मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नेपालमा एकलाख क्यान्सरका रोगी !

नेपालमा एकलाख क्यान्सरका रोगी !


चितवन,  २२  माघ । विश्वमा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखिएको क्यान्सर रोग नेपाल जस्तो विकासशील राष्ट्रमा पनि विकराल रुपमा देखिएको छ । 
 
नेपालमा क्यान्सरका बिरामीको आधिकारिक तथ्यांक नभए पनि करिब १ लाख बढी क्यान्सर बिरामीहरु नेपालमा रहेको अनुमान गरिएको छ । जसमा प्रत्येक वर्ष ३५ देखि ४० हजार नयाँ बिरामीहरु थपिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक सीबी पोखरेलले बताए ।
 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्यान्सर अस्पतालमा मात्रै २०१४ सम्ममा ९ हजार ३९१ पुरूष तथा १६ हजार ६३९ महिला गरी २६ हजार ३० जना नयाँ क्यान्सर बिरामी आएको तथ्यांक रहेको बताए । नेपालमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक मात्र राष्ट्रियस्तरको क्यान्सर अस्पताल हो । 
 
अस्पतालमा हाल केमोथेरापी र रेडियोथेरापी जस्ता सेवाहरु उपलब्ध रहेको उनले जानकारी दिए । अस्पतालमार्फत हाल ५१ जिल्लाहरुमा क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । आर्थिक अभावका कारण सीटीस्यानको सेवा करिव एक वर्षदेखि अवरुद्ध भएकोमा हाल चिनियाँ सरकारबाट २४ करोडको मेसिनहरु सहयोग भएपछि अझै १०-१५ वर्षसम्म सेवा सञ्चालन गर्न सकिने पोखरेलको भनाइ छ ।
 
क्यान्सर रोग महिला पुरुष दुबैमा देखिन सक्छ । पुरूषमा विशेष गरेर फोक्सो, पेट, स्वासनली, मुत्रथैली, मुख, फोक्सोलगायतका अंगहरुमा देखिने गरेको छ भने महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बासयको क्यान्सरलगायतका क्यान्सरहरु देखिने गरेको छ ।
 
नेपालमा पुरूषमा भन्दा महिलाहरुमा बढी क्यान्सर रोग देखिएको क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्गले बताए ।
 
विशेष गरेर ४५ देखि ४९ वर्ष उमेर समूहका महिला तथा ७० देखि ७४ वर्ष उमेर समूहका पुरूषमा बढी क्यान्सर रोग देखिएको उनको भनाइ छ ।
 
जनचेतनाको अभावका कारण क्यान्सर बिरामीहरु उपचारका लागि रोग फैलिइसकेको अवस्थामा अस्पताल आउने गरेको प्रधानाङ्ग बताउँछन् । जुन अवस्थामा लाखौँ खर्च गरेता पनि रोग निको हुने सम्भावना कम हुने उनको भनाइ छ ।
 
‘क्यान्सर रोगको छिटो निदान गरी उपचार सुरू गर्न सकेको खण्डमा रोग निको हुने हुन सक्छ’ उनले भने, ‘क्यान्सर रोगको न्यूनीकरणको लागि आम जनमानसमा सचेतना फैलाउन आवश्यक छ ।’ विशेष गरेर अस्वस्थ्यकर खाना, सुर्तीजन्य पदार्थहरुको प्रयोग तथा वातावरणीय प्रदुषणका कारण क्यान्सर रोग लाग्ने हुँदा यी कुराहरुबाट टाढा रहन सके क्यान्सर रोग न्यूनीकरण गर्न सकिने उनले बताए ।