मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चितवनमा खुल्यो आठ करोडको लगानीमा क्यूएफएक्स हल

चितवनमा खुल्यो आठ करोडको लगानीमा क्यूएफएक्स हल


चितवन । चितवनको नारायणगढमा बिहीबारदेखि अत्याधुनिक सुविधा सम्पन्न चलचित्र घर सञ्चालनमा आएको छ । डीसीएन जलमा प्रालिले पुरानो जलमा हल भएको ठाउँ लिलाचोकमा क्यूएफएक्स हल सञ्चालनमा ल्याएको हो । 
 
डिसिएन जलमा हल उद्घाटनको क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मानिसलाई गास, बाँस र कपास जस्तै मनोरञ्जन पनि आवश्यक रहेको बताउनुभयो । मानिस स्वस्थ रहनको लागि मनोरञ्जनसमेत आवश्यक रहेको र अत्याधुनिक सुविधासम्पन्न हलहरुले मनोरञ्जनमा नयाँ आयाम थपेको प्रजिअ सिंहले बताउनुभयो । अत्याधुनिक हल सञ्चालनले सर्वसाधारणको स्तर र क्षमताअनुसार मनोरञ्जन पाउने सयम आएको उहाँले बताउनुभयो । नेपालमा स्तरीय चलचित्र निर्माण हुन नसकेको कारण हिन्दी चलचित्रमा भर पर्नुपरेको सिंहको भनाइ थियो । नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र निर्माण गर्दै आएको डिजिटल सिनेमा नेपालले हल निर्माणको लागि लागि आठ करोड रुपैयाँभन्दा बढी लगानी गरेको हलका अध्यक्ष एवम् चलचित्र निर्माता अशोक शर्माले बताउनुभयो ।
 
हलको साउण्ड सिस्टम र प्रोजेक्सनको लागिमात्र करिब साढे एक करोड रुपैयाँ खर्च भएको शर्माले जानकारी दिनुभयो । आफहरुले हल सञ्चालन गर्दा क्यूएफएक्सको गुणस्तरलाई कायम गर्नुपर्ने भएका कारण हल व्यवस्थापनमा बढी खर्च गरिएको शर्माले बताउनुभयो । उक्त हलमा शुक्रबार, शनिबार र सोमबार चार शोमा चलचित्र देखाइने शर्माले बताउनुभयो । 
 
शुक्रबार, शनिबार र सोमबार दर्शकले चलचित्र हेर्नको लागि दुई ५० रुपैयाँको टिकट काट्नुपर्ने तथा बिहानी शोमा ५० प्रतिशत छुटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । शुक्र, शनिबार र सोमबारबाहेकका दिनमा उक्त हलमा तीन वटा शो देखाइने तथा चलचित्र हेर्नको लागि तीन वटा शोको व्यवस्था गरिएको शर्माले बताउनुभयो । ‘“क्युएफएक्स जलमा हलमा राष्ट्रियताको नाममा झुर नेपाली चलचित्र प्रदर्शन गर्दैनौँ” शर्माले भन्नुभयो, “चलचित्र छनौट समितिले छानेको चलचित्र मात्र हामीले प्रदर्शनमा ल्याउनेछौँ, हलबाट हिन्दी र अङ्ग्रेजी गुणस्तरीय चलचित्र समेत प्रदर्शन गर्नेछौँ ।” 
 
हल उद्घाटनका क्रममा जलमा नारायणगढका निर्देशक वीरेन्द्र नारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीलगायतले मन्तव्य राखेका थिए । यस चलचित्र भवनमा दुर्इ वटा हल रहेको छ जसमा ‘ए’ मा २६८ र ‘बी’ मा २६५ गरी कुल ५३३ सिट क्षमता रहेको छ ।