मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धनगढीमा निषेधाज्ञा, टीकापुरमा सुनसान

धनगढीमा निषेधाज्ञा, टीकापुरमा सुनसान


धनगढी । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
 
निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्नेलाई गोलीसमेत हान्ने अधिकार दिएको स्थानीय प्रशासनले जनाएको छ । टीकापुरमा भएको घटनापछि हिजो दिउँसोबाट सो नगर क्षेत्रमा पनि जारी भएको निषेधाज्ञा आदेश यथावत् छ ।
 
जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकमा भएको सहमति बमोजिम शान्ति सुरक्षाको स्थिति थप बिग्रन नदिन सदरमुकाम धनगढीमा पनि निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।
 
टीकापुरमा भएको घटनापछि टीकापुर नगर क्षेत्रका साथै आसपासका मुनुवा, जोशीपुर, नारायणपुर, पथलैया, दुर्गौली, धनसिंहपुर, थापापुर, सानिक भजनी र खैलाड तथा बौनिया गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । यी क्षेत्रमा सोमबार साँझदेखि नै सेना परिचालन गरिएको छ । 
 
घटनापछि टीकापुर सुनसान
 
कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि स्थानीयवासीमा सन्त्रास फैलिएको छ । 
 
कसैले कल्पना नगरेको घटना भएपछि स्थानीयवासीमा कतै पुनः त्यस्तैखालको घटना दोहोरिने हो कि भन्ने त्रास देखिएको स्थानीयवासी गीता जोशीले बताउनुभयो ।
 
बिहानैदेखि बजार सुनसान छ । सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । जताततै प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।
 
स्थानीय प्रशासनले स्थिति थप बिग्रन नदिन टीकापुर र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै व्यापक रुपमा प्रहरी र सेना परिचालन गरेको छ । टीकापुर नगरपालिका साथै भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
 
सोमबारको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ दिउँसोको समयमा समेत निषेधाज्ञा लगाइएको छ । विगत केही दिनदेखि त्यहाँ रातिको समयमा निषेधाज्ञा लगाइएको थियो । यस्तै टीकापुर नगर क्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको थियो ।
 
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार दिउँसोको घटनापछि साँझबाट स्थिति नियन्त्रणमा लिई सामान्य अवस्थामा आइसकेको बताउनुभयो । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरक्षाको थप रणनीति बनाउन अहिले जिल्ला सुरक्षा समितिको बैठक डाकिएको उहाँले बताउनुभयो ।
 
घटनामा परी निधन भएका प्रहरीहरुको शव सम्बन्धित परिवारको जिम्मा लगाउन आवश्यक तयारी गरिएको छ । प्रहरीको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । घटनामा परी घाइते भएका प्रहरीहरुको स्थानीय टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 
 
घटनामा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २१ प्रहरी घाइते भएका थिए । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ । दुई प्रहरीको अवस्था बढी गम्भीर रहेको छ । रासस