मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दिसा नखुल्ने समस्या भएकी बालिकाले पाइन् नयाँ जीवन

दिसा नखुल्ने समस्या भएकी बालिकाले पाइन् नयाँ जीवन


चितवन । जन्मँदैमा दिसा नहुने समस्याबाट पीडित बनेकी भरतपुर–५ बेलचोककी ६ वर्षीया वर्षा श्रेष्ठको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
 
कान्ति बाल अस्पताल महाराजगञ्जमा जेठ १३ गतेदेखि भर्ना गरिएकी वर्षाको जेठ २२ गते सफल शल्यक्रिया भएको थियो । उनको उपचारमा बाल शल्य चिकित्सकद्वय डा सुशीलकुमार शाक्य र अनुपमा बस्नेत संलग्न थिए । जेठ २९ गते अस्पतालबाट डिस्चार्ज भएकी वर्षाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ ।
 
गत वैशाख ७ गतेको हिमालय खबर डटकमचितवनपोष्ट दैनिकमा जन्मेदेखि दिसा नहुने समस्याकी वर्षाबारे ‘मलाई बचाउनुहोस्’ भनेर समाचार प्रकाशित भएको थियो । दक्षिणी चितवनको माडी खरकट्टाका प्रकाश र हीरा श्रेष्ठकी एकमात्र छोरी वर्षाको जन्मँदैमा मलद्धारबाट दिसा नहुने समस्या रहेको थियो । भरतपुर–५ स्थित बेलचोकमा ऋणधन गरेर मासु पसल चलाउँदै आएका यी दम्पतीले छोरीको उपचार गर्न नसकेको वेदना पोखेका थिए ।
 
वर्षाबारे समाचार प्रकाशित भएपछि देशविदेशमा बस्ने नेपालीहरुले वर्षाको उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । समाचार हेरेर सोही दिन प्रभु हाउजिङ एण्ड पोपर्टी डिलर्स प्रालि, भरतपुर–१२ का अध्यक्ष केशव कार्कीले कम्पनीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
 
यस्तै अष्ट्रेलिया बस्ने नेपाली दिदीबहिनीहरुले उपचार सहयोगार्थ २० हजार रुपैयाँ र बहराइन बस्ने कुमार श्रेष्ठले ५ हजार रुपैयाँ पठाएका थिए । यस्तै भरतपुरकी काजल जोशीको संयोजनमा ३ हजार ६४० रुपैयाँ, टाँडी सुनचाँदी पसलका चन्द्र सुनारले एक हजार रुपैयाँ, हाकिमचोकका राजु क्षेत्रीले २ हजार रुपैयाँ, काठमाडौँ टेकुका युवाहरुले ६ हजार रुपैयाँ, हेटौँडाका चन्द्रकुमार सिलवालले ४ हजार रुपैयाँ सहयोग गरेका थिए । अन्य दाताबाटसमेत गरी ८० हजार रुपैयाँ संकलन भएको बाबु प्रकाश श्रेष्ठले बताए ।
 
उपचार गरी घर फर्किएका वर्षाकी आमा हिराले छोरीको उपचारमा सघाउने सबै दाताप्रति हृदयदेखि नै धन्यवाद प्रकट गरेकी छन् । उनले छोरीको समस्याबारे समाचार लेखिदिने पत्रकार केशव भट्टराई र सहयोग गर्ने स्थानीय सुमित्रा सापकोटालाई समेत विशेष धन्यवाद दिएकी छन् ।
 
आर्थिक अभावले बालिकाको उपचार गर्न नसकेको र स्वास्थका कारण बोर्डिङ स्कुलहरुले भर्नासमेत लिन नमानेको प्रसङ्गमा वर्षाका बुबा प्रकाशले छोरी निको हुनासाथ स्कुल पठाउने बताए । ‘तपाईंहरुको सहयोगले गर्दा मेरी छोरीको उपचार भयो, अब छोरीलाई राम्रोसँग पढाउने सोच बनाएका छौँ’ उनले भने ।
 
यसअघि दिसा नहुने समस्याबाट पीडित भएकी वर्षाको पेटमा प्वाल बनाएर आन्द्रामार्फत् दिसा गर्ने अस्थायी ठाउँ बनाइएको थियो । अहिले वर्षा अन्य बच्चासरह नै मलद्धारबाटै दिसा गर्न सक्ने भएकी छन् । उनको उपचारपश्चात् श्रेष्ठ दम्पतीको अनुहारमा खुसी छाएको छ । 
 
उपचारअघि वर्षा आमा हिरासँग ।