मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

किन हुन्छ गर्भपतन ?

किन हुन्छ गर्भपतन ?


काठमाडौँ । सन्तान हरेक दम्पतीको एउटा सुखद् सपना र चाहना हो । आफ्नो सन्तान स्वस्थ जन्मियोस् र गर्भवती अवस्थामा रहेकी महिलाको स्वास्थ्यमा असर नपरोस् भनेर दम्पतीमात्र होइन, पूरै परिवारले चिन्ता व्यक्त गरिरहेको हुन्छ । चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्छन् । तर, पनि कतिपय अवस्थामा गर्भवती महिलाको पेटबाट बच्चा खेर जान सक्छ।
 
सन्तान सुखको चाहमा रहेका केही दम्पतीलाई गर्भ खेर जाने समस्याले सताइरहेको हुन्छ। हेरचाह र सावधानी नगर्नेमा मात्र होइन, उचित हेरचाह र सावधानी अपनाउँदा पनि बेलाबखत महिलाको गर्भबाट भ्रूण खेर जाने गर्छ। चिकित्सकीय भाषामा यस्तो समस्यालाई गर्भपात वा गर्भपतन भएको भनिन्छ । 
 
वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा सरस्वती पाध्येका अनुसार गर्भवती महिलाको पाठेघरमा बढिरहेको शिशु २८ हप्ताभन्दा पहिले विभिन्न समस्याका कारण बाहिर निस्कने समस्या नै गर्भपतन हुनु हो ।
 
डा पाध्येका अनुसार सामान्यतया २८ हप्ताभन्दा अघिको एक सय ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ। यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ। तर, नेपालमा त्यसपछिका हप्तामा पनि विभिन्न कारणले गर्भपतन हुने गर्छ। गर्भेशिशु खेर जाने समस्या वंशाणुगत समस्याले पनि हुनसक्छ। ‘धेरै कारणले गर्भेशिशु खेर जानसक्छ, त्योमध्ये वंशाणुगत कारण पनि एक हो,’ उनले भनिन्, ‘यस्तै महिलामा क्रोमोजोम हर्मनमा विकृति भएमा पनि यस्तो हुनसक्छ।’
 
गर्भमा रहेको भ्रूण महिलाको पाठघेरसम्बन्धी समस्याका कारण पनि खेर जाने निजामती कर्मचारी अस्पतालका निर्देशक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा विमल थापा बताउँछन्। उनका अनुसार अति सानो पाठेघर हुने, पाठेघरको मुख खुकुलो हुने, यसैगरी पाठेघरमा संक्रमण हुने, सिफिलिस, टोक्सोल्पास्मा, साइटो मेगालो भाइरस, रुबेला, हर्पिस जस्ता रोगका कारण पनि भ्रूण खेर जाने हुन्छ। ‘यसरी भ्रूण खेर जाने समस्या देखियो भने एक वर्षसम्म अर्को गर्भधारण गर्नु हुन्न,’ उनले भने, ‘साथै चिकित्सकको उचित सल्लाहअनुसार मात्र गर्भधारण गर्नुपर्ने हुन्छ।’
 
कुनै कुनै महिलामा श्रीमान्को वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्राकृतिक रूपमा नै भ्रूण फ्याँकिने समस्या निम्तिने डा। पाध्ये बताउँछिन् । उनका अनुसार महिलाका हर्मनमा आउने गडबडीसँगै मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ। यसका साथै गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुंगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु जस्ता कारणले पनि गर्भे भ्रूण खेर जाने गर्छ।
 
चिकित्सकका अनुसार गर्भ खेर जाने समस्यालाई थे्रटेन्ट एबोर्सन, इनएभिटेबल एबोर्सन, इन्कम्प्लिट एबोर्सन, कम्प्लिट एबोर्सन, सेप्टिक एबोर्सन, ह्याबिच्युअल एबोर्सन, मिस्ड एबोर्सनलगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । डा पाध्येका अनुसार थे्रटेन्ट एबोर्सनमा रक्तस्राव, दुख्ने जस्ता समस्या हुन्छ । यस्तो अवस्थामा गर्भाशयको मुख बन्द नै हुन्छ । उचित आराम र उपचारले गर्भले निरन्तरता लिन सक्छ। यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ। तर, हेलचेक्य्राँइ गरेमा गर्भ खेर जान्छ।
 
इनएभिटेबल एबोर्सनमा गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ। इन्कम्प्लिट एबोर्सनमा गर्भपतन अधकल्चो भएको हुन्छ। भ्रूण अथवा सालको केही भाग बाहिर निस्कने र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ। यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्सिस भई र बढी रक्तस्रावले गर्दा गर्भवतीको मृत्युसमेत हुने डर हुन्छ।
 
भ्रूण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ। यसबेला बेथा लागेजस्तै गरी दुख्छ र सम्पूर्ण भ्रूण तथा सालनाल बाहिरिन्छ र दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ।
 
सेप्टिक एबोर्सनमा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढी दुख्ने समस्या हुन्छ । यस्तो नहोस् भनी पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मिर्गौलाको अवस्था हेर्न रगत, पिसाबआदि जाँच गराउनुपर्ने डा पाध्ये बताउँछिन्। उनका अनुसार विभिन्न कारणले दुई वा दुईभन्दा बढीपटक गर्भ खेर गएको छ भने त्यस्तो अवस्थालाई ह्याबिच्युअल एबोर्सन भनिन्छ। यसको उपचार गर्न गाह्रो हुन्छ। तर, समस्या पहिचान गरेर निराकण भने गर्न सकिन्छ।
 
पाठेघरमा जुनसुकै बेला भ्रूणको विकास नभई विनाश हुने अर्थात् मृत्यु हुने समस्यालाई मिस्ड एबोर्सन भनिन्छ। यस्तो समस्या अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ। अथवा, आमाले बच्चा नचलेको शंका लागेमा थाहा पाउन सकिन्छ। यस्तो अवस्थामा पाठेघरको आकार हेरेर उपचार गर्नुपर्ने डा थापा बताउँछन् । उनका अनुसार गर्भ खेर जाने धेरै कारण भएकाले दम्पतीले गर्भाधान गर्ने तयारी गर्दादेखि नै दुवैको स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्न र चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । -एजेन्सी