मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक युवकको मृत्यु प्रकरणमा माडी उपत्यका बन्द

एक युवकको मृत्यु प्रकरणमा माडी उपत्यका बन्द


चितवन । चितवनको माडीका एक युवकको रहस्यमय मुत्यु प्रकरणलाई लिएर स्थानीयले शनिबार माडी उपत्यका बन्द गराएका छन् । 
माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको हिजो रहस्यमय रुपमा भरतपुरमा मृत्यु भएको थियो । 
 
प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको मृत्यु भएको भन्दै पीडित परिवार तथा स्थानीयले यहाँको यातायात बन्द गराएका हुन् । उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् ।
 
उक्त घटनापछि शुक्रबार दिनभर तनाव भएको माडीमा आज बन्दले यातायात बन्दबाट यात्रु प्रभावित भएका छन् । हिजोको बन्दले आजित भएका यात्रु आज थप बन्द हुँदा नारायणगढ माडी आवतजावत गर्ने प्रभावित भएका छन् ।
 
गएको असार ३० गते मापसे गरेको फेला पारेपछि प्रहरीले एक दिन हिरासतमा राखेर उनीलगायत पाँच जनालाई छाडेको थियो ।
 
प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेका कारण मृत्यु भएको आरोप उनका आफन्तले लगाएका स्थानीय नागरिक अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । जसका कारण हिजो माडीमा शव प्रदर्शन गर्ने क्रममा प्रहरी कार्यालयमा झडपसमेत भएको थियो । 
 
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार मापसे गरेका उनीसहित पाँच जनालाई असार ३० गते नियन्त्रणमा लिइएको थियो । उनीहरू सबैलाई भोलिपल्ट यस्तो नगर्ने सर्तमा तारिखमा आउने गरी रोहवरमा छाडिएको थियो । 
 
अहिले बिरामी भएर मृत्यु भएपछि प्रहरीले कुटेर मारेको भनी मित्थ्या आरोप आएको थापाले बताउनुभयो । 
 
प्रहरीले उनीहरूलाई कुनै पनि यातना नदिएको उहाँले दाबी गर्नुभयो । उनलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएकामा शुक्रबार मृत्यु भएपछि प्रहरीमाथि आरोप लागेको हो । प्रहरीले उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ । रासस