मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूरा भयो चेपाङ किशोरीको नर्सिङ पढ्ने धोको

पूरा भयो चेपाङ किशोरीको नर्सिङ पढ्ने धोको


चितवन । पढाइ खर्च अभावले उच्च शिक्षा अन्यौलमा परेकी सरिता चेपाङले सीटीईभीटीअन्तर्गत नर्सिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकालेकी छन् । गत साउन १२ गते परीक्षा लिई सीटीईभीटीले मंगलबार सार्वजनिक गरेको परीक्षाफलअनुसार उनले खुल्लातर्फ उत्कृष्ट अंकसहित नाम निकालेकी हुन् । 
 
धादिङको जोगीमारा गाउँ विकास समिति वडा नम्बर १, लैताकको विपन्न परिवारकी उनले पैसा नभएकै कारण उच्च शिक्षा अध्ययन गर्न नपाउने अवस्था आएको थियो । तर, कल्याणकारी काम गरिरहेको ‘हामीले नगरे कसले गर्ने ?’ अभियानले उनलाई भरतपुर ल्याएर परीक्षामा सामेल हुने वातावरण मिलाएको थियो ।
“सीटीईभीटीको नतिजाअनुसार सरिता उत्कृष्ट देखिएकी छन्”, अभियानकी कोषाध्यक्ष कल्पना बस्ताकोटीले भनिन्, “एसएलसीमा ७४.१३ प्रतिशत अंक ल्याएकी उनले नर्सिङ प्रवेश परीक्षामा कूल पूर्णाङ्क १ सयमा ७८ ल्याएकी छन् ।” 
 
खुल्लातर्फ कूल १२८ जना विद्यार्थीमध्ये सरिता २५ औं स्थानमा छिन् । पीसीएल (प्रवीणता प्रमाणपत्र तह) नर्सिङ पढ्न ४ लाख ७५ हजार रुपैयाँ शुल्क लाग्छ । 
 
नतिजा थाहा पाएपछि खुशी व्यक्त गर्दै सरिताले अब नर्सिङ पढेर विपन्न चेपाङको स्वास्थ्य सेवा गर्ने बताइन् । अत्यन्त कम सुविधा भएको जोगीमाराको राष्ट्रिय माविमा अध्ययन गरेर पनि उत्कृष्ट नतिजा ल्याएकी सरिताले अबको पढाइमा पनि उत्कृष्टता हासिल गर्ने विश्वास शिक्षक दीपक रिजालले व्यक्त गरे ।
 
पढाइका लागि छात्रवृत्ति पाए पनि अब उनलाई चितवनमा बस्ने र खाने बन्दोबस्त गर्नुपर्ने छ । अभियानका उपाध्यक्ष विनोदबाबु रिजालले उनलाई होस्टल खर्चका लागि विभिन्न संघरसंस्था तथा व्यक्तिले चासो देखाए पनि हालसम्म कसैले पनि जिम्मा लिइनसकेको जानकारी दिए । उनले विभिन्न निकायलाई सहयोगका लागि अपिल गरे ।
 
यसअघि १५ दिनमात्र तयारी कक्षा लिएकी उनलाई अभियानले नै भरतपुरको एक निजी होस्टलमा बस्ने व्यवस्था गरेको थियो ।