मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अनुदानको मल निजी पसलबाट अवैधरुपमा बिक्री गर्ने पक्राउ

अनुदानको मल निजी पसलबाट अवैधरुपमा बिक्री गर्ने पक्राउ


चितवन । सहकारीमार्फत् अनुदानमा बिक्री गर्नुपर्ने रासायनिक मल निजी पसलमा भेटिएको छ । कृषकका लागि भनेर अनुदानमा दिइएको मल व्यावसायीले खुलेयाम बिक्री वितरण गरेको पाइएको हो । यसरी अनुदानको मल अवैध रुपमा बिक्री गरेको अवस्थामा नारायणगढको एक पसलबाट ५० बोरा रासायनिक मल बरामद गरेपछि यो रहस्य खुलेको हो । 
 
नारायणगढको कमल इन्टरप्राइजेजबाट परिणाममा रासायनिक मल बरामद गरिएको हो । जिल्लास्थित अनुगमन टोलीलाई प्राप्त सुराकीका आधारमा टोलीले मंगलबार सो अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले पसल सञ्चालकलाई नियन्त्रणमा लिँदै पसलमा शिलबन्दी गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका बालीसंरक्षण अधिकृत कमलनाथ वाग्लेले बताए । 
 
जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला सहकारी र साल्टट्रेडिङले संयुक्त रुपमा   अनुगमन गरेका थिए ।  सहकारीमार्फत कृषकको हातमा पुग्नुपर्ने मल व्यवसायीले बिक्री गरेको पाइएपछि पसल सञ्चालक रामप्रसाद अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।
 
इन्टरप्राइजेजले मल बिक्रीको लागि अनुमतिपत्रसमेत नलिई कारोबार गर्दै आएको खुलेको छ । कुनै पनि विषादी तथा बीउ बिक्री वितरण गर्न जिल्ला कृषि विकास कार्यालयबाट अनुमति लिनुपर्छ । यसरी अनुमति नलिई सञ्चालनमा ल्याइएको पसललाई ५० हजारदेखि तीन लाख रूपैयाँसम्म जरिबाना गर्न सकिने कानुनी व्यवस्था छ । 
 
सहकारीबाट बिक्री वितरण गरिने मल अवैध रुपमा यसरी बिक्री वितरण गर्नेलाई जिल्ला प्रशासन कार्यालय चितवनले कालो बजारी ऐनअन्तर्गत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । यसभन्दा अघि जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगरको ओपी कृषि सामग्री केन्द्र, खोलेसिमलको साईराम भेट फर्मा र भण्डाराको कुशल कृषि सामग्रीले पनि यसरी नै अवैध मल बिक्री गरेकोमा कालोबजारी ऐनअन्तर्गत कारबाही गरिएको थियो । 
 
यसरी मल बीउ र विषादी जथाभावी रुपमा बिक्री गर्न थालेपछि जिल्लास्थित अनुगमन समितिलाई पनि अहिले कृयाशील बनाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार अधिकृत नेत्रप्रसाद शर्माको नेतृत्व टोलीले जिल्लाका विभिन्न क्षेत्रहरुमा अनुगमन कार्यलाई तीव्रता दिएको छ । 
 
पश्चिम चितवनको प्रेमबस्ती, गीतानगर, कान्छिचोक, चनौली, शारदानगर पार्वतीपुरलगायतका क्षेत्रमा रहेका २० भन्दा बढी पसलमा अनुगमन टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा धेरैजसोलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसलमा  सञ्चालन अनुमतिपत्रको म्याद सकिएकोले नवीकरण गर्न निर्देशन दिइएको थियो ।