मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा बिडिए र सानको संयुक्त सम्मेलनको तयारी पुरा

टेक्ससमा बिडिए र सानको संयुक्त सम्मेलनको तयारी पुरा


हिमालयखबर संबाददाता- 
ड्यालस (अमेरिका) I शनिबारदेखि हुन लागेको ब्लड डोनर्स अफ अमेरिका (बिडिए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज (सान) को संयुक्त सम्मेलनको तयारी पुरा भएको छ ।
 
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले विशेष कार्यक्रमबीच सम्मेलनको शनिबार बिहान १० बजे इर्विंगको  डिएफ्डब्ल्यू एअरपोर्ट होटलमा उद्घाटन गर्नुहुने भएको छ । उद्घाटनका लागि राजदूत कार्की शुक्रबारनै ड्यालस आउनु भएको  छ । उता बिशेष अतिथि 'इन्टरनेसनल फेडरेसन अफ ब्लड डोनर्स ओर्गनाइजेसन' का अध्यक्ष गियान फ़्र्याङ्को पनि बिहिबार ड्यालस आइपुगेका छन।  सन् २००९ मा स्थापना भएको बिडिए र सन् २०११ मा स्थापित सान दुबै स्वास्थ र परोपकारी क्षेत्रमा कृयाशील नेपाली संस्था हो । 
 
कार्यक्रमका कन्भेनर डा.नन्द रेग्मीका अनुसार अमेरिकाका २० राज्यबाट अतिथिहरु आइसकेका छन् । कार्यक्रममा टेक्सस राज्यको डिएफ्डब्ल्यू मेट्रोप्लेक्स र वरपर रहेका झन्डै १५ भन्दा बढी संस्थाहरुको सक्रिय सहभागीता रहने कार्यक्रमका सह-संयोजक तथा टेक्सास च्याप्टर का अध्यक्ष बाशु श्रेष्ठले बताउनुभयो । सम्मेलनलाई भव्यताकासाथ सम्पन्न गर्नका लागि बिभिन्न उप-समितिहरुको गठन गरिएको थियो। 
 
तीनदिने सम्मेलनको क्रममा बिभिन्न खेलकुद कार्यक्रमहरु सम्पन्न भइसकेका छन्। शनिबार बिहान १० बजे उद्घाटन गरि दिउसो भने कविता प्रतियोगिता, एनआर एन फोरम, पेशागत फोरम तथा साँझ मा सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको छ। त्यसै गरि आइतबार भने योगा, कम्तिमा २५० जना रक्तदाता ले रक्तदान गर्ने गरि वृहद रक्तदान, निशुल्क स्वास्थ शिविर, आँखा जाँचको कार्यक्रम रहेको छ । 
 
रक्तदान सम्बन्धी चेतना फैलाउदै नियमित रक्तदानका कार्यक्रम गर्दै आएको बिडिएले अमेरिकाका ५० वटै राज्यहरुमा संयोजक चयन गर्दै १५ राज्यमा कमिटी गठन गरी आफ्नो कार्य बिस्तार गरि सकेको छ । अमेरिकामा आएर नर्सिङ पेशा गर्नेहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज पनि नेपाली समुदायमा स्वास्थ शिविर र स्वास्थ सम्वन्धि सामुदायिक छलफल कार्यक्रम गर्दैआएको छ। 
 
दुइ संस्थाको संयुक्त सम्मेलनले ड्यालसमा नेपाली चहलपहल निकै बढाएको छ । विशेषगरि नेपाली संघसंस्थाका पदाधिकारीहरू सम्मेलन सफल बनाउन निकै खटेका छन् । ड्यालस नेपालीहरूको ठूलो संख्या भएको अमेरिकी शहर हो ।