मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गौरमा ढुङ्गामुढा प्रहार, नेता नेपालद्वारा निन्दा

गौरमा ढुङ्गामुढा प्रहार, नेता नेपालद्वारा निन्दा


रौतहट । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न सदरमुकाम गौरमा आयोजित कार्यक्रममा भएको ढुङ्गामुढा तथा तोडफोडको निन्दा गर्नुभएको छ ।
 
रासस प्रतिनिधि नरहरि आचार्यसँग आज चन्द्रनिगाहपुरमा सङ्क्षिप्त कुरा गर्दै नेता नेपालले कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय भएको बताउनुभयो ।
 
राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात आफूले गर्दै गरेका बखत सकारात्मक सोच नराख्नेहरूले एक्कासि ढुङ्गामुढा प्रहार गरेर कार्यक्रममा बाधा अवरोध गर्न खोजेको जानकारी दिँदै उहाँले नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न समुदायका प्रतिनिधिको सहभागितामा सौहार्दपूर्ण वातावरणमा संविधानको मस्यौदामाथि सुझाव सङ्कलन कार्य सम्पन्न भएको बताउनुभयो ।
 
रौतहट क्षेत्र नं १ अन्तर्गत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी हुन पाउनुपर्ने माग राख्दै सङ्घीय सद्भावना पार्टीलगायत मधेसवादी दलले विरोध प्रदर्शन तथा ढुङ्गामुढा गर्दा एमाले नेता नेपाल चढ्नुभएको बा१३च १४५१ नंको जिप तथा सुरक्षा निकायका सवारीमा समेत क्षति पुगेको छ । 
 
अहिले गौर नगरपालिका वरपरको वातावरण शान्त रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
 
उहाँले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलन गर्ने कार्यमा हुन सक्ने सम्भावित घटनालाई लक्ष्य गरी अन्य स्थानमा आयोजना हुने कार्यक्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । 
 
झापाको बनियानीमा झडप, दुई प्रहरीसहित चार घाइते 
 
यसैबीच,संविधानको मस्यौदाका विषयमा जनताको सुझाव सङ्कलन गर्ने क्रममा दक्षिणी झापाको बनियानीमा झडप भएको छ ।
 
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रसमेत रहेको झापा क्षेत्र नं ३ स्थित बनियानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र कोचिला गाभर फ्रन्टका कार्यकर्ता विरोधमा उत्रिएपछि झडप भएको हो । 
 
झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएका छन् । झडपमा परी राप्रपा नेपालका क्षेत्रीय सदस्य तुलसा आचार्य र सोही पार्टीकै कार्यकर्ता सर्मुद्दिन हक घाइते भएको बताइएको छ । घाइते प्रहरीको नाम भने जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छैन । घाइतेमध्ये आचार्य र हकको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको बताइएको छ । 
 
सुझाव सङ्कलनका लागि बनियानीस्थित सामुदायिक भवनमा पुग्नुभएका काँग्रेस महामन्त्री सिटौलामाथि राप्रपा नेपालका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडपको स्थित आएको हो । झडपका कारण एक घन्टासम्म सुझाव सङ्कलन कार्यमा अवरोध भए पनि राप्रपा नेपाल र कोचिला गाभर फ्रन्टका कार्यकर्तालाई प्रहरीले तितरबितर पारेपछि अहिले स्थिति सामान्य बनेको र सुझाव सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
झापाको क्षेत्र नं २ मा पनि राप्रपा नेपालका कार्यकर्ताले विरोध दर्शाएका छन् । जनताको सुझाव सङ्कलनकार्य सुरु भएलगत्तै राप्रपा नेपालका कार्यकर्ताले विरोध गर्न सुरु गरेको बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । 
झापाका अन्य निर्वाचन क्षेत्रमा भने सुझाव सङ्कलन कार्य शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस