मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजमार्गका स्टिलका पुलहरु जीर्ण, मर्मत नहुँदा जोखिम कायमै

राजमार्गका स्टिलका पुलहरु जीर्ण, मर्मत नहुँदा जोखिम कायमै


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोटमा रहेको जयश्री खोलको पुल भाँचिदा २४ घण्टा यात्रु अलपत्र परे । सोमबार साँझदेखि अवरूद्ध पूर्वपश्चिम राजमार्ग मंगलबार साँझबाट आंशिकरुपमा खुलाइएको छ । 
सोमबारदेखि राजमार्ग अवरुद्ध भएपछि पुलनजिकै डाइभर्सन बनाएर साँझबाट एकतर्फीरुपमा सवारी साधन आवतजावत भएको गैंडाकोट प्रहरीले जनाएको छ ।
कमजोर अवस्थामै हेरविचार गरी मर्मत हुन नसक्दा जयश्री खोलाको पुल भाँचियो । स्टिलबाट बनेको जयश्री खोलाको पुलमात्र होइन, राजमार्गका स्टिलका अधिकांश पुलहरु कमजोर अवस्थामा छन् । कमजोर स्टिलका पुलको निरीक्षण हुन सकेको छैन । धेरै यस्ता पुलहरुले आफ्नो आयु खाइसकेका छन् । 
निरीक्षणबाट राजमार्गका कमजोर पुलहरुको मर्मत हुन नसके अरु पुलहरु पनि भाँचिने विज्ञहरुको भनाइ छ । नवलपरासीमा दुई हजार मिटरको हाराहारी सडकले ओगटेकोमा दुई किलोमिटर त पुलको हिस्साले ओगटेको छ । 
जसमध्ये अधिकांश स्टिलका पुलहरु जीर्ण भएका विज्ञहरु बताउँछन् । जयश्री जस्तै नवलपरासीको लोकाहा खोला र पत्थर खोलाको पनि पुल पनि भाँचिएको थियो । 
जयश्रीजस्तै स्टिलबाट बनेका पुलहरु अझ जोखिमयुक्त रहेको विज्ञहरुको भनाइ छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लण्डनबाट खरिद गर्नुपर्ने आवश्यकता छ । यही प्रकृतिका पुल पूर्वपश्चिम राजमार्गमा नारायणदेखि बुटवलसम्म १० वटा छन् । 
२०४० सालमा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका यी पुलहरुको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिकहरु बताउँछन् । तर यसको हालसम्म मर्मत नहुँदा स्टिलबाट बनेका पुलहरु अति जोखिममा छन् । विज्ञहरुका अनुसार कुन कति बेला भाँचिन्छ पत्तो छैन । 
राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औषत आयु ४० देखि ५० वर्षको भए पनि स्टिल ब्रिजमा आधारित पुलहरु अहिले भाँचिन थालेका छन् । राजमार्गको कावासोतीनजिकै रहेको लोकाहाखोला माथिको पुल र पत्थरखोला पुल पनि यसरी नै भाँचिएर मर्मत सुधार गरिएको थियो । 
‘यस्तो प्रकृतिको पुललाई भाँचिएको भाग पूरै काटेर फालेर मर्मत गर्न सकिन्छ’, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इञ्जिनियर दीपक भट्टराईले भने ‘लोकाहा पुललाई मर्मत सुधार गरिएको हो भने पत्थरखोला पुलको भाँचिएको भाग फालेर मर्मत गरिएको हो ।’ 
ओभरलोडकै कारण राजमार्गको अधिकांश पुलहरु कमजोर भएको इन्जिनियर भट्टराईले बताए । उनले भने, ‘पुल जीर्ण बन्दै जानुको प्रमुख कारण ओभरलोड हो ।’ पूर्वपश्चिम राजमार्गमा रहेका पुलहरु अहिले पनि ठाउँ ठाउँमा मर्मत भइरहेको उनले बताए । सामान्यरुपमा टालटुल पारेर पुलहरु मर्मत गरिएकाले भाँचिएको स्थानीयको आरोप छ । जसका कारण कुनै पनि पुलको आयु अब कति छ अनुमान लगाइहाल्न सक्ने अवस्था छैन । 
सडक डिभिजन कार्यालय बुटवलले जनाएअनुसार पुलहरु जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी ओभर लोड बोक्न हँुदैन । तर यहाँ ४० टनसम्म लोड बोकिने र त्यसलाई रोक्न समन्वय नहुँदा पुलहरु भाँचिएको इञ्जिनियर भट्टराईले बताए । 
‘राजमार्गमा क्षमताभन्दा बढी तौल राखेर सवारी साधन गुडाउने प्रवृत्ति नै प्रमुख समस्या बन्यो’ उनले भने, ‘अनुगमन र निरीक्षण गरी यो प्रवृति हट्न पर्छ ।’ अहिले सडकमा ट्रिपरदेखि ट्रकसम्म ओभर लोड सवारी साधनहरु त्यसमा पनि विशेष गरी भारतीय ट्रकहरु बढी देखिन्छन् । 
जसका कारण पनि सडकदेखि पुलसम्म जीर्ण बनेर आयु घट्दै गएको छ । जसको ज्वलन्त उदाहरण भाँचिएको गैंडाकोटको जयश्री खोलको पुल भएको विज्ञहरु बताउँछन् । 
पुल ओभर लोडका कारण भत्किएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर विष्णु खनालले बताए ।