मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमा समूहद्वारा विद्यालयलाई जस्तापाता वितरण

आमा समूहद्वारा विद्यालयलाई जस्तापाता वितरण


गोरखा । भूकम्पले भत्काएको गोरखाको विद्यालयमा अस्थायी टहरा निर्माण गर्न पोखराका आमा समूहले जस्तापाता वितरण गरेका छन् । गोरखा नगरपालिका–६ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा टहरा निर्माण गर्न पोखराको सङ्कल्प र सिर्जना आमा समूहले ७० जस्तापाता हस्तान्तरण गरेका हुन् । 
महिला समूहले एक लाख रूपैयाँको जस्तापाता किनेर विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीलाई मंगलबार हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासङ्घ गोरखाको संयोजन र महासङ्घ केन्द्रीय सदस्य सुष्मा पौडेलको पहलमा आमा समूहले विद्यालयलाई जस्तापाता हस्तान्तरण गरेका हुन् । साथै, आमा समूहले महाभूकम्पको केन्द्रविन्दु बारपाक गाउँका दुईजना भूकम्पपीडितलाई अस्थायी टहरो निर्माण गर्न पनि जस्तापाता हस्तान्तरण गरेका छन् । 
होमस्टे सञ्चालन गर्दै आएका भूकम्पपीडित महिलालाई जस्तापाता र अस्थायी टहरो बनाउन आवश्यक पर्ने फलामका डन्डीहरू प्रदान गरिएको हो । ‘एउटाको दुःखमा अर्काले सहयोग गर्नुपर्छ’, पौडेलले भने, ‘जस्तापाताका साथै विद्यालयमा साबुन र सेनेटरी प्याड किन्न रकम दिएका छौँ ।’ सेनेटरी प्याड, साबुन र शौचालय निर्माण गर्नका लागि आमा समूहले विद्यालयलाई रु २५ हजार प्रदान गरेको हो । 
विद्यालयकी प्रअ त्रिपाठीले नगरपालिका क्षेत्रको विद्यालयलाई कसैले सहयोग नगरेको बताइन् । ‘नपाभित्र रहेको विद्यालय भएर होला ध्वस्त हुँदापनि कसैले सहयोग गरेनन्’, उनले भनिन् ‘आमा समूहले जस्तापाता दिएकोमा हामी धन्यवाद दिन चाहन्छौँ ।’ विद्यालयको भवन भत्केपछि त्रिपालभित्र राखेर विद्यार्थीलाई पढाइँदै आएको त्रिपाठीको भनाइ छ । रासस