मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाहाललाई कालो झन्डा देखाउनेक्रममा सिरहामा झडप

दाहाललाई कालो झन्डा देखाउनेक्रममा सिरहामा झडप


लहान । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा सिरहा क्षेत्र नम्बर ५ का सभासद् पुष्पकमल दाहाललाई कालो झन्डा देखाउन खोज्ने मधेसवादी दल निकट नेता कार्यकर्ता र प्रहरीबीच आज सिरहाको मिर्चैयामा झडप भएको छ । 
 
संविधानको प्रारम्भिक मस्यौदा २०७२ माथि जनताको रायसुझाव सङ्कलनका लागि मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष दाहाललाई मधेस केन्द्रित दलका कार्यकर्ताले कालो झन्डा देखाउन खोजेपछि प्रहरीसँग झडप भएको हो । 
 
झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालयका प्रहरी भ्यानमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 
 
प्रदर्शनकारीको अवरोधका बाबजुद अध्यक्ष दाहालको उपस्थितिमा मिर्चैयामा सुझाव सङ्कलन कार्यक्रम सुरु भएको छ । दिउँसो २ः३० बजेदेखि सुरु भएको सुझाव सङ्कलन कार्यक्रममा स्थानीयवासी, नागरिक समाज, विभिन्न दलका नेता कार्यकर्ताले नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिएका छन् । 
 
यस्तै नयाँ संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन गर्ने कार्यक्रम सिरहाको ६ वटै निर्वाचन क्षेत्रमा । सुझाव सङ्कलन कार्यक्रम भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 
 
जनताको सुझाव सङ्कलनको कार्यक्रमका बेला केही अप्रिय घटना हुन नदिन सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।
 
सुझाव सङ्कलनका लागि सिरहाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्ले सदरमुकाम सिरहामा संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेको थियो । रासस