मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा मुआब्जा वितरण

बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा मुआब्जा वितरण


गोरखाबजार । एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ । 
 
गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरूलाई मुआब्जा वितरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । कार्यालय भवन निर्माणका लागि आयोजनाले १३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको छ । प्रतिरोपनी रु सात लाख ९५ हजारका दरले मुआब्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो ।
 
आयोजनाले ३७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरेको हो । “तीस जनालाई मुआब्जा वितरण गरेका छौँ,” प्रजिअ तिमल्सेनाले भन्नुभयो – “बाँकी सातजनालाई छिट्टै वितरण गर्छाैँ ।” सातजनाको जग्गा बैंकमा रोक्का रहेकाले फुकुवा गरेपछि मात्रै मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ । 
 
पहिलो पटक चैत १२ गते सूचना प्रकाशन गरेर २७ जनाको र दोस्रो पटक जेठ २० गते सूचना जारी गरेर १० जनाको जग्गा अधिग्रहण गरिएको इञ्जिनियर आनन्द पौडेलले जानकारी दिनुभयो । 
 
अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु १० करोड ६६ लाख १० हजार वितरण गर्ने तयारी आयोजनाले गरेको छ । आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ । साथै चारवटा परीक्षण सुरुङ खनिएको छ । रासस