मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा भारतीय नाकावन्दीको बिशाल बिरोध भेलामा सहभागी बनौ

अमेरिकामा भारतीय नाकावन्दीको बिशाल बिरोध भेलामा सहभागी बनौ


हिमालय खबर संबाददाता I अमेरिका I
 
करीव दुइ महिना देखि भारतले नेपाल माथि लगाएको अघोषित नाकावन्दी हाल सम्म पनि कायमै छ । जसका कारण नेपालमा मानविय संकट आइपर्ने कुरा राष्ट्रसंघ समेत जनाइसकेको छ । उता नेपालमा अत्यावश्यक औषधि, खाद्यान्न लगायत अन्य सामानहरुको अभाव दिनानुदिन वढदै गएको छ । हुनत अन्तराष्ट्रिय रुपमा नाकावन्दीको विरोध वढदै गएको पनि छ । अन्तराष्ट्रिय कानुन, सन्धि एवं सम्झौता विपरित भएको यस नाकावन्दीको विरोधमा विदेशमा रहेका नेपालीहरु संगठित रुपमा एक भई अघि वढिरहेका छन । हालै एन आर एन अमेरिकाले राष्ट्रसंघ अगाडि विरोध प्रर्दशन गरेको छ भने उता अमेरिकाको राजधानी वासिङट्न डि.सी मा नाकाबन्दीको विरोधमा यही आउदो नोभेम्वर २२, २०१५ आईतबार बिहान १० बजे देखि सुरु हुने विशाल जन प्रर्दशन हुने भएको छ ।  यिनै विषयमा सम्वन्धित रहेर यस हिमालय खवर डटकमका प्रतिनिधि शरद पोखरेलले विभिन्न सरोकारवाला व्यक्तिहरु संग नाकावन्दी र विरोध प्रर्दशनका वारेमा लिएको प्रतिक्रियाहरु यहाँ प्रस्तुत गरिन्छ :
 
केशव पौडेल (अध्यक्ष, एन आर एन अमेरिका)
भारतले नेपाल माथि लगाइ रहेको नाकावन्दीवाट नेपाली सर्वसाधरणमा पर्न गएको पिर मर्कामा हामी अछुतो भएर वस्न सक्दैनौ । यसैले विगत दिनहरुवाट नै हामिले यसको विरोध गर्दै आएका छौ । यस सम्वन्धमा गत नोभेम्वर १७ मा हामीले राष्ट्रसंघमा ज्ञापन पत्र पनि वुझाइसकेका छौ । यसै विच नोवेम्बेर २२,आईतबार हुन लागेको डि.सि. विरोधमा पनि एन आर एन अमेरिकाको पूर्ण सर्मथन सहित हाम्रो सहभागिता रहन्छ । म सवै तप्काका साथिहरुलाई यो वा त्यो नभनि सहभागी भई हाम्रा दाजुभाई माथि परेको अन्यायको विरुद्धमा एक हुन आग्रह गर्दछु ।
 
 
खगेन्द्र जि.सीं. (एन आर एन अमेरिका प्रमुख पूर्व अध्यक्ष तथा आईसीसी सदस्य)
यो अमानविय नाकावन्दी हो र हामी सवैले यसको सक्दो विरोध गरौ । यस वाहेक तपाई मार्फत केही कुराहरु राख्न चाहन्छु । पहिलो, नाकावन्दी जतिसुकै अन्तराष्ट्रियकरण भयो भने पनि आजका दिन सम्म पनि आधिकारीक रुपमा नेपाल सरकारले यो मुद्धालाई अन्तराष्ट्रियकरण गरेको छैन । संयुक्त राष्ट्र संघमा हाल सम्म पनि नेपाल सरकारले आधिकारीक रुपमा यो समस्याको समाधानको लागी निवदेन दिएको छैन । तपाईहरुलाई थाहा होला या नहोला राष्ट्रसंघवाट जति पनि नेपालको मानविय संकटको लागी हाल तत्परता देखाइएको छ त्यो स्वयं राष्ट्रसंघको तत्परता हो । यसमा नेपाल सरकारको कुनै पनि संलग्नता छैन । दोस्रो, अमेरिका लगायत अन्य कैयौ विकसित मुलुकहरुको कानुनमै छ यदि मानिसको खाना लगायत जिउने अधिकारमा कसैले राजतिनीका नाममा वन्ध गर्छ वा सुरक्षा फौजमाथि प्रहार गर्छ भने ति आतंककारी हुन । यस अवस्थामा हाल तराइका केही दलहरुले जुन अवस्था पूरै नेपालमाथि सृजना गरेका छन ति दल वा ति दलका मतियारहरुलाई नेपाल सरकारले आतंकारी घोषणा गर्न पर्छ ताकि त्यो अवस्थामा भारतले उनीहरुको सहयोग लिन  गारो  होस । नेपाल सरकारले यस विषयमा गभ्मिर हुन ढिला भैरक्यो । यस अवस्थामा डि.सी. मा हुन गएको कार्यक्रमको सर्मथन गर्नु हाम्रो नैतिकता हो र सहभागी हुनु हाम्रो कर्तव्य ।
 
आनन्द विस्ट (अध्यक्ष, जन सम्पर्क समिति अमेरिका  )
यो नाकावन्दी कुनै पनि आधारमा सहि छैन र सरासर मानवता माथिको प्रहार हो । नेपालका औषधि लगायत अत्यावश्यक वस्तुहरुको अभावमा मानिसहरुको ज्यान जाने अवस्था भैसकेको छ । प्रवासमा हामी मुकदर्शक भएर यो अवस्था हेर्न सक्दैनौ । अर्को नेपाल रहेन हामी नेपाली रहने हो यस अवस्थामा हामीले हाम्रो तर्फवाट हाम्रो मातृभूमिको स्वाभिमानको रक्षाका लागी वलिदान दिन तयार हुन जरुरी छ । यसै सेरोफेरोलाई मध्यनजर गरि हुन लागेको यो डि.सी. विरोध कार्यक्रममा यो वा त्यो हैन पहिला हामी सवै नेपाली हौ भन्ने भावना लिई सहभागी हुन पर्छ  र सरोकारवालालाई झक्झकाउन पर्छ भन्ने मान्यता म लगाएत मेरो साथिहरुको छ । जसलाई अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुले साथ दिनेछन र दिनु पनि पर्छ भन्ने मेरो मान्यता छ ।
 
संजय थापा (अध्यक्ष, प्रवासी नेपाली मंच अमेरिका)
नेपालमा भारतीय नाकावन्दीका कारण मानविय संकट गहिरिएर जाने निश्चित छ । यो संकट लम्वेमा नेपालको आन्तरिक स्थिती अझ अराजक हुन छ । यस अवस्थामा हामी प्रवासमा रहेका नेपालीहरु टुलुटुलु देशको समस्या हेरी वस्नु अर्को अमानविय कार्य हुन जान्छ । यसैले हामी सवै मिलि यो कार्यक्रम मार्फत सम्वन्धित सरोकारवालालाई झकझकाउनु आजको आवश्यकता हो र म सवै साथिहरुलाई यसै मार्फत पुन आव्हान गर्न चाहन्छु कि “अमानविय नाकावन्दीको खुलेर विरोध गरौ ।”
 
 
गौरी जोशी ( सल्लाहकार,एन आर एन अमेरिका तथा नेपाली समाज टेक्सास पूर्व अध्यक्ष )
यो मूलत नेपालको समस्या हो र नेपालीहरुले नै यो समस्याको समाधान निकाल्न पर्छ । आफ्नै देशको समस्या समाधान गर्नका लागी विदेशी भूमिमा टेकेर ढुङ्गा हान्ने प्रवृत्तिलाई हामीले सर्मथन गर्न सक्दैनौ । म त भन्छु यो समस्यालाई विदेशमा वस्ने नेपालीहरुले दहे रुपमा उठाउँन ढिला भैसक्यो यसैले यसका लागी तपाई हामी सवै अव यस विषयमा चिन्तित हुनै पर्छ । यसै सेरोफेरोमा हुन गैरहेको डि.सी. विरोध भेलामा म सम्पूर्ण राष्ट्र प्रेमी नेपाली दाजु भाई दिदी वहिनीहरुको सहभागिताको आवश्यकता छ । 
 
 
गौतम दाहाल (अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ)
भारतीय अघोषित नाकावन्दीको विरोध गर्ने कुरामा कसैलाई दुइमत छैन । नेपाल अमेरिका पत्रकार संघले अघि नै यस कार्यको विरोध गरी आफ्नो वेभ पेज कालो वनाएको छ । अघोषित नाकावन्दी नाकावन्दी अझ लम्वेमा नेपालमा मानविय संकट अझ गहिरीने निश्चित प्राय छ । यस अवस्थामा हामी विदेशमा वसेका नेपालीहरु खाली खेलको तमासे मात्र हुन सक्दैनौ । हामी अमेरिका रहेका नेपालीहरु नेपालमा भने जस्तै गाउँ गाउँ वाट र शहर शहर वाट उठि यसको विरोध गर्छौ । हामी सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदायको चाहना वमोजिम नेपालमा परेको यो पिर मर्का हटाउनको लागी अमेरिकामा दिन रात पहल गर्छौ । यसैको स्वरुप नै हो आगामि नोभेम्वर २२ तारिख हुन लागेको डि.सी. भेला । जसको म नेपाल अमेरिका पत्रकार संघको तर्फवाट पूर्ण सर्मथन गर्दै सवै पत्रकार साथिहरुको सहभागिताका लागी दहे आव्हान गर्छु ।
 
 
भारतीय अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकामा रहेका  विभिन्न नेपाली सङ्घ-संस्थाहरूको संयुक्त आयोजनामा अमेरिकाको  राजधानी वासिङटन डिसीमा हुनगैरहेको “विशाल रयाली तथा विरोध कार्यक्रम”मा सहभागी बनौ 
 
मिति ::  २२ नोभेम्बेर २०१५ ,आइतबार
समय : बिहान १०:०० बजे – अपरान्ह ३:०० बजे सम्म
स्थान : लाफायत पार्क (ह्वाईट हाउस अगाडि) , वासिङटन डिसी