मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले भुक्तानी नदिँदा भरतपुर अस्पतालले खर्च धान्न सकेन

सरकारले भुक्तानी नदिँदा भरतपुर अस्पतालले खर्च धान्न सकेन


चितवन । चितवनलगायत छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा पु¥याउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समय चरम् आर्थिक संकट परेको छ ।  माओवादी शिविरमा रहेका लडाकुको उपचार खर्चदेखि हालै गएको भूकम्पका घाइतेको उपचार खर्चसम्म सरकारी तबरबाट निकासा नगराएपछि आर्थिक वर्षको मसान्तसम्म आइपुग्दा भरतपुर अस्पतालमा भुक्तानी लिन आउनेको ताँती छ तर अस्पतालले बजेट अभावमा भुक्तानी दिन सकेको छैन । 
 
स्वास्थ्य मन्त्रालयले घोषणा गरेअनुरूप सामाजिक सेवा एकाइमार्फत अस्पतालले गरिब, निमुखा, सीमान्तकृत, जनजाति, महिला, वृद्धलगायतको उपचार निःशुल्क गर्दै आएको छ । सोबापत पठाउनुपर्ने रकम समयमा नपाउँदा भुक्तानी गर्न नसकेको अस्पतालका लेखा प्रमुख सूर्यमणि कँडेलले बताए । मन्त्रालयले घोषणा गरेपछि एचआइभी/एड्स सङ्क्रमितको उपचार निःशुल्क गरिएको भए पनि तीन वर्षदेखि सो बापत निकासा हुनुपर्ने रु २५ लाखसमेत निकासा नभएको उनले बताए । 
 
कँडेलका अनुसार माओवादी शिविरमा रहेका लडाकुको उपचारका क्रममा खर्च भएको रु १८ लाख साझा स्वास्थ्य सेवा र श्रीराज मेडिकललाई अहिलेसम्म भुक्तानी हुन सकेको छैन । त्यसैगरी मन्त्रालयले श्यया निःशुल्क गरेपछि आम्दानी घटेको छ तर वार्षिकरूपमा रु २५ लाखभन्दा बढीको तन्ना, डस्ना, सिरानीलगायतका सामग्री खरिद गरिँदै आइएको छ । मासिकरूपमा रु एक लाख ४६ हजार कपडा धुन खर्च हुने गरेको अस्पतालले जनाएको छ । गत वर्षसम्मको एक करोड ५३ लाख रूपैयाँ भुक्तानी माग गरेको भए पनि निकासा हुन नसकेको कँडेलले बताए । यस वर्षको मात्र रु ५० लाख थप हुने बताइएको छ । 
 
यसैगरी बजेट अभावका कारण गएको वैशाख मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘क’ ब्लक अधुरै रहेको छ । ठेकेदार कम्पनीलाई करिब रु २४ करोड भुक्तानी गर्नुपर्नेमा रु १८ करोड मात्र भुक्तानी भएको छ । अस्पताल विकास समितिले रु पाँच करोड भुक्तान गर्ने सहमति भएपनि हालसम्म बजेट नभएकै कारण रु एक करोड १५ लाख मात्र भुक्तानी गर्न सकेको छ । बाँकी रकम भुक्तान गर्ने अवस्थामा विकास समिति नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा माणिकलाल मानन्धरले बताए । त्यसैगरी अत्यावश्यक मानिएको ‘ग’ ब्लक निर्माणका लागि पहल भइरहेको भएपनि बजेट अभावमा निर्माण हुनसकेको छैन । सो ब्लकका लागि रु २५ करोड लाग्ने मेसु मानन्धरले बताए । वर्षात्मा ढलको अभावमा अस्पताल जलमग्न हुने गरेको छ र ढल व्यवस्थापनका लागि लाग्ने रु ६० लाख उपलब्ध हुने स्रोत छैन । 
 
त्यसैगरी आवास भवन जीर्ण भएका छन् भने पर्खाल भत्किएको छ । विद्युत् कटौती हुँदा जेनेरेटरको अभावमा सेवा ठप्प हुने गरेको छ । भूकम्पका कारण शल्यक्रिया कक्ष, प्रयोगशालासहित पुरानो भवन निकै जोखिम अवस्थामा पुगेको छ । बजेटको अभावमा नयाँ भवन सम्पन्न गर्न नसक्दा जोखिम मोलेर काम गराउनुपरेको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले बताए । 
भूकम्पबाट घाइते भएकाको उपचारका लागि  ६५ लाख रूपैयाँ खर्च भए पनि अहिलेसम्म  पाँच लाख रूपैयाँ मात्र भुक्तानी भएको छ । अस्पतालको सबै क्षेत्र आर्थिक अभावका कारण अस्तव्यस्त भएपछि मन्त्रालयमा बजेट निकासाका लागि आग्रह गरिएको अध्यक्ष सुवेदीले बताए । 
 
यस अस्पतालमा चितवन र छिमेकी जिल्लाका गरी वार्षिकरूपमा एक लाख ४० हजार बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालको आन्तरिक स्रोत वृद्धि गरी चालु आर्थिक वर्षमा रु २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि वैशाख मसान्तसम्म रु १३ करोड चार लाखमात्र आम्दानी भएको अस्पतालले जनाएको छ । सरकारी तवरबाट यस आर्थिक वर्षका लागि रु छ करोड ५० लाख मात्र भुक्तानी भएको छ । अस्पतालमा हाल सरकारी तवरबाट ३०० श्यया र विकास समितिबाट १३५ श्यया गरी ४३५ श्यया सञ्चालनमा छ । सरकारले १५४ जना चिकित्सक कर्मचारीको दरबन्दी दिएको छ भने विकास समितिले ३५० जना चिकित्सक कर्मचारीको तलब र भत्ता खुवाउँदै आएको छ ।