मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नासा र आन्मा सम्मेलनको तयारी पूरा

अमेरिकामा नासा र आन्मा सम्मेलनको तयारी पूरा


नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूका दुई बृहद सङ्गठनको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त सङ्गठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको बृहद र छाता सङ्गठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को संयुक्त एघारौँ सम्मेलन आउँदो सेप्टेम्बर ४, ५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र हाइप्वाइन्ट सहरको होटल एम्बेसी स्विटमा भव्य रूपमा हुँदैछ । सोही होटलमा हालै सम्पन्न सम्मेलनको पूर्ण तयारी बैठकपछि सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।
 
विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग सङ्कलनको मुख्य उद्धेश्यका साथ हुन लागेको मूल आयोजक समितिले जनाएको छ । करिब १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै फेसन, सांस्कृतिक प्रस्तुति, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू हुने भएका छन् । बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषय र क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुने बताइएको छ । सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष साङ्गीतिक सन्ध्या हुने भएको छ । जसबाट उठेको रकम राष्ट्र पुनर्निर्माणका लागि सहयोग गरिने भएको छ ।
 
बैठकमा विभिन्न समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रगति विवरण प्रस्तुत गरेका थिए । बैठकमा जानकारी गराइएअनुसार हालसम्म झन्डै चार सय जनाको नाम दर्ता भइसकेको छ भने होटलका दुई सय ४० वटा कोठा बुक भइसकेका छन् । बैठकमा नासाका अध्यक्ष डा.रामचन्द्र बरालले यो सम्मेलन यस क्षेत्रमा रहेका नेपालीहरूका समस्या र चुनौती पहिचान गरी समाधानका लागि स्पष्ट मार्ग निर्देश गर्न सहयोग पुर्याउने बताउनुभयो ।
 
एन्माका अध्यक्ष सुशील शर्माले छरिएर रहेका विभिन्न पेशाकर्मी नेपालीहरूबीच भेटघाट, अन्तरक्र्रिया, अनुभव साटासाट र आपसमा मनोरञ्जन हुनुमात्रै पनि एक उपलब्धि ठहरिने धारणा व्यक्त गर्नुभयो । बैठकमा प्रमुख आयोजक हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको एकमात्र प्रतिनिनिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) का अध्यक्ष नारायण खड्काले सबै राज्यमा बस्ने नेपालीहरूको उत्सहाजनक उपस्थिति हुने विश्वास व्यक्त गर्दै सम्मेलन थप ऐतिहासिक र प्रभावकारी बनाउन सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । बैठकमा सहभागी अमेरिका–नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपसभापति एवं नर्थ क्यारोलिनास्थित नेपाली व्यवसायी सानुबाबु सिलवालले अमेरिकामा आँट, जाँगर र सीप भएर पनि आर्थिक सवलता नभएका नेपालीहरू थुप्रै रहेको भन्दै नेपालीहरूलाई आर्थिक रूपमा समृद्ध बनाउने दिशामा यस्ता सम्मेलन उपयोगी र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सिलवालले सम्मेलनमा सहभागी हुन आउने परिवारका सदस्यहरूलाई दर्ता शुल्कमा उचित छुटको व्यवस्थाका साथै उपयोगी कार्यक्रमहरू सञ्चालन गरी सम्मेलनलाई आकर्षक र प्रभावकारी बनाउन सुझाव पनि दिनुभयो ।
 
त्यसैगरी एन्माका पूर्व अध्यक्ष राजेन्द्र खतिवडाले विगतका अनुभव सुनाउँदै विविध कमी कमजोरीलाई सच्याउँदै र राम्रा कामलाई दोहोर्याउँदै अघि बढ्न सुझाव दिनुभयो । नासाका कार्यकारी अध्यक्ष विमल नेपालले उत्साहजनक उपस्थिति हुने यो सम्मेलनमा कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाउँदै भव्यताका साथ सफल पार्न सबैको भूमिका गहन हुने बताउनुभयो । यो सम्मेलनको सफलताले नेपालको पुनर्निर्माणमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।
 
त्यसैगरी सञ्चार तथा जन सम्पर्क समितिका संयोजक शिव विष्टले सम्मेलन सफल पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै अधिकांश प्रकाशन–प्रसारण संस्थाहरू हातेमालो गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण सञ्चारकर्मीहरूलाई सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो ।
 
यसैबिच सम्मेलनमा सांस्कृतिक प्रस्तुतिका लागि नेपालबाट चर्चित कलाकारहरू आउने भएका छन् । चर्चित गायक रामकृष्ण ढकाल, चर्चित गायिका आस्था राउत, नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्माका साथै अरुण कार्कीको समेत प्रस्तुति रहने साङ्गीतिक कन्सर्टका संयोजक विशाल भारतीले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले पनि नेपाली कला र संस्कृतिसम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । अतिथि सत्कार समितिका संयोजक ठाकुर कार्की र सहसंयोजक शैलेन्द्र बज्राचार्यका अनुसार, सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण पाहुना, पत्रकार तथा सदस्यहरूको सहजताका लागि बेग्लाबेग्लै दर्ता तथा स्वागत कार्यक्रम तय गरिएको छ । 
 
त्यसैगरी फेसन सोका संयोजक विभोर रिजालले यस पटकको सम्मेलनमा युगल जोडीलाई प्रस्तुत गरिने जानकारी दिनुभयो । त्यसैगरी खेलकुद समितिका संयोजक रितेश पौडेलले भलिबल तथा सकर प्रतियोगितामा विजयी हुने टोलीलाई ‘नासा–एन्मा रनिङ्ग  गोल्ड कप’ प्रदान गरिने जानकारी दिनुभयो । खाध्य व्यवस्था समितिका संयोजक रोशन श्रेष्ठले सहभागी सबैलाई पूर्ण सन्तुष्टिका साथ भोजनको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । सम्मेलन आयोजक मूल समितिका संयोजक माधव ढकालको अध्यक्षतामा बसेको बैठकको सञ्चालन मूल समितिका महासचिव प्रसिम पौडेलले गर्नुभएको थियो ।
 
अमेरिकामा रहेका नेपालीहरूका विभिन्न सङ्गठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक् र व्यवस्थित मानिँदै आएको छ । निकै व्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ । यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौँ सम्मेलन सन् २०११ मा जर्जियामा, आठौँ सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौँ सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौँ सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो ।
 
टीएनसीसीको अपिल
यसैबिच नर्थ क्यारोलिनाको हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको प्रतिनिनिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) ले नेपाली कला र संस्कृति संरक्षण र प्रवर्दन गर्ने उद्धेश्यका साथ हाइप्वाइन्टमा ‘नेपाल हेरिटेज सेन्टर’ निर्माण गर्ने भएको छ । हेरिटेज सेन्टरका लागि गुरुयोजना तयार भइसको संस्थाले जनाएको छ । संस्थाले नेपाली बालबालिकाका लागि खेल मैदान, खेल सामग्री र नेपाली भाषाका कक्षाका लागि उपयुक्त पूर्वाधारका साथै युवायुवतीका लागि खेलकुद तथा पार्क निर्माण एवं सीपमूलक तालिम कक्ष पनि निर्माण गर्ने भएको छ । त्यसैगरी वृद्ध–बृद्धाका लागि भविष्यमा आश्रमस्थल पनि निर्माण गर्ने योजना रहेको संस्थाले जनाएको छ । त्यस्तै, विवाह, ब्रतवन्धलगायतका धार्मिक तथा सामाजिक कार्य आयोजना गर्न मठ–मन्दिर एवं कार्यक्रम हल पनि निर्माण गरिने भएको छ । 
 
टीएनसीसीले नासा–एन्मा सम्मेलनका क्रममा राफल चिठ्ठा कार्यक्रम आयोजना गर्ने र त्यसबाट संकलित रकम पनि निर्माण कार्यमा लगाइने भएको छ । संस्थाका पूर्व अध्यक्ष एवं अर्थ समितिका अध्यक्ष वसन्त खड्काले यतिले मात्र योजना सफल नहुने भन्दै यस्तो पवित्र कार्यमा आर्थिक सहयोगका लागि अमेरिकामा रहेका सम्पूर्ण संघसंस्था तथा चन्दादाताहरूलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष नारायण खड्काले पनि विदेशमा नेपाली कला र संस्कृति संरक्षणमा आफूहरू सधैँ तल्लीन रहेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।