मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

म साहित्य क्षेत्रमा पलाएको टुसा हुँ : नायिका बिनीता बराल

म साहित्य क्षेत्रमा पलाएको टुसा हुँ : नायिका बिनीता बराल


चलचित्र ‘चपली हाइट’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका बिनीता बराल यतिबेला उपन्यास ‘जुइनो’बाट लेखन क्षेत्रमा प्रवेश गर्ने तरखर गर्दै छिन् । ‘चपली हाइट’बाट चर्चा कमाएकी नायिका बराल कृषिमा लागेपछि पनि उत्तिकै चर्चामा आइन् । २०७२ सालको सुरुवातमै हुने भनिएको ‘जुइनो’को विमोचन भूकम्पका कारण हुन सकेन । त्यसपछि अध्ययनका लागि बराल अमेरिकाको हरजिङ विश्वविद्यालय गइन् । २०१५ को डिसेम्बरमा पनि ‘जुइनो’ विमोचनको कुरा चले पनि नाकाबन्दीका कारण लगन जुर्न सकेन । लेखेको २ वर्षपछि फुर्सदमा बरालद्वारा लिखित पहिलो ‘जुइनो’ उपन्यास आगामी शनिबार विमोचन हुँदैछ । प्रस्तुत छ ‘जुइनो’को प्रचार प्रसारमा व्यस्त रहेकी नायिका विनीता बरालसँग हिमालयखबरले गरेको कुराकानी  ।
 
१. यतिबेला त नयाँ उपन्यास ‘जुइनो’को प्रचार प्रसारमा खुबै व्यस्त हुनुहुन्छ होला है ?
हो । व्यस्त नै छु ।
 
२. ‘जुइनो’को प्रचार-प्रसारको लागि केके गर्नुभयो ?
किताब प्रोमोसनको लागि सबैभन्दा सजिलो माध्यम भनेको सामाजिक सञ्जाल नै हो । त्यसमा नै बढि केन्द्रित भइरा’छु । त्यसबाहेक मिडियाहरुले पनि सपोर्ट गर्दिनुभा’छ ।
 
३. तपाईले यो ‘जुइनो’ उपन्यासचाहिँ आफ्नो पुस्तक लेख्ने प्यासनले लेख्नु भयो या बजारमा देखिएको किताब लेख्ने फेशनले लेख्नुभयो ?
तपाईहरुलाई थाहा छँदै छ, मैले कृषिमा दुई वर्ष जति खटेर काम गरेँ । कृषिमा लागेपछि चाहिँ मैले धेरै अनुभवहरु संगालेँ । त्यो अनुभवहरु लेख्ने क्रममा मैले उपन्यास लेखेको हुँ । मेरो पढ्ने प्यासन पहिलेदेखि नै थियो र मलाई लेख्न पनि एकदमै मन पर्छ । एउटा कलाकार भएपछि एउटा न एउटा सृजनशील काम गरिरहुँ जस्तो लाग्दो रहेछ । त्यै क्रममा मैले ‘जुइनो’ उपन्यास लेखेको हुँ ।
 
४. तपाई यसअघि नायिका हुनुहुन्थ्यो । नायिकाबाट एक्कासी लेखिका हुँदा तपाईका दर्शकहरुचाहिँ अब एक्कासी पाठक हुने भए है ?
(हाँसो) त्यो खासमा सुन्दा फरक सुनिए पनि अनुभव गर्ने कुरा पाठक र दर्शक कतै न कतै उस्तै हुन्छन् । हामीले पस्केको एउटा सृजनालाई उहाँहरुले भोग गर्ने छुट्टै तरिकामात्रै हो ।
 
५. तपाईले नायिका हुँदा कमाएको ख्याति कम भएर पुस्तक लेख्न थाल्नुभएको त हैन ?
त्यस्तो केही पनि होइन । अझै पनि नायिकाको ख्याति छँदै छ । मलाई अझैपनि नायिकाको रुपमा एकदम सम्मान गनुहुन्छ कलाकार भनेर । त्यो ख्यातिले बरु अझै राम्रो भएको जस्तो फिल हुन्छ मलाई त ।
 
६. त्यै पनि नायिकाको ख्याति छँदै छ, अब लेखिकाको ख्याति पनि थपौँ भनेर पो हो कि ?
अँ, त्यो पनि होला । दुइटै चिज मिलेपछि झन राम्रो भाको होकी ?
 
७. तपाईले अभिनय गरेको पहिलो चलचित्र ‘चपली हाइट’को अर्थ बुझ्न दर्शकले चलचित्र हेरिसकेपछि मात्र काठमाडौँको एउटा ठाउँ रहेछ भनेर बुझे । अब यो तपाईको पहिलो उपन्यास ‘जुइनो’को अर्थ थाहा पाउनचाहिँ पुस्तक नै पढनु पर्छ या शब्दकोशमा छ यसको अर्थ ?
‘जुइनो’को शब्दकोशमा भएको अर्थ त घाँस दाउरा बाँध्ने बाबियो परालबाट बनाइएको डोरी हो । तर किताबलाई किन जुइनो भनियो भनेर जान्नलाई चाहिँ पुरा किताब नै पढ्नु पर्छ ।
 
८. तपाईको पुस्तकको कभरमा एउटा युवतिले फुलको गुच्छाले आफ्नो अनुहार छोपेकी छन् । यस्तै केही पुतलीहरु पनि उडेको देखाइएको छ । पुस्तकको कभरमा भएको यो चित्र र पुस्तकभित्रको विषयवस्तुसँग के सम्बन्ध छ ?
‘जुइनो’ एउटा प्रेमसम्बन्धी किताब हो । एउटा प्रेममा रमाइरहेकी केटी देखाउन खोजिएको हो त्यसमा । त्यसरी नै कभर र विषयवस्तुको लिंक गरिएको छ । धेरै चिज पढेरमात्र भन्न सकिन्छ ।
 
९. अब एकैछिन चलचित्र क्षेत्रको कुरा गरौँ, सायद ‘चपली हाइट’ नामको चलचित्र नबनेको भए बिनिता बराल चाहिँ बिनिता बरालमा मात्रै सिमित हुन्थ्यो होला है ?
होइन, मैले अर्को हाइट खोजिहाल्थेँ नि । (हाँसो) हुने चिज त भइहाल्छ । मैले संषर्घ गरीरा’थेँ नायिका बन्नलाई । ‘चपली हाइट’ नभएपनि यस्तै मुभी अर्को रुप लिएर आउथ्यो होला मेरा जिवनमा । मैले राम्रै काम गर्थै होला । कोशिस सधै गरिरहेको नै छु । म भाग्यमा विश्वास गर्ने र मेहेनेत पनि गरिराख्ने मान्छे हो । त्यसैले ‘चपली हाइट’ नभएको भएपनि अर्को कुनै हाइट आउँथ्यो जिवनमा ।
 
१०. तर ‘चपली हाइट’ले जति हाइट नदिन पनि त सक्थ्यो नि, होइन र ?
त्यो भन्दा बढि हाइट पनि त पाउन सक्थेँ नि, होइन र ? अझै पनि पाउँदै छु वा पाउनेवाला छु । त्यसरी लिनु हुँदैन । जेजे आइराछ मैले त्यसमा राम्रै काम गर्ने कोशिस गरिराछु । म एकदमै खुसी छु मैले गरेका कामहरु प्रति, मेरो ममी बाबाले पनि गर्व महशुस गर्नुहुन्छ । त्यसैले म खुसी छु ।
 
११. ‘चपली हाइट’को चर्चा निकै राम्रो थियो । यसले बिनिता बराललाई पनि चिनायो । त्यसपछिका केही चलचित्रहरु पनि राम्रै चलेका थिए । केही चलचित्रपछि तपाई चलचित्र क्षेत्रबाट एक्कासी हराउनुभयो नि, किन ?
खास त्यस्तो पनि होइन तर मैले ब्रेक चाहिँ डेफिनेट्ली ले’को हो, चलचित्र क्षेत्रबाट । खासमा मेरो फार्ममा एकदम धेरै कामहरु हुने र फार्मलाई नै स्थापित गर्नको लागि केही नभएपनि एक वर्ष समय दिनुपर्ने भएकाले मैले एक वर्ष जति चलचित्रबाट ब्रेक ले’को हो । र त्यै क्रममा मैले कृषिमा एकदमै मेहेनेत गरेँ । यति गहिराइमा पुग्ने कोशिस गरेँ कि मैले कृषिमा छुटै ग्लामर देखेको छु । त्यो ग्लामर चाहिँ केहो भनेर मेरो किताबका पात्रहरले प्रेममार्फत पोख्ने छन् ।
 
१२. अब तपाईको चलचित्र यात्रा टुंगिएको हो अथवा चलचित्र र लेखनलाई सँगसँगै अगाडि लैजानुहुन्छ ?
म सँगसँगै अगाडि लैजान चाहन्छु । तर त्यो भन्दा अगाडि चाहिँ मेरो पढाइ सबभन्दा महत्वपूर्ण कुरा हो । मेरो अब दुई वर्ष बाँकि छ । म अहिले अमेरिकाको एटलान्टा सिटिमा पढि’राछु । त्यो सकाएपछि यसलाई निरन्तरता दिन्छु ।
 
१३. दुईवटा डुंगामा खुट्टा राखियो भने लडिन्छ भन्छन् नि । तपाईलाई त्यस्तो लाग्दैन ?
मैले दुइवटा डुंगामा खुट्टा राख्न लागेको होइन । दुईवटा डुंगालाई एउटै बनाएर अघि बढ्न लागेको हो । लड्दिन भन्नेमा विश्वस्त छु ।
 
१४. फेरी ‘जुइनो’ तर्फ नै फर्किउँ, यो ‘जुइनो’ लेखन र प्रकाशनको क्रममा प्रकाशक चाहिँ कतिको हावि भएको पाउनुभयो ?
खास त्यस्तै केही हावि भा’को जस्तो लाग्दैन मलाई त । प्रकाशकहरुले ‘जुइनो’ प्रकाशनमा एकदम सहज वातावरण सृजना गरिदिनुभा’छ । त्यो माथि, म विदेशमा भएको मान्छेलाई बोलाएर यति राम्रोसँग व्यवहार गरेर किताब बिमोचन हुँदैछ । म त एकदम खुसी छु ।
 
१५. तपाई विशुद्ध नयाँ क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ । कत्तिको गाह्रो महशुस गर्नभा’छ ?
मलाई चाहिँ खासमा उपन्यास लेख्दाको समयमा नै गाह्रो भा’को हो । प्राविधिक कुराहरुको धेरै ज्ञान नभएको कारणले चाहिँ अलिकति गाह्रो भयो । र प्रकाशनको समयमा अझ धेरै संघर्ष गर्नुप¥यो । प्रकाशनको क्रममा धेरै पटक पुनर्लेखन गर्नुप¥यो । त्यो राम्रोको लागि त हो तर अलिकति गाह्रो भयो त्यसमा ।
 
१६. एउटा राम्रो लेखक हुनको लागि एउटा राम्रो पाठक हुन पनि जरुरी हुन्छ ? तपाईले पछिल्लो समय कुनकुन किताव पढ्नु भयो ?
म त्यति राम्रो पाठक चाहिँ हो कि होइन थाहा छैन, तर म कोशिस चाहिँ गरिरहन्छु । म अमेरिका हुँदा नेपाली किताब पढ्न पाइन । अहिले ‘सल्लीपिर’ पढिभ्याएँ, ‘फिरफिरे’ सुरु गर्दैछु ।
 
१७. तपाईलाई मन पर्ने लेखक को हो ?
मलाई मन पर्ने लेखक धेरै हुनुहुन्छ । तर त्यसमा सबैभन्दा पहिला नयनराज पाण्डेको नाम अगाडि आउँछ । त्यसपछि कृष्ण धाराबासी, बुद्धिसागर, अमर न्यौपाने र सुबिन भट्टराई हुनुहुन्छ ।
 
१८. तपाईलाई मन पर्ने पुस्तक चाहिँ कुन हो ?
पुस्तक चाहिँ पछिल्लो समय पढेको ‘सल्लीपिर’ एकदमै मन प¥यो । पहिले पढेकोमा चाहिँ पारीजातको ‘शिरीषको फुल’ निकै मन परेको थियो । त्यसपछि ‘सेतो धर्ती’, ‘कर्नाली ब्लुज’, ‘उलार’, ‘लू’ धेरै छन् ।
 
१९. यो ‘जुइनो’ उपन्यासचाहिँ कति समयको प्रतिफल हो ?
करिव २ वर्षको ।
 
२०. उपन्यासको तयारीको लागि तपाईले कत्तिको अध्ययन गर्नुभयो ?
धेरै अध्ययन गर्नुप¥यो । किनभने एउटा समाजलाई चित्रण गर्नुपर्ने कुरा हुन्छ । समाज भित्र हुने हरेक पात्र र स्थानलाई व्याख्या गर्नुपर्ने हुन्छ । त्यसैले रिसर्चको क्रममा मदानपुर धेरै जानुपर्ने हुन्थ्यो । पात्रहरुको मनोदशा सम्हाल्नै गाह्रो हुन्छ । कहिले एकदम रोइन्छ, कहिले एकदम हाँसिन्छ । पात्रहरु जता जान्छन उता लान सक्नु प¥यो । त्यसको लागि अध्ययन निकै महत्वपुर्ण छ ।
 
२१. ‘जुइनो’को बिमोचन हुनु अगाडि नै चारै तर्फ जुन रुपमा चर्चा चुलिएको छ, त्यो रुपमा यसले पाठको अपेक्षाको परिपूर्ति गर्न सक्ला ?
पक्कै पनि सक्छ जस्तो लाग्छ मलाई चाहिँ । म आफैँले लेखेको उपन्यास भएको भएर म आफैँ त कन्फीडेन्ट भइहाल्छु नै । मेरो ‘जुइनो’ बलियो छ भन्नेमा म विश्वस्त छु । तर सबैको अपेक्षा परिपूर्ति गर्न पनि नसक्ला । कम अपेक्षा राख्नुभयो भने धेरै कुरा पाउन सक्नुहुन्छ । तर एक पटक पढ्नचाहिँ पर्छ ।
 
२२. ‘जुइनो’ लेख्नमा चाहिँ तपाईलाई कहाँबाट प्रेरणा मिल्यो ?
म सेल्फ मोटिभेटेड पर्सन हो । मैले सुरुमा त अनुभवहरु लेख्छु भनेर आफैँले नै सुरु गरेको हुँ सेल्फ मोटिभेट भएर । अनुभवले मात्रै प्रभावकारी नहोला भन्ने लाग्यो र एउटा उपन्यास नै किन नलेख्ने भनेर सोचेँ । त्यसपछि मैले अहिलेको पुस्ताका भाइ बहिनीहरुलाई बुझाउन उपन्यासमा प्रेमलाई माध्यम बनाएको छु ।
 
२३. तपाईले ‘जुइनो’ मा कृषि र प्रेमलाई कसरी बाँध्नुभा’छ ?
कृषिमा नआएको भए मैले उपन्यास लेख्ने जमर्को पनि गर्दिनथेँ होला जस्तो लाग्छ । गरेपनि अर्कै तरिकाले गर्थेँ । तर ‘जुइनो’ बन्दैनथ्यो । ‘जुइनो’ चाहिँ कृषिको पृष्ठभूमिमा लेखिएको प्रेमकथामा आधारित एउटा उपन्यास हो । ‘जुइनो’मा यि दुई विषय एकदम परिपुरक छन् । अरु थाहा पाउन किताब नै पढ्नु पर्छ ।
 
२४. अब लेखन क्षेत्रमा तपाईको योजना के छ ?
अहिले त म ‘जुइनो’मा नै केन्द्रित छु । मलाई यसको प्रतिकृया पनि लिनु छ । तर म पढ्न छोड्दिन, लेख्न छोड्दिन । म लेखिरहनेछु, कोशिस गरिरहनेछु । मैले अझै धेरै कुरा बुझ्न बाँकी नै छ । म भर्खर साहित्य क्षेत्रमा पलाएको टुसा न हुँ । त्यो टुसा धेरै ठूलो भएर बढ्न बाँकी नै छ । त्यसैले म पहिले धेरै ज्ञान लिने कोशिस गर्नेछु साहित्य क्षेत्रतिर । म लेखिरहनेछ, र मेरो किताब सधैँभरि पढ्न पाउनुहुनेछ । –हेम रोकाहाको सहयोगमा