मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर उपमहानगरपालिकाका प्रमुखलाई कालोमोसो

भरतपुर उपमहानगरपालिकाका प्रमुखलाई कालोमोसो


 हिमालय खबर, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा–माओवादी चितवनका कार्यकर्ताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै भरतपुर उपमहानगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई कालोमोसो दलेर दुव्र्यवहार गरेका छन् । 
 
आइतबार बिहान उप–महानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् । सापकोटाले भ्रष्टाचार गरेकाले  कालोमोसो दलिएको माओवादी चितवनले जनाएको छ । विप्लव माओवादी चितवनका जिल्ला सेक्रटरी महेश थारुले नगरवासीले सचेत गराउँदासमेत पदको दुरुपयोग गरेपछि कालोमोसो दल्न बाध्य भएको हिमालय खबरलाई  बताए ।
 
कालोमोसो दल्ने क्रममा घटनास्थलमा भेटिएको पर्चामा सापकोटाले जनताको करबाट भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको र बाटो बनाउने पैसाले १ करोड ६३ लाखको गाडी किनेको लगायतका आरोपहरु लगाइएको छ । नगरपालिकामा खुलेको नायव सुब्बाको दरबन्दीमा आफ्नी श्रीमती, नातागोतालाई राख्ने प्रयास गरेको आरोप पनि कार्यकारी अधिकृत सापकोटामाथि लगाइएको छ ।
 
सापकोटाले करोडौं रकम भ्रष्टाचार गरेको माओवादीले आरोप लगाएको छ । माओवादी चितवनले सापकोटाले गरेका विभिन्न गलत कार्यको सूची बनाएर पर्चासमेत पनि प्रकाशन गरेको छ । कार्यकारी प्रमुख सापकोटालाई यसअघि पनि नगरवासीले भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका थिए । स्थानीय नगरवासीले पटक–पटक उनलाई यस विषयमा सचेत पनि गराएका थिए । तर, उनले बारम्बार त्यही कार्य दोेहोर्याउँदै गएपछि आइतबार सांकेतिक कारबाही गर्नुपरेको माओवादी चितवनले जनाएको छ । सापकोटाले केही दिनअघि आफूलाई चढ्न उप–महानगरपालिकाको स्रोतबाट १ करोड ६३ लाख रुपैयाँ तिरेर नयाँ ल्याण्डक्रुजर गाडी खरिद गरेका थिए । यो कार्यप्रति उप–महानरपालिकाकाकै कर्मचारीले समेत असन्तुष्टि जनाउँदै आएका थिए । 
 
नगरपालिकाभित्र पर्ने धेरै ठाउँमा सडक भत्किएको, कच्ची सडकहरु मर्मत नगर्दा हिलाम्य भएको र त्यसको मर्मतका लागि बारम्बार कुरा उठाउँदा पनि वास्ता नगरेर बिलासी गाडी खरिद गरेको भन्दै माओवादीले यसप्रति आपत्ति जनाएको हो । 
 
सैगरी सापकोेटाले चितवनमा निर्माण गरिन थालिएको ल्याण्डफिल साइटका लागि खरिद गरिएको जग्गामा करोडौं रकम भ्रष्टाचार गरेको आरोप माओवादीले लगाएको छ । ल्याण्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गामा जग्गाधनि किसानलाई ३० हजारका दरले रकम दिएर ९० लाख रुपैयाँ झ्वाम गरेको विषयमा पनि उनले भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 
 
साथै उनले नगरपालिकामा उठ्ने करको व्यापक दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी कार्यकारी प्रमुख सापकोटाले लंकुस्थित घरमा आफ्नै जन्मदिने आमालाई बारम्बार कुटपिट गर्ने गरेको आरोप पनि माओवादीले लगाएको छ । यस विषयमा उनका आफन्त र स्थानीयवासीले बारम्बार उनलाई सचेत गराएको तर अटेरी गरी झनझन गलत काम गर्दै गएकोले कारवाही गर्नुपरेको माओवादी चितवनका जिल्ला नेता केशवले जानकारी दिएका छन् ।
 
यता नगरपालिका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भने माओवादीबाट सामान्य जानकारीमात्रै गराइएको तर दुव्र्यवहार नभएको प्रतिक्रिया दिएका छन् । उनले कालोमोसो दलेको घटनाबारे बुझ्न खोज्दा त्यस्तो अप्रिय घटना केही नभएको भन्दै संक्षिप्त प्रतिक्रिया दिएका छन् ।