मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विगतका गल्ती कमजोरीलाई स्वीकार गर्नु नै उत्तम : अध्यक्ष दाहाल

विगतका गल्ती कमजोरीलाई स्वीकार गर्नु नै उत्तम : अध्यक्ष दाहाल


काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ, एकीकृत र जीवन्त बनाउन विगतमा भएका सबै गल्ती तथा कमजोरीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र नेतापिच्छे गुट बनाउने र नेतृत्वलाई मात्रै गाली गर्ने प्रवृत्ति हावी भएकाले त्यसलाई तत्काल सच्याउनुपर्ने बताउनुभयो । 
 
पार्टीले लिएको एजेण्डामा मुलुक अगाडि बढेको र परिवर्तनका उपलब्धि संस्थागत हुन लागेको समयमा पार्टीका नेता तथा कार्यकर्ताको एउटै धारणा रहनुपर्नेमा त्यसो हुन नसकेकोमा समेत उहाँले गुनासो गर्नुभयो । 
 
पार्टी नेतृत्व सबैलाई समेटेर लैजान प्रतिवद्ध रहेको भएपनि नेतापिच्छेका गुट र उपगुटले कोही कसैलाई राम्रो नगर्ने भएकाले त्यसका विशेष ध्यान दिन अध्यक्ष दाहालले आग्रह गर्नुभयो । 
 
अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्षलाई गाली गरेर मात्रै सबै समस्याको हल हुन्छ भने सकेको गाली गर्नुस्, त्यसमा केही गुनासो रहन्न, तर हरेक निर्णय गर्दा विवेक पु¥याएर गर्नुपर्ने बाध्यता छ, त्यसलाई ख्याल गर्न म आग्रह गर्दछु ।”
 
गुट, उपगुट तथा फुटले कोही कसैको हित नगर्ने भएकाले सबैले आफ्नो भूमिका के हो र उद्देश्य के हो सोचेर अगाडि बढ्न अध्यक्ष दाहालले आग्रह गर्नुभयो । 
 
कार्यक्रममा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रुपान्तरणको विषयमा पटकपटक छलफल भएको भएपनि खास अर्थमा रुपान्तरण नभएकाले आगामी दिनमा त्यसरी नचल्ने बताउनुभयो । 
 
रुपान्तरणका लागि सबै तहका नेता तथा कार्यकर्ताले विशेष ध्यान दिनुपर्ने आग्रह गर्दै उहाँले संस्थापक नेता कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि दिने हो भने तत्काल नयाँ आधारमा पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
 
कार्यक्रममा संस्थापक नेता कर्माचार्यको बारेमा पार्टीका मुख्यसचिव हितराज पाण्डेले जानकारी गराउनुभएको थियो ।
 
संस्थापक नेता कर्माचार्यको २०७० साल साउन ९ गते निधन भएको थियो । उहाँको स्मरणमा हरेक वर्ष एमाओवादीले स्मृति दिवस मनाउँदै आएको छ । रासस