मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रिमियरमा बास्यो ‘कालो पोथी’

प्रिमियरमा बास्यो ‘कालो पोथी’


अहिलेसम्मकै महंगो बजेटमा निर्माण गरिएको नेपाली फिल्म ‘कालो पोथी’ बुधबार बेलुकी प्रिमियर गरिएको छ । फिल्मले तारिफ पाए पनि व्यवस्थापन भद्रगोल भएपछि पत्रकारले भने चित्त दुखाए । एसएमएसमा निम्तो पाएका पत्रकारले टिकट लिन निकै पापड बेल्न पर्यो तर मेगा बैंकका लागि भने बेग्लै स्थान व्यवस्था गरेर टिकट दिईएको थियो ।
 
७२ औं अन्तर्राष्ट्रिय भेनिस फिल्म फेस्टिभलमा फिल्मले ‘क्रिटिक्स विक’ तर्फ उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । त्यसयता फिल्मले अर्को महत्वपूर्ण अवार्ड जितेको छैन तर २५ भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाईसकेको छ । 
 
प्रिमियरमा फिल्म हेर्ने सबैले फिल्मलाई अग्र्यानिक रहेको प्रतिक्रिया दिए । त्यसमा पनि खासगरी फिल्ममा अभिनय गरेका दुई बाल कलाकार शुक्रराज रोकाया र खड्ग नेपालीको अभिनयले धेरैलाई प्रभावित तुल्याएको थियो । फिल्ममा विपिन कार्की, बेनिशा हमाल, जित बहादुर मल्ल, हन्सा खड्का आदिको पनि अभिनय रहेको छ । फिल्मले पोथी पालेर सपना पूरा गर्ने लक्ष्य राखेका दुई बालकको पोथी हराएपछि खोज्न जाने क्रममा साक्षात्कार हुने घटनालाई देखाईएको छ । 
 
फिल्म तीन करोडको लागतमा बनेको हो । जसमध्ये अधिकांश पैसा फिल्मले निर्माण अगावै विभिन्न देशबाट जितेको थियो ।फिल्मलाई मीनबहादुर भामले निर्देशन गरेका हुन् । फिल्म यही शुक्रबारबाट देशभर लाग्दैछ ।फोटो: बिनोद पोखेरल