मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

शुक्रबारदेखि मानव अधिकार फिल्मको मेला

शुक्रबारदेखि मानव अधिकार फिल्मको मेला


आगामी शुक्रबारबाट नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण सुरु हुने भएको छ । तीन दिनसम्म ललितपुरमा चल्ने महोत्सवमा मानव अधिकारका मुद्दालाई केन्द्रमा राखी निर्माण गरिएका फिल्म देखाइनेछन् ।  फिल्ममार्फत मानव अधिकारका मुद्दाहरुबारे परिचय दिलाउन महोत्सव आयोजना गर्दै आएको आयोजक पाण्डव खत्रीले बुधबारको पत्रकार सम्मेलनमा बताए । मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहने महोत्सव ललितपुरको स्टाफ कलेजमा चल्नेछ ।
 
मानिसले सम्मानपूर्वक समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका फिल्महरु महोत्सवको प्राथमिकतामा परेको कार्यक्रममा जानकारी गराइयो । महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अस्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायत १३ देशका ३२ वटा देशका फिल्म सहभागी रहेका छन् । महोत्सवमा सहभागी मध्ये २५ फिल्म प्रतिस्पर्धामा सहभागी हुनेछन्, जसमा पाँच नेपाली फिल्म पनि परेका छन् । 
 
महोत्सवको ‘नेपाली कर्नर’ सेक्सन अन्तर्गत चारवटा र ‘अतितका आँखा’ सेक्सनमा मोहन मैनालीको ‘जोगिमाराका जिउँदाहरु’ तथा धु्रव बस्नेतको ‘रक्ताम्मे गह्राहरु’ हेर्न पाइनेछ । पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फिल्महरुको विशेष प्रदर्शनी हुनेछ ।
 
भर्खरै चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म’को अवार्ड जित्न सफल नेपाली फिल्म ‘छायाँ’को महोत्सवमै प्रिमियर गरिनेछ । बाल यौनदुराचारको विषय बोकेको उक्त फिल्म मनोज पण्डितले निर्देशन गरेका हुन् ।
 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्ने महोत्सवको सुरुवात अस्कर अवार्ड विजेता पाकिस्तानी डकुमेन्ट्री ‘अ गर्ल इन द रिभर’को प्रदर्शनीबाट गरिनेछ । महोत्सवमा इजरायली फिल्म निर्देशक डान वुल्म्यान, नेपाली निर्देशक छिरिङरितार शेर्पा र बंगलादेशी निर्देशक शहनबाज काकोली सम्मिलित जुरी (निर्णायक मण्डल)ले उत्कृष्ट फिल्म छनोट गर्नेछ ।
 
राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा हुन लागेको महोत्सवमा भारत, बंगलादेश र माल्दिभ्सका फिल्मकर्मीहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।