मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिंहदरबारभित्रै गाँजाको झाडी !

सिंहदरबारभित्रै गाँजाको झाडी !


२९ साउन, काठमाडौं । गाँजाखेती नष्ट गर्न प्रहरी काठमाडौंबाट मकवानपुर, धादिङलगायत जिल्लाका दुर्गम गाउँसम्म पुग्छ । तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै फस्टाएको ‘गाँजाको बारी’बारे भने बेखबर छ ।
 
विज्ञान तथा प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको पछाडिको खाली जग्गामा गाँजाको ठूलो झाडी नै छ । गृह मन्त्रालयको पछाडि, श्रम मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयछेउको जग्गामा पनि गाँजाका बोट फस्टाएको नयाँ पत्रिकामा खबर छ ।  कांग्रेसको संसदीय कार्यालयमा त परिसरभित्रै गाँजाका बोट देखिन्छन् ।
 
तर, प्रहरी भने सिंहदरबारभित्र गाँजाको झाडी नरहेको दाबी गर्छ । ‘हामीले सिंहदरबारभित्र कतै गाँजा देखेका छैनौँ,’ सिंहदरबारस्थित सुरक्षा गणका प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । सुरक्षा परिषद्छेउछाउ क्षेत्रका केही गाँजाका बोट भने सेनाले नष्ट गरेको थियो ।
 
सहरी विकास मन्त्रालयका एक कर्मचारीले सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयछेउछाउमा बढेको गाँजाको झाडी नष्ट नगरिएको बताए । ‘मन्त्रालयकै छेउमा गाँजाको झाडी राख्नु लाजमर्दाे हो, पटक–पटक भन्दा पनि नष्ट गरिएको छैन,’ ती कर्मचारीले भने ।
 
सिंहदरबारबाहिर पनि धेरै ठाउँमा गाँजाका झाडी देखिन्छन् । अनामनगरको खोलाकिनार तथा खाली जग्गामा फस्टाएका गाँजाका बोट छन् । बागमती तथा विष्णुमती खोलाकिनारमा पनि गाँजाको झाडी देखिन्छ । लागुऔषध दुव्र्यसनीले त्यसको फाइदा उठाइरहेका छन् । सार्वजनिक स्थानमा फस्टाएका गाँजाका बोटबाट त केहीले कारोबारसमेत गर्ने गरेका छन् ।
 
दुई साताअघि प्रहरीले ललितपुरका केही सार्वजनिक स्थानका गाँजाका बोट नष्ट गरेको थियो । तर, काठमाडौं र भक्तपुरमा भने नष्ट गरिएको छैन । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले योजनाबद्ध रूपमा गाँजाखेती नष्ट गर्ने काम भइरहेको बताए । ‘सामुदायिक प्रहरी कार्यालयहरूसँग मिलेर उपत्यकामा रोपिएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाइएको छ,’ उनले भने ।
 
लागुऔषध नियन्त्रण ऐनले गाँजाखेतीलाई अपराध मानेको छ । तर, प्रहरीले कारोबारीलाई मात्र कारबाही गर्दै आएको छ ।