मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुरानो मेडिकल कलेजको दादागिरी हटेन

पुरानो मेडिकल कलेजको दादागिरी हटेन


चितवन । भाडामा लिएको जग्गा रोक्का गरेको भनी विवादमा फसेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) त्यही जग्गाको भाडा सम्झौता पुनरावलोकन गराउने भरतपुर अस्पतालको प्रस्ताव बेवास्ता गरेको छ । भरतपुर अस्पतालले गत जेठ २४ गते दिनको साढे ११ बजे सम्झौता पुनरावलोकन गराउन मेडिकल कलेजलाई पत्र लेखेर आग्रह गरेको थियो । तर त्यो पत्रमाथि अटेर गरिएको भरतपुर अस्पतालको आरोप छ । 
 
‘सम्झौता पुनरावलोकन गराउन हामीले मेडिकल कलेजलाई पत्र काट्याँै तर त्यसको बेवास्ता गरियो’, अस्पतालका लेखा अधिकृत सूर्यमणि कँडेलले भने, ‘पत्र काटेको मितिमा हामी पर्खिबसेम् । तर उनीहरु आएनन् ।’
 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. माणिकलाल मानन्धरले मेडिकल कलेजलाई पत्राचार गरेर सम्झौता पुनरावलोकन गराउन अनुरोध गरेका थिए । भरतपुर अस्पताल विकास समितिको २०६२ साउन ३ गतेको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चलानी नम्बर ४४०० को ०६४ फागुन ९ गतेको अनुमोदित यस अस्पताल र कलेजबीच भएको सम्झौताअनुसार एक एक वर्षमा सम्झौता पुनरावलोकन गर्ने गराउने र स्वास्थ्य मन्त्रालयसँग अनुमोदन गराएर कार्यान्वयन गराउने प्रावधान रहेको थियो । 
 
‘सम्झौता पुनरावलोकन गराउनका लागि आयोजित छलफल कार्यक्रममा सहभागी हुन अनुरोध गरिन्छ’, डा. मानन्धरद्वारा लेखिएको पत्रमा छ । पत्रमा भनिएको छ, ‘अस्पताललाई बुझाउनुपर्ने अनुदान, अस्पताल भाडा, जग्गा भाडासमेत पटकपटक ताकेता गर्दा पनि समयमा भुक्तानी नगरेको, आधुनिक पोष्टमार्टम गृहनिर्माणका लागि भएको सम्झौता पनि पूरा नगरिएको, सम्झौताविपरीत यस अस्पतालको नाममा रहेको जग्गा र घरटहरा मेसिन औजार उपकरणआदि वस्तु इन्भेष्टमेन्ट बैकका नाममा मालपोत कार्यालय चितवनमा दृष्टि बन्धक राखी ऋण लिएको व्यहोरासमेत खुल्न आएकाले त्यस सम्बन्धमा छलफल तथा सम्झौता पुनरावलोकनका लागि त्यस अस्पतालका प्रमुखलाई बैठकमा उपस्थित हुन अनुरोध गरिन्छ ।’
 
२०५३ साउन ४ गतेको स्वास्थ्य सेवा विभाग र २०५३ असोज ६ गतेको  स्वस्थ्य मन्त्रालयको  निर्णयका आधारमा भरतपुर अस्पतालको ९ विघा जग्गा मेडिकल कलेजले भोगचलन गर्न थालेको हो । मेडिकल कलेज स्थापना देखि २०६३ र २०६४ मा सम्झौताको पुनरावलोकन भएपनि त्यसयता सम्झौताका बारेमा पुनरावलोकन हुन सकेको छैन ।
 
मेडिकल कलेज र भरतपुर अस्पतालको पछिल्लो पटक २०६४ पौष २९ गते भएको सम्झौताको सर्त नम्वर १ मा प्रत्येक एकएक वर्षमा सम्झौताको पुनरावलोकन गराउने उल्लेख छ । तर यो सम्झौता भएको आठ वर्षसम्म पनि त्यस सम्झौताका बारेमा पुनरावलोकन हुन सकेको अवस्था छैन । मेडिकल कलेजका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे सम्झौता पुनरावलोकनका लागि अस्पतालले लेखेका पत्रको बारेमा अनभिज्ञता प्रकट गर्छन् ।
 
‘सम्झौता पुनरावलोकन गराउने कुरा दुबै पक्षको सहमतिमा मिति तय हुनुपर्छ तर यसो भएको पाइएन’, उनले भने, ‘भरतपुर अस्पतालले सम्झौता पुनरावलोकन गराउनका लागि लेखेको पत्रका बारेमा जानकारी छैन ।’ पछिल्लो १२ बुँदे सम्झौतामा अस्पतालको जग्गा भोगचलन, भाडादर, मेडिकल कलेज र भरतपुर अस्पतालले गर्नुपर्ने कार्य तथा दायित्वका बारेमा स्पष्ट उल्लेख छ ।