मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

चाडपर्वमा परदेश: विष्णु पौडेल

चाडपर्वमा परदेश: विष्णु पौडेल


हिजो आज सामाजिक सञ्जाल विजयादशमीको शुभकामनाका शब्दले भरिएका छन् । विभिन्न अनलाईनदेखि पत्रिका, रेडियो तथा टेलिभिजनहरुमा यसैले प्रथामिकता पाएको छ ।
 
सबैको प्रमुख समाचारमा यही देखिन्छ । समाचार हेर्दा लाग्छ नेपालीहरुका लागि योभन्दा ठूलो खुशी र हर्षको क्षण अरु छैन । लाग्छ, सबै नेपालीहरु रमाएका छन्, नाचेका छन्, गायका छन्, रमेका छन्, झुमेका छन् । नहोस पनि कसरी सत्यको विजयको रुपमा मनाइने यो पर्व हिन्दुहरुको सबैभन्दा ठूलो चाड हो ।
 
घरभन्दा टाढा हुनेहरु घर फर्किएका छन् । घर फर्किन पाउँदाको खुशी युद्ध जितेभन्दा कम छैन होला । अघिपछि घरमा बाआमा बिरामी भएर सिकिस्त हुँदा समेत आफूलाई शहरीया ठानेर, घरको बेवास्ता गर्नेहरु पनि घर पुगे होलान् । वर्षौँदेखि टाढिएका सम्बन्ध गाँसिदै होलान्, भाँचिएका मन जोडिँदै होलान् । र त घर पुग्न पाउँदा आफूलाई भाग्यमानी ठानेका होलान् ।
 
घर पुगेकाले गफ लगाउने होलान् । यो वर्षको दसैँ सबैभन्दा रमाईलो भो । तास खेलेर यति जितेँ, फलानाले यति दक्षिणा दियो, फलानो त गाउँकै कञ्जुस रैछ सबैभन्दा कम दक्षिणा दियो  । सराय नाच हेर्न जाँदा आँखा जुध्यो, मोरी साह्रै राम्री रैछे, कस्की छोरी होली ? फेसबुकमा खोज्नसम्म खोजेँ ।  भेटाउनै सकिनँ ।  यति खोज्या भए त अप्सनल म्याथको प्रुफ पनि उती बेलै मिल्थ्यो होला ।
 
पीडा सबैका आआफ्ना छन् । कतिपयको फेसबुकमा ऊ नभेटिएर होला, कतिपयको सराय नाचमा उसलाई नदेखेर होला, कतिपयको दक्षिणा हराएर होला । कस्लाई के कस्लाई के पीडा सबैका । दसैँमा घर हुनेहरुका त यति पीडा भए घरभन्दा टाढा हुनेको कति पीडा होला । कल्पना गरौँ ?
 
घरभन्दा टाढा हुनेको पीडा बेग्लै छ । हुन त त्यो पीडा बाँडेर आखिर हुने त केही होइन तर पीडा बाँड्नु सान्दर्भिक लाग्यो । घरपरिवार बिनाको पहिलो चाडपर्व पीडादायी महसुस हुँदो रहेछ । कहिल्लै घर नछोडेको मान्छे सात समुन्द्र पारीको विरानो परदेशमा हुँदा साह्रै मन दुख्दो रहेछ । सबैभन्दा बढी घरपरिवारको सम्झना चाडपर्वको बेला आउँदो रहेछ ।
 
त्यही पनि नेपालमा दिन हुँदा यता अमेरिकामा रात हुने उता रात हुँदा यता दिन हुने यसले झन जटिल बनाउँदो रैछ । न तिज, न दसैँ, न त तिहार नै विदेशको जीवन । चाहे साउदी कतार होस् चाहे अमेरिका, जापान, कोरिया । परदेशीहरुको यो एउटै पीडा हो ।
 
सायद यही पीडालाई बुझेका होलान जीवन शर्माले………..
 
दिनरात सम्झना छ, घरगाउँको मलाई
 
सधैभरी वाँच्नुपर्यो, यो हृदय जलाई
 
आ मुटु मिचि बस्दै छु यहाँ, हास्ने खेल्ने कलिलो बैँसैमा
 
यसपाली त यस्तै भो आमा, अर्को साल आउने छु दशैँमा……
 
कतिबेला त एकमनले सोच्छ, यो सबै छोडेर भोली नै नेपाल फर्किउ, सबैजनासँग बसेर रमाईलो गरौं, नाँचौं । आखिर सबै नाचेकै छन् । रमाएकै छन् । म मात्र किन मन जलाएर बस्ने ? अहँ ! तर यो चाहनालाई बुवाको अर्तीले उठ्नै नसक्ने गरी थिँच्छ, छोरो भएर हिम्मत र धैर्य गर्न सकेन भने त्यो मान्छेको छोरो होइन पिॅडालुको शरह हो ।
 
त्यो चाहनालाई यही एउटै वाक्यले हावासम्म नछिर्ने गरी टालिदिन्छ । कस्को बाआमाले नै आफ्नो छोराका कुभलो सोच्छन् र ? परीक्षाहलमा कहिल्यै नपढेको प्रश्नको उत्तर लेख्दा पनि यति त गाह्रो हुन्नथ्यो तर यो मन बुझाउन त्यति गाह्रो हुने । तर बुझाउनै पर्ने ।
 
अघिल्ला वर्षका दिनहरु सम्झिंदै अर्को वर्षको अर्को वर्षको कल्पनामा……………..
 
चर्खे पिंङ घुम्दै होला देउरालीको माथी
 
टिका थाप्न आए होलान सबै संगीसाथी
 
लाए होलान्, सबैले आज टिका माथी जमरा केशैमा
 
यसपाली त यस्तै भो आमा
 
अर्को साल आउने छु दसैँमा…………….
 
हुन त विदेशमा पनि चाडपर्व नमनाउने होइन् । नेपालीहरुको बाहुल्य भएका धेरैजसो ठाउँमा नेपाली मन्दिरहरु छन् । घरपरिवारबाट टाढा हुँदाको पीडा मेटाउने प्रयास धेरैले मन्दिर गएर साथी भाइ भेला भएर गर्छन् । तर यसले पनि त्यो पीडालाई वीसको उन्नाईस बनाउँदैन ।
 
आफ्नै गाडीमा हिडेपनि, चाहेजति पैसा कमाएपनि, भएभरको सुखसुविधा पाएपनि त्यो त्यो खुशी पाईंदैन । हरेक परिस्थिति आफू अनुकुल त हुँदैन यो धुव्र सत्य कुरा हो । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउन सक्नुमा नै सफलता लुकेको हुन्छ ।  यही कुरालाई मनन गरी अगाडी बढ्ने प्रण गरौं ।
 
अर्थशास्त्रको मान्यता जस्तै गरी एउटा पक्षलाई यथावत राखी अन्य पक्षलाई हेर्ने हो भने अहिलेको दसैँ नेपालीहरुको लागि अत्यन्तै हर्षउल्लासपूर्ण छ । किनकि लामो संघर्षपछि नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ । संविधानको स्वाद दसैँमा मिसाएर मनाउँदा बेग्लै आनन्द हुन्छ होला ।
 
अन्त्यमा, विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना सहित सम्पूर्णमा विजयादशमीको हार्दिक शुभकामना