मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालगन्जमा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र कायमै, आन्दोलनकारीसँग भद्र सहमति

नेपालगन्जमा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र कायमै, आन्दोलनकारीसँग भद्र सहमति


नेपालगन्ज । संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि  यहाँ लगाइँदै आइएको निषेधाज्ञा  हटाइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोलीको पहलमा आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पसल, यातायातका साधन सञ्चालनमा सहजता अपनाइने, बन्दका क्रममा कसैमाथि आक्रमण नगर्ने, जुलुस, सभा शान्तिपूर्ण रुपमा गर्ने, घरेलु हतियार प्रयोग नगर्ने र सोको अग्रिम जानकारी स्थानीय प्रशासन कार्यालयमा गराउने सहमति भएको छ ।

आयोगका सदस्य सुदीप पाठक र प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकको अगुवाईमा भएको छलफलमा स्थानीय प्रशासनले पनि सहजता अपनाउने, अनावश्यक बल प्रयोग नगर्ने तथा निषेधाज्ञा र निषेधित क्षेत्रलाई पनि खुकुलो बनाउँदै जाने सहमति भएको छ ।

मानवअधिकारवादी संस्थाका पदाधिकारी, पत्रकार, प्रहरीको सहभागितामा भएको छलफलमा सङ्घर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रलगायत सदस्यहरुको सहभागिता थियो ।

“छलफलमा भएको सहमतिका आधारमा सङ्घर्ष समितिले आज राति गर्ने निर्णय हामी भोलि ८ बजे पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गर्छौ” –मोर्चाका प्रवक्ता मिश्रले राससलाई भन्नुभयो ।

स्थानीय प्रशासन र आन्दोलनकारी पक्षबीच भएको  भद्र सहमतिको खबर तत्कालै स्थानीय रेडियो एफएमबाट सार्वजनिक भएपछि यहाँका नागरिक हर्षित भएका छन् । सो सहमतिपछि यहाँका पसलहरु पनि हिजोको तुलनामा धेरै खुलेका र केही निजी यातायातका साधन पनि सञ्चालन भएको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी लेखकले भन्नुभयो – “स्थानीय प्रशासनले पनि सहमतिअनुसार सुरक्षा व्यवस्थालाई सहज बनाउँदै जान्छ । सङ्घर्ष समितिको निर्णय सार्वजनिक भएपछि निषेधित क्षेत्र हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय लिने काम हुन्छ ।” रासस