मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्युत् आयोजना भत्किएपछि जाजरकोट अन्धकार

विद्युत् आयोजना भत्किएपछि जाजरकोट अन्धकार


जाजरकोट । बिहीबारदेखि जाजरकोट सदरमुकाम खलङ्गा अन्धकारमय भएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नभएको खलङ्गा बजारमा स्थानीय साङ्ट रिसाङ खोला लघु जलविद्युत् आयोजनाको कुलो भत्किएपछि अनिश्चितकालका लागि अन्धकारमय भएको हो ।
 
विद्युत् सेवा बन्द भएपछि खलङ्गाका सरकारी कार्यालयको काम कारबाहीमा समेत असर परेको छ । साउन २० गतेदेखि सुुरु हुने एसएलसी पूरक परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत बिजुली नहुँदा मर्कामा परेका छन् ।
 
सरकारी कार्यालयवाट विभिन्न सेवा लिन आएकाहरू पनि विद्युत् अभावमा सहज सुविधा पाउनबाट वञ्चित भएको स्थानीयवासीले बताएका छन् । 
 
त्यस्तै बिजुली नभएका कारण आफूहरूले महँगोमा मैनबत्ती र मट्टीतेल किनेर पढाइको जोहो गर्नुपरेको विजय मावि छिप्रेनाबाट एसएलसी पूरकको तयारी गरिरहेकी छात्रा जेनिसा शाहीले बताइन् । 
 
वर्षात्का कारण पहिरोले आयोजनाको कुलो भत्किएपछि बिजुली बन्द भएको आयोजनाका अध्यक्ष लीलाबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार माथिबाट आएको पहिरोले ५० मिटर लम्बाइ कुलो भत्किएपछि विद्युत् सेवा बन्द भएको हो ।
 
कुलो भत्किएको अवस्था हेर्दा बिजुली कहिलेसम्म बल्छ भनेर भन्न सकिने अवस्था नरहेको शाहले बताउनुभयो । स्थानीय जनता, गरिबी निवारण कोष, जिल्ला विकास समिति र अन्य निकायको रु तीन करोडको लागतमा निर्माण भएको उक्त आयोजनाले सदरमुकाम खलङ्गाका एक हजार २०० बढी घरधुरीलाई सेवा दिएको भनिए पनि विद्युत् सेवा गुणस्तरीय नभएको स्थानीयवासीको गुनासो छ ।
 
बर्सेनि आयोजनाको कुलो तथा अन्य सामग्रीको मर्मतका लागि बजेटको व्यवस्था भए पनि गतिलो काम नभएका कारण बर्सेनि कुलो भत्किने समस्याले विद्युत् आपूर्तिमा समस्या परेको छ । 
 
यस वर्ष दुर्गम क्षेत्र विकास समिति र अन्य निकायबाट रु २३ लाख रकम कुलो मर्मत तथा अन्य कामका लागि आए पनि काम गतिलो नभएका कारण भर्खरै बनेको कुलो भत्किएर खलङ्गा अन्धकारमय भएको हो ।
 
उनान्सय किलोवाट क्षमता भएको आयोजना भनिए पनि वर्षात्मा समेत ७० किलोवाट पनि उत्पादन नहुँदा सदरमुकामवासीले विद्युत्को समस्याबाट ठूलो सास्ती भोग्ने गरेका छन् । 
 
आयोजनाको भरपर्दाे सञ्चालन र मर्मतका लागि सरकारी निकायबाट पर्याप्त बजेट र ध्यान नगएको आयोजनाका अध्यक्ष शाहको गुनासो छ । भौगोलिक कठिनाइ र समस्याका कारण बर्सेनि प्राप्त हुने बजेट पर्याप्त नभएका कारण विद्युत् नियमित बनाउन नसकिएको उहाँले वताउनुभयो । रासस