मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

चितवनका फ्यानहरुसँग लभ परेको छ : सलोन बस्नेत

चितवनका फ्यानहरुसँग लभ परेको छ : सलोन बस्नेत


सलोन बस्नेत, भुवन केसीको चलचित्र नेपाली बाबुमा बाल कलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका हुन् । चर्चित निर्देशक/निर्माता शोभित बस्नेतका छोरा सलोनले बालकलाकारका रुपमा मात्रै चारदर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । उनी शिव रेग्मी निर्देशित हामी तीन भाइपश्चात् बालकलाकारका रुपमा देखिन छाडे । केही समय अभिनयबाट टाढिँदै अध्ययनमा समय दिएका उनी ‘होस्टेल’ चलचित्रबाट अभिनेताका रुपमा डेब्बु गरेका हुन् । होस्टेलको व्यावसायिक सफलतासँगै आफ्नो स्थान सुरक्षित गरेका उनले लक्ष्मण सुवेदीको ‘एउटा साथी’ र गोविन्द शाहीको ‘आभाष’बाटसमेत राम्रो ‘फिडब्याक’ पाए । अहिले उनकै बुबा शोभितको पछिल्लो चलचित्र ‘टिचर’को प्रवद्र्धनका लागि केही सातादेखि उनी चितवनमा छन् । उनी अभिनित पछिल्लो चलचित्र लभ सब पनि यही भदौ २५ गतेदेखि रिलिज हुँदैछ । अहिले लभ सबको प्रवद्र्धनमा जुट्दै गर्दा भेटिएका सलोनसँग हिमालय खबरले गरेको कुराकानी :
 
१) केही दिनयता चितवन सलोनमय बनिरहेको छ । यसको राज के होला ? 
–पहिलो त चलचित्रको प्रवद्र्धन र फ्यानहरुसँग भेटघाट नै हो । अहिले चितवनमा फ्यानहरुसँग लभ परिरहेको छ । दैनिक भेटघाट, उहाँहरुको सल्लाह, सुझाव र पारिवारिक रुपमा आत्मीयता साँटासाट गरेर केही सातादेखि चितवनमै छु । हाम्रो आफ्नै चलचित्र ‘टिचर’को प्रवद्र्धनका लागि बुबालाई पनि सघाइरहेको छु । 
 
२) यसबाहेक पनि केहीमा व्यस्त हुनुहुन्छ कि ? 
–मैले अभिनय गरेको पछिल्लो चलचित्र ‘ लभ सब’ पनि यही भदौ २५ गतेदेखि देशभर रिलिज हुँदैछ । लबसबको प्रवद्र्धनमा व्यस्त छु । अझै केही दिन चितवनमै रहने कार्यक्रम छ । 
 
३) तपाईं अब परिपक्क भइसक्नु भएको हो ? 
–मलाई परिपक्क भएको छु जस्तो लाग्दैन । अझै मैले धेरै कुरा सिक्नु छ । जान्नु छ र आफ्नो क्यारिअरलाई अगाडि बढाउनु छ । बालकलाकारबाट अभिनेता भएको हिसाबले केही अनुभव भने बटुल्न पाएको छु । 
 
४) उमेरले त कलिलै देखिनु हुन्छ । कति वसन्तमा हुनुहुन्छ ? 
–कलिलै छु । भर्खर २२ को भएँ । 
 
५) बच्चैदेखि अभिनयमा लाग्नुभयो । बुबा निर्देशक भएरै हो कि ? 
–त्यो त अवश्य हो । परिवारमा जस्तो संस्कार लिएर हुर्कियो त्यस्तै हुने हो । कलाकारको सन्तान प्रायः कलाकार नै हुन्छन् । पारिवारिक वातावरण, आफ्नो रुची, स्वभावमा धेरै कुरा भरपर्छ । आफूसँग पनि क्षमता हुनुपर्छ । जुन क्षेत्रमा पनि त्यस्तै हो । जुन विषयमा डुबेर लागिन्छ, त्यसमा अवश्य सफलता हासिल हुन्छ । अभिनयमा मेरो लगाव, मिहिनत, पारिवारिक सहयोग सबै कुराले यहाँसम्म आइपुगेको हो । 
 
६) होस्टेल र आभाषजस्ता सफल चलचित्रमा काम गरिसक्नु भयो । लभ सबको प्रवद्र्धनमा हुनुहुन्छ । लभ सब किन हेरिदिनु पर्ने दर्शकले ? 
–आफ्नो कथा दर्शकले खोज्नुहुन्छ । दर्शकमा राम्रो÷नराम्रो निर्णय गर्न सक्नुहुन्छ । लभ सब विशुद्ध मनोरञ्जनात्मक र फ्यानहरुलाई नै लक्षित गरेर निर्माण गरिएको चलचित्र हो । यसको सन्देश पनि युवा पुस्ता र मायाप्रेमसँगै सम्बन्धित छ । उमेरअनुसार दर्शकका फरक–फरक स्वभाव र रुचीहरु हुन्छन् । लभ सबमा मिहिनत गरेका छौँ । दर्शकको रोजाइमा अवश्य पर्छ भन्ने आत्मविश्वास लिएको छु । 
 
७) लभ सबमा त अभिनय गर्नुभयो । अनि तपाईंको लभ सब परेको छ कि छैन ? 
–खासमा भन्नुपर्दा मेरो लभ सब परेको छैन । धेरै फ्यानहरु हुनुहुन्छ । जसले ‘पर्पोज’ गर्न छुटाउनु हुन्न । रिलेसनकै हिसाबले अनुभूति भएको छैन । दर्शक र फ्यानहरुको भने म ‘लभर’ नै हुँ । 
 
८) करिष्मा श्रेष्ठसँग त तपाईंको नाम धेरैपटक जोडियो नि । नढाँटी भन्नुस् न ? 
–करिष्मा मेरो अति मिल्ने साथी हुन् । मैले उनीसँग तीन वटा चलचित्रमा सँगै कामसमेत गरेँ । उनीसँग भेट्दा बोल्दा कत्ति पनि तनाव हुँदैन । हामी अधिकांश समय सँगसँगै हुन्छौँ । एकअर्काका समस्या समाधान गछौँ । दुःख, खुसी शेयर गर्छौँ । हाम्री पारिवारिक रुपमा पनि नजिक छौँ । घर आउजाउ हुन्छ । तर ‘रिलेशन’का हिसाबले ‘कमिटेट’चाहिँ भएका छैनौँ । अतिमिल्ने साथी भएकै कारण हाम्रो सम्बन्ध विकसित भइसकेको ठानिन्छ । यथार्थमा त्यस्तो छैन । मेरो लभ फ्लोर खाली नै छ । 
 
९) अभिनयको संसार र वास्तविक जीवनमा के अन्तर छ ? 
–अभिनयको संसारमा नदेखेका कुरा आफू बनेर राख्नुपर्छ । साह्रै गाह्रो काम हो यो । त्यसको आउटपुट आएपछि भने मज्जा आउँछ । अभिनयको संसार पनि वास्तविक संसारकै अर्को रुप हो । तर अभिनयमा सबै वास्तविकता लुकेको हुँदैन । अभिनय गर्दागर्दै कहिलेकाहीँ वास्तविक जीवनमा पनि अभिनय गर्दैछु कि जस्तो लाग्छ । अनि झसङ्ग हुन्छु । पछि सम्झेर सिकेर त्यसलाई पनि अभिनयमा उतार्न मज्जा आउँछ । यसले पनि अभिनयमा निखार आएको महसुस भएको छ । 
 
१०) यो क्षेत्रमा दीर्घकालीन रुपमा टिक्न गाह्रो छ भन्ने भनाइबारे के भन्नुहुन्छ ? 
–सही मार्गमा हुनुपर्छ । फ्यानसँग निरन्तर सम्पर्कमा हुनुपर्छ । उहाँहरुको सुझावअनुसार चल्न सक्नुपर्छ । कलाकार आफ्नै कारणले पलायन हुने, विस्थापित हुने गर्दछन् । कलाकारितामा कसरी स्थापित हुने, कसरी निरन्तरता दिने भन्ने कुरा बुझ्न जरुरी छ । नेपालका अग्रज कलाकार हुनुहुन्छ, जो सदाबहार रुपमा कलाकारितामा जम्नुभएको छ । मिहिनत नगर्ने र अवसरवादी स्वभावका व्यक्तिलाई यो क्षेत्र काम छैन ।