मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टीकापुर घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण

टीकापुर घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलालीको टीकापुरमा यही सोमबार घटेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
सो कार्यालयका प्रवक्ता एवम् सहसचिव उत्तरकुमार खत्रीले एक विज्ञप्ति जारी गरी प्रादेशिक सीमाङ्कनको विषयलाई लिएर देशका विभिन्न भाग खासगरी तराई–मधेसमा भएका आन्दोलन अराजक र हिंसात्मक हुँदा जनताको जीउधनमा क्षति पुग्न गई सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पुग्न गएको तथ्यलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभएको छ । 
 
विज्ञप्तिमा यस घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी घटनाको सत्यतथ्य विवरण पेस गर्न गृह मन्त्रालयबाट एक छानबिन समिति गठन गरिएको जनाइएको छ । 
 
विज्ञप्तिमा भनिएको छ, “केही उत्तेजित अराजक समूहको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानसमेत सात एवम् एक नाबालकको निधन भएकामा दुःख प्रकट गर्दै नेपाल सरकार मृतआत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति सरकार हार्दिक समवेदना प्रकट गर्दछ ।”
 
साथै सरकारले महिला, मधेसी, दलित, आदिवासी, थारु, जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायसहित संविधानमा आफ्नो हकहित संरक्षणका लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी भई आफ्नो मागलाई प्रजातान्त्रिक मूल्य÷मान्यताअनुरुप शान्तिपूर्ण तरिकाबाट राख्न र वर्षौदेखि मिलेर बसेको समाजमा जातीय र सामाजिक सद्भाव खलल नहुने गरी संयमता अपनाउन पनि अपिल गरेको छ । रासस