मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘नेपाल मानव तस्करीको स्रोत’

‘नेपाल मानव तस्करीको स्रोत’


काठमाडौं : अमेरिकाले नेपाल बाध्यात्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत तथा गन्तव्य भएको उल्लेख गरेको छ ।
 
अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकामा सोमबार साँझ (नेपाली समयअनुसार) सार्वजनिक गरेको ‘ट्राफिकिङ इन पर्सन्स २०१५’ प्रतिवेदनको नेपाल खण्डमा नेपाली महिला तथा बालबालिकाहरू नेपालभित्रै, अमेरिका, भारत, मध्यपूर्वी मुलुक, एसियाली र अफ्रिकी मुलुकमा अवैध यौन व्यापारमा रहेको उल्लेख छ ।
 
‘नेपाली पुरुष, महिला, बालबालिकाहरू ती देशहरूमा निर्माण कम्पनी, उद्योगहरू, खानीहरू, घरेलु काममा, भिखारीका रूपमा र युवाहरू मनोरञ्जन गर्ने उद्योगहरूमा बाध्यात्मक श्रममा फसिरहेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘बाध्यात्मक श्रमका अधिकांश यस्ता घटनाहरू नेपालका म्यानपावर एजेन्सीहरूको मिलेमतोमा हुने गर्छ जुन एजेन्सीहरूले कामदारसँग गैरकानुनी रूपमा चर्को शुल्क असुल्ने गर्छन् ।’
 
विशेषगरी छिमेकी भारतको बाटो हुँदै आफैं या दलालको विश्वासमा परेर गैरकानुनी रूपमा अर्को मुलुक प्रवेश गर्ने आप्रवासी नेपाली कामदारहरू बाध्यात्मक श्रमको सिकारमा परिरहेको प्रतिवेदनमा जनाइएको छ ।
 
'नेपाली महिला तथा बालबालिकाहरू नेपालभित्रै, अमेरिका, भारत, मध्यपूर्वी मुलुक, एसियाली र अफ्रिकी मुलुकमा अवैध यौन व्यापारमा छन्'
‘नेपालभित्र गैरकानुनी यात्रा अनुमतिपत्रहरू बन्ने हुँदा बंगलादेशलगायत अन्य देशका नागरिकहरूले समेत नेपाललाई मध्यपूर्वी मुलुकहरूमा प्रवेश गर्ने ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोग गरिरहेको पाइन्छ । त्यसरी जानेहरू मानव तस्करीको सिकार हुने गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
 
अमेरिकी विदेश मन्त्रालयको उक्त प्रतिवेदनमा नेपालका केही सरकारी अधिकारीहरूलाई घूस ख्वाएर म्यानपावर दलालहरूले गैरकानुनी रूपमा विदेश जाने नेपाली तथा नेपालको बाटो हुँदै जाने कामदारहरूको गलत विवरण राखेर पासपोर्ट तथा सरकारी दस्ताबेजहरू बनाउने गरेको उल्लेख गरिएको छ ।
 
त्यस्तै नेपाली तथा भारतीय बालबालिकाहरू नेपालभित्रै घरेलु काममा, इँटाभट्टा, सिलाइबुनाइ र टेक्सटाइल उद्योगहरूमा काममा बाध्य पारिएको समेत विदेश मन्त्रालयले जनाएको छ । नेपालका कृषि, इँटा तथा ढुंगा फोड्ने उद्योगहरू एवं घरेलु काममा समेत बँधुवा कामदारहरू रहेको दाबी गरिएको छ ।
 
नेपाल सरकारले मानव तस्करी अन्त्यका लागि साधारण मापदण्डसमेत पुर्‍याउन नसकेको अमेरिकी विदेश मन्त्रालयले आरोप लगाएको छ । यद्यपि यसका लागि केही प्रयास भने जारी राखेको उसले जनाएको छ ।
 
अमेरिकी विदेश मन्त्रालयले महिला तथा बालबालिकाको तस्करी तथा बाध्यात्मक श्रम अन्त्य गर्न विभिन्न प्रभावकारी कदम चाल्न सरकारलाई सुझावसमेत दिएको छ ।