मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पताललाई इटालीबाट अत्यावश्यक उपकरण सहयोग

भरतपुर अस्पताललाई इटालीबाट अत्यावश्यक उपकरण सहयोग


चितवन ।  चितवनको पुरानो सरकारी भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ । 
 
इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । 
 
इटालीबाट आएका एएनटी प्रोजेक्टका म्यानेजर कार्लोससहितको टोलीले अस्पतालमै आएर मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो । 
 
करिब रु २१ लाख मूल्यबराबरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका रोटरीयन शिवराज उप्रेतीले जानकारी दिए । 
 
सो संस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेसिन दुई थान, वार्मर दुई थान, सक्सन पम्प दुई थान, जन्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरापी मेसिन चार थान, बेबिक्यारी चार थानलगायत अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । 
 
भरतपुर अस्पतालका मेसु डा मरासिनीले भरतपुर अस्पताल गरिब जनताको उपचार गर्ने थलो भएको भन्दै सेवा विस्तार र स्तरोन्नतिमा अस्पताल लागेको बताए । उनले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोग जारी राख्न अनुरोध पनि गरे । 
 
सामग्री हस्तान्तरण कार्यक्रममा दाता संस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफूहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि अस्पतालसँग सहकार्य गरिने बताए ।
 
भियतनामबाट ल्याइएको उपकरण तथा सामग्री चितवनसम्म ल्याउन लागेको करिब रु दुई लाख ढुवानी खर्च रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरले ब्यहोरेको थियो ।
 
हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोग जुटाउन आवश्यक पहल गर्ने बताए । 
 
भरतपुर अस्पतालमा अत्याधुनिक सुविधासहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा छ । उक्त टोलीले यस्तै उपकरण कान्ति अस्पताल र प्रसूति गृहलाई समेत उपलब्ध गराएको छ ।