मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा प्रसूतिका बिरामी बढेपछि व्यवस्थापनमा कठिनाइ

भरतपुर अस्पतालमा प्रसूतिका बिरामी बढेपछि व्यवस्थापनमा कठिनाइ


चितवन । भरतपुर अस्पतालमा स्त्री तथा प्रसूति रोगको उपचार गर्न आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा कठिनाइ भएको छ । अन्य उपचारमा धनी र समाजका प्रतिष्ठित व्यक्तिले निजी अस्पताल रोज्ने गरे पनि प्रसूति रोगको उपचारका लागि भने सबैको आकर्षण सरकारी भरतपुर अस्पताल बनेको छ । बर्सेनि १० हजारभन्दा बढी प्रसूतिको उपचार गर्दै आएको भरतपुर अस्पतालमा दैनिक आठदेखि १० वटा आकस्मिक शल्यक्रिया गरी बच्चा झिकिँदै आएको छ । 
 
स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल हप्तामा दुई दिन मङ्गलबार र शुक्रबार तोकेर गरिने शल्यक्रियामा एक दिनमा १८ जनाको हाराहारीमा शल्यक्रिया हुने गरेको बताए । नेपाल सरकारको ३०० श्यया र अस्पताल विकास समितिको १३५ गरी ४३५ श्यया सञ्चालन हुँदै आएको यो अस्पतालमा १०० श्यया प्रसूतिका लागि छुट्याइएको छ । 
 
यहाँ सधैँजसो भुईंमा बिरामी राख्नुपर्ने बाध्यता रहिआएको छ । ‘आज १२० जना बिरामी छन्, हामीसँग १०० वटा श्यया मात्रै छन्, सधैँजसो यो समस्या आउँछ,’ डा पोखरेलले भने ।   
 
चौबीसै घन्टा आकस्मिक शल्यक्रिया गरी बच्चा झिक्ने काम अस्पतालले गर्दै आएको छ । मङ्गलबार र शुक्रबार भने बच्चा उल्टो, तेर्सा भएका, नबढेका, आमाको आङ खसेका, पाठेघरमा ट्युमर पलाएका, पानीको फोका देखिएका, ओभ्यारीमा ट्युमर पलाएका बिरामीको शल्यक्रिया गरिन्छ । सामान्यतया १६ वर्षदेखि ३५ वर्षसम्मका महिलाको शल्यक्रिया गरी बच्चा झिकिन्छ भने ४० वर्षभन्दा माथिका महिलाको पाठेघर खसेको शल्यक्रिया गर्ने गरिएको छ । 
 
अस्पताल सुत्केरी हुन आउने महिलामध्ये २५ प्रतिशतको शल्यक्रिया र अन्यको सामान्य प्रसूति गराइँदै आएको डा पोखरेलले बताए । भरतपुर अस्पतालमा दैनिक ४० जनाको हाराहारीमा शिशु जन्मने गर्दछन् ।   
 
काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूतिको उपचार भरतपुर अस्पतालमा हुने पोखरेलको दाबी छ । वार्षिकरुपमा झन्डै २० हजार उपचार गर्ने प्रसूतिगृहमा ६० जनाको हाराहारीमा चिकित्सक र त्यही तुलनामा नर्सिङ स्टाफ हुने गरे पनि भरतपुर अस्पतालमा भने छ जना चिकित्सक र ३० जना नर्सिङ स्टाफमात्रै छन् । 
 
पोखरेलका अनुसार प्रसूति बाहेकका १० हजारभन्दा बढी बिरामी उपचारार्थ भरतपुर अस्पतालमा आउने गर्दछन् । विगतदेखि नै राम्रो उपचार दिन सकेकाले भरतपुर अस्पतालले प्रसूतिमा ख्याति कमाएको छ ।  चितवनका अधिकांश र छिमेकी १० भन्दा बढी जिल्लाका बिरामी भरतपुर अस्पताल आउने गरेको उनले बताए । अस्पतालमा प्रसूतिको उपचार निःशुल्क हुन्छ । 
 
विभागीय प्रमुख पोखरेलले भने, ‘हाम्रो अस्पतालमा ३५ वर्षसम्म प्रसूतिमा काम गरेका पुराना र अनुभवी नर्सिङ स्टाफ छन् त्यो अस्पतालको ख्यातिका लागि प्रमुख कारण हो ।’ बाहिर रु ३० हजारभन्दा बढी पर्ने शल्यक्रिया अस्पतालमा निःशुल्क हुनु, सघन उपचार कक्षा हुनु, सस्तो मूल्यका क्याबिन हुनु, अनुभवी चिकित्सक रहनुलगायतका कारण अस्पतालको प्रसूति सेवा उत्कृष्ट बन्दै गएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारीले बताए ।  
 
पछिल्लो समय शल्यक्रिया गरेर बच्चा झिक्ने परिपाटी बढेर गएको छ । यसको चाप बढेर शल्यक्रियाको सङ्ख्या दिनहुँ बढिरहेको चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक लाखमा २७२ जना आमाको प्रसूतिको बेला मृत्यु हुने गर्दछ । 
 
ख्याति प्राप्त चिकित्सक डा केशवराज भूर्तेल, डा जागेश्वर गौतम, डा किरण रेग्मीजस्ता डाक्टरले विगतमा भरतपुर अस्पतालको प्रसूतिमा दिएको योगदानका कारण अस्पताल प्रसूति सेवामा अग्रणी बन्न सफल भएको मेडिकल सुपरिटेन्डेन्ट डा माणिकलाल मानन्धर बताउँछन् ।
 
ठाउँको अभावमा उपचार कठिन भएको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट मानन्धरले प्रसूति विभागमा कम्तीमा २०० श्ययाको क्षमता पु¥याएर जनशक्ति दोब्बर बनाउनेतर्फ अस्पताल प्रशासन लागिपरेको बताए । अस्पतालमा शल्यक्रिया टेबल नहुँदा चिकित्सकले पालो कुर्नुपर्ने अवस्था छ भने भवन जीर्ण भएको छ । 
 
उनका अनुसार अस्पताललाई ५०० श्यया क्षमताको बनाउने र यससँगै १० श्ययाको एनआइसियु निर्माण गर्ने योजना छ । रासस