्नी भएर बाँच्नुभन्दा त मर्न काल पनि आएन बहिनी । यो सानो छोरो नभएको भए म आत्महत्या गरिसक्थेँ,’ दिदीको यो भनाईले मेरा आँखाबाट आँशु झरे । 
 
मैले दिदीका कुरा सुनेपछि १० रुपैयाँको नोट फिर्ता लिएर एकसयको नोट उनको हातमा राखिदिएँ ।  त्यसयता धेरै समाचार पढे मैले पत्रकारले तलब नपाएका । जबजब त्यस्ता समाचार पढ्थे मेरो आँखामा ती दिदीको अनुहार आइहाल्थ्यो । थाहा छैन ती दिदीको अवस्था के छ अहिले ? लाग्छ, अधिकांश पत्रकारका अवस्था यस्तै पो हो कि ? अनि यो पृष्ठभूमिमा पत्रकार अवसर पाउनासाथ विदेश पलायन नभएर के भोको पेटमा पटुका बाँधेर काम गरोस् त ? कमसेकम अमेरिका आइसकेपछि शारिरीक काम गरेर भएपनि सजिलैसँग परिवार पाल्न त सक्छन् तिनले ।  
 
म त भन्छु- सबै पत्रकारले डिभी भरुन् । तिनलाई डिभी परिदेओस् । कमसेकम गरिबीबाट मुक्ति त पाउँथे तिनले । तिनका पत्नीले तनाव त भोग्नुपर्ने थिएन । अनि अमेरिका आएर तिनले श्रम बुझ्ने अवसर पाउनेथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया