मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बिरामी गाउँगाउँमा, एम्बुलेन्स भने सहरमा लाइन

बिरामी गाउँगाउँमा, एम्बुलेन्स भने सहरमा लाइन


चितवन । पश्चिम चितवनस्थित नारायणी नगरपालिका शुक्रनगरका रञ्जित कुमालले भान्जीलाई सन्चो नभएपछि तत्काल भरतपुर ल्याउन गाउँका एम्बुलेन्स चालकलाई फोन लगाए । 
 
एम्बुलेन्स चालकले बिरामी लिएर काठमाडौं जाँदै गरेकाले तत्काल आउन नसक्ने जवाफ दिए । साधारण गाडीमा कुमालले भान्जीलाई जसोतसो भरतपुर अस्पतालसम्म ल्याए । तर अनौठो के देखियो भने काठमाडौं जाँदै छु भनेको एम्बुलेन्स त भरतपुर अस्पतालको मुलगेट बाहिर पार्किङ अवस्थामा पो भेटियो ।
 
कुमालले मात्र होइन, गाउँका बिरामीहरुले यतिबेला गाउँमा रहेका एम्बुलेन्सहरुको सुविधा पाउन सकेका छैनन् । गाउँगाउँमा विभिन्न संघसंस्थाले एम्बुलेन्स सुविधा त दिएको छ । तर, भनेको समयमा एम्बुलेन्स सुविधा पाइँदैन । गाउँमा रहेर सञ्चालनमा आउनुपर्ने धेरैजसो एम्बुलेन्सहरु सहरबजारका अस्पतालअगाडि लाइन लाएर बसेपछि गाउँमा एम्बुलेन्स पाउने कुरै भएन ।
 
‘गाउँमा कोही बिरामी भएमा एम्बुलेन्स पाउनु त महाप्रलय आउनु झै भएको छ । एम्बुलेन्सहरु सबै सहरको अस्पतालको गेटमा हुन्छन् । गाउँमा एम्बुलेन्स नै पाइँदैन’ भरतपुर अस्पतालमा भेटिएका बिरामीका आफन्तले भने ।
 
चितवनको ग्रामीण भेगमा रहेका एम्बुलेन्सहरु सहर पसेर बिरामी कुर्न थालेपछि गाउँका बिरामीहरुले एम्बुलेन्स सुविधा पाएका छैनन् । गाउँका एम्बुलेन्सहरु यतिबेला बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पताल लैजाने र निको भएका बिरामीलाई घरमा पु¥याउने काम गरेका छन् ।
 
भरतपुर अस्पताल र यहाँका दुई ठूला मेडिकल कलेजमा आजभोलि गाउँका एम्बुलेन्सहरु बिरामी कुरेर बसिरहेका देखिन्छ । जसले गर्दा सेवामुखीभन्दा पनि पैसामुखी भएको आरोप उनीहरुमाथि लाग्ने गरेको छ ।
 
‘बिरामी लिएर गाउँबाट अस्पतालसम्म आएका एम्बुलेन्सहरु दिनभर अस्पताल परिसरमै रहेको हुन्छ’ संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले भने, ‘गाउँका एम्बुलेन्सले गाउँलेलाई नै सेवा दिनुपर्छ भन्नेमा हामीमा दुईमत छैन ।’
 
कतिपय एम्बुलेन्स चालकले गाउँका बिरामीलाई नभई सहर केन्द्रित भएर सेवा दिएको सम्बन्धमा आफ्नो संगठनमा पनि गुनासो आएको बताउँदै अध्यक्ष लामिछानेले भने, ‘यस विषयमा सम्बन्धित चालकहरुलाई सचेत गराइएको छ ।’
 
बद्नामी कमाउँदै एम्बुलेन्स
पछिल्लो समय एम्बुलेन्स दुर्घटना बढी हुने गरेको छ । चालकको लापरबाही, तीव्र गति, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवनजस्ता कारणले एम्बुलेन्स सेवाले विश्वसनीयता गुम्दै गएको छ । असोज पहिलो हप्ता टिकौली जंगलमा एम्बुलेन्स दुर्घटना भएको छ ।
 
जुन दुर्घटनामा एक जना एम्बुलेन्सका रहेका बिरामीका आफन्तका मृत्यु भयो । ४ जना गम्भीर घाइते भए । प्रहरीले दुर्घटनामा एम्बुलेन्सको तीव्र गतिलाई दोष देखाएको छ । (पत्रकार दिपेन्द्र अधिकारीको सहयोगमा)