मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पोखरामा ‘लुकामारी’ प्रिमियर, सौगात र कर्माको देखियो क्रेज

पोखरामा ‘लुकामारी’ प्रिमियर, सौगात र कर्माको देखियो क्रेज


अधिकांश नेपाली चलचित्रको प्रिमियर काठमाण्डौमा रेड कार्पेट ओच्छ्याएर गरिन्छ । रेड कार्पेट प्रिमियरमा नाम चलेका कलाकारको उपस्थिती बाक्लो हुन्छ । तर, मोफसलमा कमै मात्र चलचित्रले आफ्नो पहिलो शो गर्ने गरेका छन् ।
 
भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’को भने पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ । पोखराको सिने प्लेक्स हलमा आयोजना गरिएको भव्य प्रिमियरमा चलचित्रका कलाकारदेखि दर्शक पनि सहभागी भए ।
 
काठमाण्डौबाट गएका कलाकार, पत्रकारको टोली प्रिमियरमा सहभागी भए । यस्तै, पोखराका केहि कलाकार र पत्रकार पनि भव्य रेड कार्पेट शोमा उपस्थित थिए । सुरजमान सिंह भण्डारीको निर्माणमा तयार भएको यो चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । चलचित्र हेर्नका लागि दर्शकले भने टिकट काटेका थिए ।
 
सिने प्लेक्सका दुई हलमा भरिभराउ दर्शक, पत्रकार र कलाकारका विच चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, कर्मा, सुरविना कार्की, विक्रम सिंह, जेवीडीसी लगायत शोमा सहभागी भए । यस्तै, निर्माता सुरजमान सिंह भण्डारी, निर्देशक श्रीराम दाहाल पनि चलचित्रको पहिलो शोमा उपस्थित थिए । म्यूजिक भिडियो छायांकनका लागि पोखरा पुगेकी नायिका अनु शाह र मोडल निराजन प्रधान चलचित्र हेर्न पुगेका थिए । पोखराकी नायिका रीश्मा गुरुङ पनि चलचित्र हेर्न हलमा पुगिन् ।  
 
चलचित्र प्रदर्शन अगाडि आयोजित रेड कार्पेट प्रिमियरमा नायक सौगात मल्ल र कर्माप्रति दर्शकको क्रेज अत्याधिक देखियो । सौगात र कर्मासँग तस्बिर खिचाउन दर्शकले तछाडमछाड गरेका थिए । चलचित्रको पर्दामा सौगात आउँदा विशेषगरि यूवति दर्शकको हुटिङ चर्को थियो ।
 
क्राइम कमेडी यो चलचित्रले दर्शकलाई पहिलो हाफमा खुबै हसाँएको छ । दोश्रो हाफमा भने चलचित्रको कथावस्तुमा नयाँ मोड आएको पाइन्छ । पोखरामा चलचित्र हेरेका ५ सय बढी दर्शकले ‘लुकामारी’लाई खुबै रुचाएका छन् । नायक सौगात मल्ल, कर्मा, विक्रम सिंह लगायतका कलाकारको अभिनयलाई खुबै रुचाइएको छ । चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको नायक सौगात मल्लले बताए । निर्माता सुरजमान सिंह भण्डारी पनि आफ्नो पहिलो प्रयास सफल भएकोमा दंग देखिएका थिए ।