मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका चार उच्च मावि खारेज गर्ने तयारी

चितवनका चार उच्च मावि खारेज गर्ने तयारी


चितवन । उच्च मावि शिक्षा परिषद्ले चितवनका चार उच्च माविहरु खारेज गर्ने तयारी गरेको छ । दुई वा तीन वर्षदेखि लगातार कक्षा सञ्चालन नगरेका उच्च माविहरुलाई खारेज गर्न लागेको परिषद्ले जनाएको छ । 

खारेज भएका उच्च माविलाई विद्यार्थी भर्ना नलिन परिषद्ले चेतावनी दिएको छ । परिषद्ले निकालेको सूचनामा चितवनका स्मल हेभन, शहीद स्मृति बहुमुखी क्याम्पस, हिलबर्र्ड आवासीय र मृगस्थली शिक्षा निकेतन रहेका छन् । यीमध्ये ३ निजी हुन् भने शहीद स्मृति कलेज हो । परिषद्ले देशभरका यस्ता ७२ उच्च माविको सम्बन्धन खारेज गर्न लागेकोे हो । 

परिषद्ले साउन एक गतेबाट लागू हुने गरेर खारेज प्रक्रिया अगाडि बढाउने जनाएको छ । सम्बन्धन खारेज गर्नु नपर्ने भएमा स्पष्ट कारणसहित परिषद्मा प्रष्टीकरण दिन निर्देशन गरिएको छ । परिषद्ले १५ दिनभित्र लिखित प्रमाणसहित प्रष्टीकरण माग गरेको छ ।

चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा प्रष्टीकरण नदिएमा उच्च माविहरु स्वतः खारेज गर्ने परिषद्ले चेतावनी दिएको छ । परिषद्ले सूचना प्रकाशित भएका उच्च माविहरुलाई साउन १ गतेदेखि सञ्चालन हुने शैक्षिक कार्यक्रममा कक्षा ११ का विद्यार्थी भर्ना नगराउन भनेको छ । 

चितवनमा उच्च मावि सञ्चालकहरुको संस्था हिसानमा आवद्ध निजी उच्च माविहरुको संख्या १४ रहेका छन् । जसमा पाँच हजारभन्दा धेरै विद्यार्थी पढ्छन् । एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएकाले उच्चमाविहरुमा भर्नाका लागि विद्यार्थीको भीड लाग्न थालेको छ । चितवनका उच्च माविहरुमा जिल्लाका साथै जिल्ला बाहिरका विद्यार्थीहरुको पनि आकर्षण बढेको छ ।

चितवनका निजी उच्च माविहरु विज्ञान र व्यवस्थापन विषयमा देशमै कहलिएका छन् । गत वर्ष कक्षा ११ को परीक्षामा विज्ञानमा चितवनकै वाल्मीकि शिक्षा सदनका विद्यार्थीले नेपाल टप गरेका थिए । विज्ञानमा पनि अघिल्ला वर्षहरुमा यस्तै उत्कृष्ट नतिजा आउने गरेको थियो ।
जिल्लामा उत्कृष्ट उच्च माविहरु पर्याप्त भएकाले प्रक्रियागत रुपमा उच्च मावि शिक्षा परिषद्बाट आउने सूचनाले विद्यार्थीलाई सूचित गराए पनि यहाँको शैक्षिक वातावरण प्रभाव नपर्ने शिक्षालय सञ्चालकहरुको धारणा छ । चितवनमा गण्डकी, धौलागिरी अञ्चलका जिल्लाहरुबाट प्रशस्तै विद्यार्थी आएर पढ्ने पहिलेदेखि चलन हो ।