मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेरो राष्ट्रबाद : कार्तिकको लगन र पन्चै बाजा: रमा सिंह

मेरो राष्ट्रबाद : कार्तिकको लगन र पन्चै बाजा: रमा सिंह


२०७२ साल आश्विन ३ गते पछि अब आएर राजैतिक वृतमा राष्ट्रबादी शब्दले निक्कै नै मान मर्दन पाउन थालेको छ । हिजोको कालखण्डमा राज्य सत्तामा रहेका वा उनका वरीपरीकालाइ बिशेष गरि आफुलाई प्रजातन्त्रका हिमायती भन्न रुचाउनेहरुले प्रयोग गर्ने सब्द राष्ट्रबाद त्यो पनि मण्डले रास्ट्रबाद कालान्तरमा आएर मण्डले , माले ,मसाले र मकाले ( काँग्रेस ) ले पनि गर्बका साथ प्रयोगमा ल्याउन थालेको देख्दा पंचायत कालका राष्ट्रबादी मण्डलेहरुको नाक घिरौला जस्तो भएको हुनु पर्छ भन्ने अनुमान जो कोहिले पनि गर्न सक्छ ।
 
काठमाण्डौ को टुडिखेलबाट शंखनाद भएको रास्ट्रबादको नारा   ( राष्ट्रबादी भन्दा पनि भारत बिरोधी ) त्रिभुबन विमानस्थल हुदै त कतै सामाजिक संजाल हुदै विश्व भरिका ठुला शहरहरु सम्म पुगे । नेपालि झण्डा , दौराको फेरो , र सारीको सप्को लतार्दै विश्व नै हाके झैँ  राक्ष्ट्रबादको हुङ्कार बोकी जिन्दाबाद र मुर्दाबाद पनि भयो । यो जिन्दाबाद र मुर्दाबादले देशमा मुर्दा शान्ति पनि ल्याएउन सकेन स्थाई शान्तिको परिकल्पना त लुम्बिनीबाट पथभ्रस्ट भएको परेवा झैँ भएको छ ।  
 
खै यो कस्तो राष्ट्रबाद …?
तिमीलाई दिल्ली चाहियो दिल्ली धाउने ,
तिमीलाई युरोप र अमेरिका चाहियो ओस्लो धाउने 
तर राष्ट्रसंघ भित्र पस्दा पनि बोलि फुट्न नसक्ने ।  
के यहि हो हाम्रो राष्ट्रबाद …?
 
२०४५ साल साल पछि राष्ट्रबादको कुरा उठाउदा मण्डले भइने डरले प्रजातन्त्रको खोल ओढेर गैर राष्ट्रबादी काम गर्दा पनि राष्ट्रबादी भानिन्थियो । अहिले हामी तेसैको परिणाम भोग्दै छौ ।
 
पंचायत कालमा सबै नेपाली पंच र सबै पन्च नेपाली भने झैँ २०४६ साल पछि काँग्रेस सरकारमा आयो सबै नेपाली काँग्रेस ,सबै काँग्रेस नेपाली अथवा बामपन्थी सरकारमा आयो सबै नेपाली बामपन्थी , सबै बामपन्थी नेपाली बन्ने परिपाटी बस्नु र तेस्पछिका घटनाक्रम राजनैतिक त्रास र आश मै बितेको सन्दर्भ पल्टाउने हो भने सम्पन्न राष्ट्र मंगल ग्रहमा मानब बस्ति बसाल्न उद्धत हुदै गरेको बेला हामी भने भोकलाई भोजन , निन्द्रालाई ओच्छ्यान जुटाउन लाग्नु पर्ने बाध्यतामा छौ ।
 
पंचायत ढाल्नु अघि पनि भारतले १६ महिना नाकाबन्दी लगाएकै हो तर त्यो बेला अहिलेको जस्तो छ पनि र छैन पनि भने जस्तो कालाबजारी थिएन । पेट्रोल छैनको साइन बोर्ड मुनी ७०० रुपैयाको लिटरमा बेच्ने ब्रम्हज्ञान पनि थिएन। विश्व न्युक्लियर उत्पादित बिजुली बाट संसार हाक्दै छ ,जलश्रोतको धनी हामी  दाउरे र गुइठे युगबाट उम्कन सकेका छैनौ । यस्तै गुइठे समस्या भित्रको रास्ट्रबादमा जकडिएका हामीमा देश बनाउने राष्ट्रबादको बिजारोपण कसले गरिदेला ? 
 
२६ वर्ष अगाडिको नाकाबन्दी पछि लगतै भारतकै सहयोगमा आएको प्रजातन्त्रमा १२ वर्ष पछि फेरी खोला फर्कन सक्छ भनेर किन सोचिएन  ? १२ हैन २४ वर्ष पछि फर्केको खोलामा किन बेलैमा बाध बाध्न सकिएन  जनताका यी प्रश्न अनुत्तरित नै छन् । गुञ्जयमान छ त केवल खोक्रो राष्ट्रबाद र राष्ट्रबादी नारा । न यो राष्ट्रबादको परिभाषाले पेटमा माड लाग्छ ,न यो राष्ट्रबादको बर्कोले नाङ्गो आङ्गको लाजनै ढाकछ । 
 
अघोसित नाकाबन्दीले ल्याएको राष्ट्रबाद , सत्ता पुजाको लागी गर्जेको राष्ट्रबाद अनि लेनदेनको हिसाब किताबमा जोड घटाउको मोल मोलाइमा सधै धटाउमा परेको हाम्रो राष्ट्रबादले साच्ची नै राष्ट्रबासीको सेवामा मन्त्रमुग्ध भएर लिन हुन कहिले पाउछ । म बाहेक सबै खराब भनेर हेर्न र देख्न थाल्ने हाम्रो राष्ट्रबादी ज्ञानको परिभाषा शायद विश्वकै शब्दकोसमा नभेटिन पनि सक्छ । आफु खुट्टा टेक्ने कोशिश नगर्ने ,अरुको बैशाखी टेकेर बोलाउने राष्ट्रबादी ज्ञानलाई तपाइले जे भने पनि म भने शब्दकोशमा भेटिएको " उप बुज्रुक " शब्द प्रयोग गर्न रुचाउछु ।
 
बिदेशी सडकमा दौरा र झण्डा बोकेको हाम्रो राष्ट्रबाद,भारतको खैनी र पान परागमा चपाइने हाम्रो राष्ट्रबाद, बनारसी सारी र अनारकली लेहेंगामा झुन्डिएको हाम्रो  राष्ट्रबाद, कोठे संस्थाका ओठे भाषणमा रमाएको हाम्रो राष्ट्रबादले जब सम्म फाटेको हाम्रो मनको कुना कुनामा आसन ग्रहण गर्दैन , जब सम्म चुलो र चौकाको समस्या समाधान गर्न सक्दैन तब सम्म भावनात्मक रुपमा मनको भूगोल र तनको भूगोललाइ जोड्न नसक्ने हाम्रो राष्ट्रियता बोकेको राष्ट्रबाद को कुरा कार्तिकको लगन र पन्चै मात्र हुनेछ ।  
 
तेसैले नेपाली राष्ट्रबाद तिमीलाई सलाम छ नेपाली भएर पनि नेपालको लागि सोच्न नसकेकोमा ।  तिमीलाई सलाम छ सगरमाथाको उचाइ बोकेर पनि आफ्नै इमान र इज्ज्तको उचाइ थाम्न नसकेकोमा। तिमीलाई सलाम छ आफ्नै आगनमा लंगुर्बुर्जा खेल्न छोडेर , दिल्ली तिर सतरंजकाे चालबाजी गर्न दौडेकोमा ।
तिमीलाई सलाम छ…….