टेक्सस (अमेरिका)– ड्यालसको अर्विङस्थित नेपाली मन्दिरमा सञ्चालन भइरहेको महापुराणको सातौं दिन शनिबारसम्म ५३ हजार डलर संकलन भएको छ ।
सप्ताहव्यापी महापुराणको क्रममा भक्तजनहरुले प्रदान गरेको भेटी, चन्दागरि उक्त रकम जम्मा भएको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका कोषाध्यक्ष छबी चापागाईले जानकारी दिए । महापुराण आज आइतबार समापन हुँदैछ ।
संकलित रकमबाट मन्दिरको भौतिक संरचना निर्माण खर्च गरिनेछ । आइतबारसम्म चन्दा रकम थप भएर ६० हजार डलर पुग्ने अनुमान गरिएको छ ।
आइतबार महापुराण समापनको दिन बिहान ९ बजे नियमित पूजा सुरुभएपछि १० बजे सामुहिक लघुरुद्री, १२ बजे होमयज्ञ, साँढे १ बजे विष्णु सहस्र (तील चढाउने) कार्यक्रम छ । आइतबार २ बजे यज्ञ समापन गरेर ३ बजे प्रसाद वितरणको कार्यक्रम रहेको छ ।
एक सातासम्मको महापुराणको क्रममा पण्डित मेघराज निरौला, डा. शेखर पण्डित र नेपालबाट आउनुभएको पुरुषोत्तम सापकोटाले पनि प्रवचन दिनुभएको थियो भने पण्डित कृष्णा भट्टराईले मुल ग्रह पढ्नुभएको थियो । महापुराणको पुरै समय हरि थापाले भजन टीमको नेतृत्व गर्नुभएको थियो ।
नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका अनुसार सप्ताहव्यापी महापुराणले गर्दा नेपालबाट आउनुभएका बा आमाहरुलाई समय कटाउन सहज हुनुका साथै एक आपसमा चिनजानको थलो समेत भएको छ ।
त्यस्तै नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेलका अनुसार संकलित रकम निर्णय अनुसार खर्च गरिनेछ । उहाँका अनुसार महापुराणमा पण्डितहरुको प्रवचनले गर्दा सातै दिनसम्म भक्तजनहरुको ठूलो भीड लागेको हो ।
केन्द्रका अध्यक्ष रमेश पोखरेलले यस्तो खालको सतानत धर्मको कार्यक्रममा नेपाली विद्यार्थीलाई समेत सहभागी गराउन सकेको भए अत्यन्तै राम्रो हुने विचार राख्नुभएको छ । यसले गर्दा ड्यालसमा नेपालीहरुको एकता गराउन ठूलो बल पुगेको समेत उहाँले बताउनुभयो ।
सुरुको दिनदेखि शनिबारसम्म झण्डै दुईहजार भक्तजनहरु मन्दिरमा महापुराण श्रवणको लागि आएको अनुमान गरिएको छ ।
प्रतिक्रिया