मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाता सम्मेलन सफल भयो : प्रधानमन्त्री कोइराला

दाता सम्मेलन सफल भयो : प्रधानमन्त्री कोइराला


काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले असार १० गते सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ सफल भएको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडित नेपालीको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका टोली र सञ्चारकर्मीसामु उहाँले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले सम्मेलनमा कुन रुपमा सहभागिता हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने चासोका बीचमा आयोजित सम्मेलन अत्यन्त सफल भएको बताउनुभयो । उहाँले सम्मेलनमा विभिन्न मुलुक र दातृ निकायहरुबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता भएको बताउँदै सबैले यस्तो अकल्पनीय विपद्को घडीमा नेपाललाई सक्दो सहयोग गर्न आह्वान गरेर नेपालको विकास प्रयासलाई सार्थक तुल्याउन सहयोग गर्नुभएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले दातृ सम्मेलनमा सहयोगको प्रतिबद्धता राम्रो आएकामा सन्तोष व्यक्त गर्दै पुनःनिर्माणको काम वर्षायाम सकिएपछि सुरु हुने बताउनुभयो ।
उहाँले अब बन्ने बस्ती भौगर्भिक रुपमा सुरक्षित धरातलमा बसाउनुपर्ने, भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, सम्पूर्ण बस्ती, सडक, ढल, पानी, बिजुली, टेलिफोनजस्ता पूर्वाधारले सम्पन्न हुने गरी बनाइने पनि बताउनुभयो ।
“हामीले ठूलो चुनौतीलार्ई सामना गरेका छौँ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “अब नयाँ आधुनिक र समृद्ध नेपालको निर्माण आरम्भ हुनेछ ।” 
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य प्रक्रियामा गएको उल्लेख गर्दै संविधान छिट्टै आउने बताउनुभयो ।
 
भूकम्पपीडितलाई साउदीका नेपालीको रु आठ लाख सहयोग
भूकम्पपीडित नेपालीलाई सघाउन साउदी अरबको अलसाफी डेरी फार्ममा कार्यरत नेपाली र होटल तनहुँ व्यासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा रु आठ लाख ५० हजार ५०५ को चेक होटलका सञ्चालक दीपक ९हिमकुमार० मल्लले प्रधानमन्त्री  सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य गोविन्द भट्टराईका साथै दाताहरु रेशम गुरुङ, मञ्जिल श्रेष्ठ, बी एन जोशी, सीता गुरुङ्ग, रविना मल्ल, शुक्र गिरी र होमबहादुर आलेमगर पनि उपस्थित हुनुहुन्थ्यो । रासस