मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

चुम्बनको असरदेखि पिसाबको समयसम्म ! कस कसले पाए नोबेल पुरस्कार ?

चुम्बनको असरदेखि पिसाबको समयसम्म ! कस कसले पाए नोबेल पुरस्कार ?


कडा तरिकाले चुम्बन गर्दाका असरहरु, ‘हँ ?’ भन्ने प्रश्नवाचक शव्दको विश्वव्यापी प्रयोग, अनि मौरीले चिल्दा गुप्तांगमा सबैभन्दा बढि दुख्ने तथ्य । यी विषयहरु कुनै निवन्धका शीर्षक होइनन्, यो वर्ष नोबेल पुरस्कार पाएका अनुसन्धानका विषय हुन् ।
 
होइन, हल्लै नगरी कसरी यो वर्षको नोबेल पुरस्कार वितरण गरिएछ ? अनि उल्लेखित अनुसन्धानले कुन कुन विधामा नोबेल पुरस्कार पाए ? भनेर अचम्म मान्नुहोला । तर यो पुरस्कार त्यो विश्वचर्चित नोबेल पुरस्कार चाहीँ होइन है । नोबेल पुरस्कारकै सहपाठी हो, जसलाई इग नोबेल पुरस्कार भनिन्छ । अझ बुझ्ने गरी भनौँ खित्का छुटाउने नोबेल पुरस्कार ।
 
विश्वमा अनुसन्धानका काम निरन्तर भैरहेका छन् । कतिपय अनुसन्धानहरु सुन्दा नै हाँसो लाग्ने तथा बेतुकका लाग्ने भएपनि ती निकै महत्वपुर्ण र वैज्ञानिक हुन्छन् । त्यसैले ठूलो महत्व तथा वैज्ञानिक आधार भएका तर सुन्दा हाँसो उठ्ने र हावादारी लाग्ने उत्कृष्ट अनुसन्धानहरुलाई छानेर हरेक वर्ष हँसाउने नोबेल पुरस्कार अर्थात् इग नोबेल पुरस्कार दिइन्छ । र यो वर्ष विभिन्न १० विधामा यो पुरस्कार घोषणा गरिएको छ ।
अमेरिकाको एनल्स अफ इम्प्रोबेल रिसर्च नामक संस्थाले यो पुरस्कार दिने गर्दछ, वर्षेनी । १० वटा विधा मध्ये एउटा अनुसन्धान समूहले कुल तीनवटा विधामा पुरस्कार पायो । उक्त वैज्ञानिक दलले तीनवटै निकै रोचक अनुसन्धान गरेको थियो । ती थिए : हरेक स्तनधारी जिव चाहे त्यसको जिउको आकार जत्रो होस् त्यसलाई पिसाब फेर्न औषतमा २१ सेकेण्ड लाग्छ, एउटा विशेष रसायन प्रयोग गरेर उमालेको अण्डालाई पुनः पूरानै अवस्थामा फर्काउन सकिन्छ । आफ्नो तेश्रो अनुसन्धानमा उनीहरुले १७ औा सताब्दीका एक उत्तर अफ्रिकी शासकले कसरी जम्मा ३० वर्षमा ८ सय ८८ जना छोराछोरी जन्माउन सके भन्ने कुरालाई गणितीय रुपमा प्रमाणित गरे ।
 
नोबेल पुरस्कार पाउने अर्को अनुसन्धान झनै रोचक थियो, जहाँ अनुसन्धानकर्ताहरुले चल्लाको पुच्छरमा गह्रौँ लठ्ठी अठ्याएर डाइनोसर कसरी हिँड्थ्यो भन्ने कुरा प्रमाणित गरे ।
 
त्यस्तै एकजना अनुसन्धानकर्ताले मौरीले जिउको कुन भागमा चिल्दा सबैभन्दा बढि दुख्न भन्ने कुरा पत्ता लगाए । त्यसक्रममा उनले मौरीलाई आफ्नो जिउका विभिन्न २५ ठाउँमा पटक पटक चिल्न लगाए र मौरीले लिंगमा चिल्दा सबैभन्दा धेरै पीडा हुने तथ्य प्रमाणित गरिदिए ।
 
अमेरिकको हार्वार्ड विश्वविद्यालयमा भएको विशेष समारोहमा अघिल्लो वर्षका वास्तविक नोबेल पुरस्कार विजेताहरुले हँसाउने नोबेल पुरस्कार जित्नेहरुलाई पुरस्कार वितरण गरे ।
 
यो वर्षको चिकित्सा तर्फको हँसाउने नोबेल पुरस्कार चुम्बनका विषयमा अनुसन्धान गर्ने शोधकर्ताहरुले प्राप्त गरे । उनीहरुले कडा चुम्बनले गर्ने जैविक असरका विषयमा अनुसन्धान गरेका थिए । शोधकर्ताहरुका अनुसार कडा चुम्बनले छालाको एलर्जी घटाउँछ ।
 
उता साहित्य तर्फको हँसाउने नोबेल पुरस्कार पाउने शोधकर्ताको अनुसन्धानको निष्कर्ष थियो की ‘हँ ?’ भन्ने शव्द हरेक भाषामा हुन्छ ।
 
यो पल्टको हँसाउने नोबेल पुरस्कार थाइल्याण्डको बैंककस्थित महानगरिय प्रहरीले पनि प्राप्त गर्यो । घुस नखाने पुलिस कर्मचारीलाई बढि तलब दिने महानगरीय प्रहरी कार्यालयको नियमलाई उत्कृष्ठ ठहराउँदै नोबेल पुरस्कार प्रदान गरिएको हो । कसकसले के के मा पाए ? हँसाउने नोबेल पुरस्कार ? – एजेन्सी