मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मातृभूमिका लागि हाम्रो ठूलो दायित्व छ

मातृभूमिका लागि हाम्रो ठूलो दायित्व छ


सबै नेपाली चाहेर पनि अमेरिका आउन सक्दैनन्। अनि आएकाहरुमध्य पनि सबैले प्रगति गर्न सक्दैनन्। त्यो पनि छोटै समयमा अमेरिकामा आर्थिक प्रगति गर्नसक्नेहरु त औंलामै अटाउने संख्यामा छन्। 
 
तिनै औंलामा अटाउनेमध्यमा पर्छिन यमुना भट्टराई। नेपाल टेलिकमको आकर्षक सुविधायुक्त जागिर छाडेर अमेरिका छिरेकी भट्टराईले सुरुका दिनमा कम्ति दुःख गरिनन्। 'हामी दुबै जना टेलिकमको जागिरमा थियौं। यहाँ त्यो अनुभवले काम हुने कुरै भएन। किन आइयो यस्तो दुःख गर्न भनेर हामी दुई जना कैयौं दिन सँगै रोयौं,' पुराना दिनहरु सम्भि्कँदै उनी भावुक भइन्। सन् १९९८ मा अमेरिकी राज्य युटाको साल्टलेक सिटी आएपछि लामो समयसम्म आम्दानी र खर्च बराबर भयो। राम्रो जागिर छाडेर बेकारमा आइयो भनेर धेरै वर्षसम्म उनी पछुताइन्। 
 
सन् २००७ मा साल्टलेक सिटीबाट डालस झरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। सुरुमा 'पार्टनरशीप' मा तीन वटा ग्याँस स्टेसन सञ्चालन गरेकी भट्टराईले त्यसमा घाटा खानुपर्‍यो। त्यसपछि 'पार्टनरशीप' लाई छाडेर एकल लगानीमा व्यबसाय सुरु गरिन्। त्यसपछि उनले नेपाली जनजिब्रोमा झुण्डिएको 'दिन दुईगुणा, रात चारगुणा' भनेझैंको गतिमा प्रगति गर्न थालिन्। 
 'लिकर स्टोर' यूलेस टेक्सस 
 
अहिले तीनवटा ग्याँस स्टेसन र सातवटा 'लिकर स्टोर' एकल लगानीमा सञ्चालन गरिरहेकी छिन्। उनका पति नन्दीकेशर भट्टराई नेपालमा रहदा देखि नै व्यवसायी रहेको र अमेरिका आएपछि पनि पती ले नै सुरु गरेको ब्याबशाय मा श्रीमानलाई सघाउदा सघाउदै व्यवसायबाट 'मोटीभेट' भएर अहिले उनि स्वयम् सम्पूर्ण व्यवसायको नेतृत्व गरिरहेकि छिन् । झण्डै ६० जनालाई रोजगारी दिएका छन् उनीहरुले। व्यबसायले उनीहरुलाई सुखसँग खानबस्न सक्ने अवस्था बनाएको छ। तर दुबैजना १८ घण्टासम्म आफैं खटिन्छन्। हरेक स्टोरमा दिनको एकपटक पुगेर स्थिती बुझ्छन्। 
 
दैनिक १८ घण्टासम्मको खटाइले उनलाई समाजमा कसैलाई केही पर्दा उनी दिल खोलेर सहयोग गर्नसक्ने आर्थिक हैसियतमा पुर्‍याएको छ। ड्यालसका धेरै नेपाली संघसंस्थाहरुमा उनी सकृय छिन्। इन्द्रेणी सांस्कृतिक संघदेखि नेपाली समाज टेक्ससका महत्वपूर्ण पदहरुमा रहेर उनले काम गरिसकेकी छिन्। 
 
प्रवासी नेपाली मञ्चमा पनि उनी आवद्ध छिन्। नेपालमा छँदा दूरसञ्चार कर्मचारी संघको केन्द्रिय सदस्य समेत रहेकी भट्टराई टेक्ससको नेपाली समुदायबीच सकृय महिलामध्य सबैभन्दा अग्रपङ्क्तीमा आउने नाम हो। 
 
उनै भट्टराई लगायत आठ जना नेपालीहरु मिलेर नेपाली उत्पादनको प्रवर्द्धन गर्न आउँदो सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म न्यूयोर्कमा मेला आयोजना गर्दैछन्। 'नेपाली भएपछि प्रवासमा बसेर पनि मातृभूमिको लागि केही न केही त गर्नैपर्छ। पैसामात्र पनि सबै चिज होइन, मातृभूमिप्रति पनि हाम्रो केही कर्तव्य हुनुपर्छ। त्यसलाई पुरा गर्न हामी सकृय छौं,' हिमालय खबरका लागि गत साता उनी भन्दैथिइन्। 
'लिकर स्टोर' अर्लिन्टन  टेक्सस  हाईवे ३० संगै 
 
गत साता अन्तरवार्ताका लागि हिमालय खबरको टीम उनको व्यबसायथलोमा पुग्दा त्यही मेलाको लागि ड्यालसबाट के गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउँदै थिइन्। अन्तरवार्ता सुरु गरिसकेपछि पनि बीचबीचमा उनको मोबाइलफोनमा घण्टी बजिरहन्थे। उनी भन्थिन्–'फलानोले पनि कन्फर्म गर्न फोन गर्दैछन्।' 
 
प्रस्तुत छ, न्यूयोर्कमा हुन लागेको नेपाली मेला, उनको व्यबसायको सफलताका शुत्रका बारेमा सफल व्यबसायी तथा समाजसेबी भट्टराईसँग हिमालय खबरका लागि शैलेश आचार्यले गर्नुभएको कुराकानीको प्रमुख अंशहरु। 
यमुना आफ्ना पति नन्दीकेशरका साथ
 
 
न्यूयोर्कमा हुन लागेको अन्तर्राष्ट्रिय व्यापार मेला कस्तो खालको कार्यक्रम हो ?
– यो मेला नेपाली वस्तुको प्रवर्द्धन गर्ने उद्वेश्यले हामी नेपालीहरुनै मिलेर स्थापना गरेको कम्पनी डब्ल्यूबीएमसी एलएलसीले गर्न लागेको हो। पहिले यो कम्पनी मार्फत नेपालबाट कलाकारहरु ल्याएर बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिन्थ्यो। अब नेपालीको आर्थिक उन्नती गर्न त्यो प्रयाप्त नहुने देखेर व्यापार मेला गर्ने गरि हामी अघि बढेका हौं। यो मेला चाँही संसारकै आर्थिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म हुँदैछ। त्यसमा अमेरिकाले दिएको भन्सार छुट सुविधाको अधिकतम उपयोग गरेर हामीले वस्तुहरु ल्याएर प्रदर्शनीमा राख्ने योजना बनाएका छौं। तर अरु नेपाली सामान पनि नराख्ने भन्ने चाँहि होइन।  यस अघि पनि हेर्नुस, धेरै नेपाली व्यबसायीहरुले व्यक्तिगत रुपमा होस् या यहाँका व्यापारीसँग मिलेर सामानहरु ल्याएर प्रदर्शनीमा राख्दै आउनु भएको छ। यस पटक भने यहाँ अमेरिकामा लामो समयदेखि कृयाशील नेपाली व्यबसायीहरुले नेपालकै लागि भनेर यस्तो मेला पहिलो पटक आयोजना गर्न लागिएको हो। 
यो मेलामा नेपालका आयात निर्यात व्यापारमा संलग्न व्यबसायीदेखि लिएर यही अमेरिकामा व्यबसायमा संलग्नहरु समेतले भाग लिन सक्नुहुनेछ।
 
 
कहाँ हुन्छ यो मेला ? 
– न्यूयोर्कमा यो मेला हुन्छ। त्यो ठाउँमा प्रदर्शनीहरु भइनै रहन्छ। हामीले भाडामा लिएर नेपाली सामानको प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागेका हौं। यो ठाउँ अमेरिकाभरिकै सबैभन्दा धेरै र ठूलो प्रदर्शनी हुने ठाउँमध्यमा पर्छ। त्यतिमात्र होइन यो प्रदर्शनीस्थल महंगोमध्यमा पनि पर्छ। तीनदिनसम्म मेला गर्नका लागि ९९ हजार डलर तिर्नुपर्छ।
 
के कस्ता सामान मेलामा राख्न पाइन्छ ?
– यो सामान राख्ने, यो नराख्ने भनेर अहिलेसम्म वर्गीकरण हामीले गरेका छैनौं। हाम्रो मुख्य योजना भनेको चाँहि अमेरिकी सरकारले भन्सार छुट दिएका ६२ वटा वस्तुलाई प्रवर्द्धन गर्ने हो। त्यस बाहेकपनि अमेरिकामा बजारको संभावना रहेका सबै प्रकार चिजहरु प्रदर्शनीमा रहेनछन्। 
 
के कस्ता तयारीहरु हुँदैछन् मेला सफल बनाउन ?
– अहिले हामीले अमेरिकादेखि लिएर नेपालमा समेत कार्यालय खोलेर काम तीब्रताका साथ अघि बढाइराखेका छौं। काठमाडौंमा पुतलीसडकमा हामीले कार्यालय राखेका छौं। कोमल वली र जितु नेपालले अभिनय गरेर नेपालमा दिनमै धेरैपटक विज्ञापनहरु बजिरहेका छन्। 
 
कति लगानी गर्दै हुनुहुन्छ यो मेलाको लागि ?
– हाम्रो योजना र उद्वेश्य यही एउटै मेलामात्र होइन। हामीले वर्ल्ड बिजनेस मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट कम्पनी स्थापना गर्दानै आठ जनाले जनही एक/एकलाख डलर राखेर सुरु गरेका छौं। अनि तीन दिने मेलाका लागि हलभाडा वापत ९९हजार तिर्नुपर्छ। तर, हामीले नाफा कमाउनका लागि मात्र भनेर यो मेला गरेका होइनौं। हामी अमेरिका आएर सबै जना स्थापित भएका छौं। मिलियन डलरको ब्यबसाय हामीले गरिराखेका छौं। अनि मातृभूमिप्रति हाम्रो दायित्व केही हुँदैन? अवश्य हुनुपर्छ, हामीले यही बसेर पनि केही गर्नुपर्छ भन्ने सोचेर यो कार्यक्रम गर्दैछौं।
 
अहिलेसम्मको प्रचारप्रसारको स्थिती त त्यति सबल देखिँदैन नि ?
– हामीले यहाँ अमेरिकाबाट प्रकाशित हुने पत्रपत्रिकादेखि लिएर अनलाइनहरुमा अनि नेपालबाट प्रकाशित/प्रशारण हुने सञ्चारमाध्यमहरुमा समाचार, सूचनाहरु प्रकाशित गरिरहेकै छौं। जहाँसम्म लाग्छ, हाम्रो लक्षित समूहसम्म हामी पुगिसकेका छौं। धेरैलाई जानकारी भैसकेको छ न्यूयोर्कमा नेपाली वस्तुलाई प्रवर्द्धन गर्न मेला हुँदैछ भनेर। त्यसकारण मलाई लाग्दैन सूचना र जानकारी पुगेको छैन भनेर। नेपालमा अमेरिकी राजदूतावासदेखि लिएर हामीले नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीलाई समेत भेटेर यो मेलाको आवश्यकता र औचित्यका बारेमा जानकारी गराइसकेका छौं। नेपालका सबै प्रमुख राजनीतिक दलहरु, नेपाली कांग्रेस, नेकपा माओवादीदेखि लिएर राप्रपासम्मका नेताहरुलाई हामीले भेटेर यो मेलाका बारेमा जानकारी गराइसकेका छौं। त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघसँग पनि हाम्रो बैठक भइसकेको छ। त्यसकारण धेरै निकायहरुमा हाम्रो यो मेलाका बारेमा सूचना पुगिसकेको छ। 
अर्को कुरा, जानकारी पुगेकै रहेनछ भनेपनि अब यो मेरो अन्तरवार्ताबाट पनि धेरै व्यबसायीहरुले जानकारी पाउनुहुनेछ नि। (लामो हाँसो….) 
 
यो मेलामा कसरी सहभागी हुने ?
– मेलामा सहभागी हुन चाहनेका लागि निकै सजिलो बाटो छ। हाम्रो अलग्गै वेवसाइट छ। http://www.wbmconsultants.com मा गएर सहभागी हुन चाहनेले विवरणहरु भर्नुपर्छ। तीन दिनको मेलाको सहभागिताको लागि दर्ता शुल्क, स्टल, समेतगरि आउने जाने एकजनाको इकोनमिक क्लासको हवाईभाडा, तीन दिनको होटल खर्च समेत गरि सातहजार डलर हामीले शुल्क तोकेका छौं। कोही सहभागी फर्म/कम्पनीको तर्फबाट दुईजना सहभागी हुनुपर्ने अवस्था आयो भने थप दुईहजार डलर हामीले शुल्क लिन्छौं। त्यो दुईहजार डलर भनेको इकोनमिक क्लासको आतेजाते हवाईभाडा र यहाँ बस्दा होटलको खाने बस्ने खर्चमात्र हो। 
 
यहाँ रहेका नेपाली व्यबसायीहरुले पनि मेलामा सहभागिता जनाउन सक्छन्। यहाँका व्यबसायीहरुको सहभागिता शुल्क भने केही कम राखिएको छ। किनकी यहीका नेपाली सहभागी हुँदा हवाईखर्च लागेन। 
मेलामा सहभागीताका लागि दर्ता खुलिसकेको छ। अहिलेसम्म यो मेलाका लागि एकसय २५ फर्महरुले सहभागिताको लागि दर्ता गरिसकेका छन्। सहभागिताका लागि दर्ता हुने कम्पनीका सहभागीमध्य २० प्रतिशत व्यक्तिहरुसँग पहिलेनै भिसा रहेछ। किनकी धेरै व्यबसायीहरु अमेरिकामा यसभन्दा पहिले भएका मेला प्रदर्शनीहरुमा पनि सहभागी भैसक्नुभएको रहेछ। 
 
मेला हुने हलको क्षमता कति छ ?
– पियर ९२ म्यानहटनमा रहेको हलको क्षमता तीनसय स्टलको छ। तर हामीले यस्तो खालको मेला पहिलो पटक आयोजना गर्न लागेको हुँदा तीनसयवटै स्टल पुरै बुक होला जस्तो लाग्दैन। 
 
मेलामा सहभागी हुनका लागि कति शुल्क तिर्नुपर्छ ?
– मेलामा सहभागी हुनका लागि नेपालबाट आवेदन दिने हो भने १५ हजार रुपैयाँ र यहाँबाट गर्दा एकसय ५० डलर तिर्नुपर्छ। भिसा लगाएर आउनुपर्ने सहभागीले कथंकदाचित भिसा नपाएको खण्डमा दर्ता शुल्क पनि हामी फिर्ता गरिदिन्छौं। किनकी जो मान्छे सहभागी हुनसक्दैन भने उसँग शुल्क लिनु न्यायोचित पनि त भएन। 
 
कत्तिको चासो व्यक्त भइरहेको छ नेपालबाट ?
– अतिनै चासो आइरहेको छ नेपालबाट। त्यही भएर हाम्रा साथीहरु कम्तिमा दुईसय स्टल पुर्‍याउने अभियान बनाएर लागिरहनुभएको छ। जुलाईको मध्यबाट हामी दर्ता प्रकृया बन्द गछौं। किनकी भिसा लगायत कागजातको प्रकृयाका लागि अलिकति मसय पनि त चाहिन्छ नि। 
 
तयारी कुन चरणमा पुग्यो ?
– यो मेला सफल बनाउन विशेष रुपमा न्यूयोर्कमा रहनुभएका हाम्रा बोर्ड अफ डाइरेक्टरहरु बढी खटिरहनुभएको छ। त्यही क्रममा हालैमात्र न्यूयोर्कका मेयरसँग पनि छलफल भएको थियो। न्यूयोर्कमा बढ्दो नेपालीको संख्या र यस्ता मेलाले मानिसको 'मुभमेन्ट' मा पनि सकारात्मक प्रभाव पार्ने भएकोले सरकारी निकायबाट निकै सकारात्मक सहयोग पाइरहेका छौं। हामी लगभग तयारीको चरणमा छौं। धेरै कुराहरु अन्तिममा पुगिसकेका छन्।
 
यो मेला सम्पन्न भएपछि डब्ल्यूबीएमसीको योजना चाँही के हुन्छ त ?
– पहिले त यो मेलानै ठूलो प्रतिष्ठाको विषय भइरहेको छ। हामीले यो मेला सम्पन्न गरिसकेपछि यस्तै खालका कार्यक्रमहरु यो कम्पनीमार्फत अमेरिकाभरि गर्ने योजनामा छौं। मान्छेहरु कुनै योजना बनाउँदा सुरुमा 'भैहाल्छ', 'हुन्छ', 'म पनि सहभागी हुन्छु' भन्छन्। तर अन्तिम अवस्थामा आएर 'म त सकिन' भन्दै वहाना देखाउँछन्। यो कम्पनी खडा गर्दा पनि यस्तै भएको थियो। सुरुमा टेक्ससबाट म यसमा थिइन। अन्तिममा म प्रवेश गरेको हुँ। तर, जे भएपनि हामी अमेरिकामा नेपालीको नमूना संस्था/कम्पनीका रुपमा यसलाई अघि बढाउने योजनामा हामी छौं। अमेरिकी सरकारले दिएको भन्सार छुट सुविधालाई अवसरका रुपमा ग्रहण गरेर अघि बढ्न हामी तयार भएर आएका छौं। यसबाट नेपालमा रहेका उत्पादकदेखि लिएर अमेरिकामा रहेका नेपालीलाई समेत अवसर प्राप्त हुनेछ। 
यो मेला सकिएपछि पनि हाम्रो संस्थाले संभावना भएका क्षेत्रहरुमा अमेरिकामा रहेको नेपालीहरुलाई सहयोग गर्दै अघि बढ्ने सोच बनाएको छ। 
भट्टराई परिवार