मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेम गर्ने बहानामा महिलालाई चितवन हुँदै भारत लगेर बिक्री

प्रेम गर्ने बहानामा महिलालाई चितवन हुँदै भारत लगेर बिक्री


काठमाडौँ । भक्तपुरबाट बिक्री गर्न भारत पुर्‍याइएकी सिन्धुपाल्चोक थाङ्पाल्कोट–२ की २१ वर्षीया सुनिता खत्री (परिवर्तित नाम)को भक्तपुर प्रहरीले उद्धार गरी फिर्ता ल्याएको छ ।
 
भूकम्पले त्रसित भएका बेला भक्तपुरबाट गत जेठ १८ गते नुवाकोट जिल्ला शिखरबेँसी गाविस–९ का १७ वर्षीय सुमन तामाङले बिक्री गर्न भारत पुर्‍याइएपछि प्रहरीले उद्धार गरी जेठ २६ गते भक्तपुर फर्काएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए । भक्तपुरको व्याँसीस्थित प्राइम अफ्सेट प्रेसमा विगत दुई वर्षदेखि काम गर्दै आएकी खत्रीलाई एक महिनादेखि सँगै काम गर्ने तामाङले प्रेम गर्छु भनी सम्बन्ध बढाएर बिहे गर्छु भन्दै घुमाउन लाने बहानामा भारत पुर्‍याइएको अनुसन्धानबाट खुलेको उनले बताए ।
 
नेपाल फर्काइएकी खत्रीले आफूसँग प्रेम गर्छु भनेर फकाई घुम्न जाने बहानामा उसले भारत पुर्‍याइएको बताइन् । उनका अनुसार अब विवाह गर्ने, पहिला कपडा किनेर घुम्न जाउँ भनेर एकरात काठमाडौँको होटलमा राखेपछि भोलिपल्ट कलङ्कीबाट बस चढेर चितवन लगेको र पछि घुम्न जाने भन्दै भारत पुर्‍याइएको थियो ।
 
भारतको सीमामा पुगेपछि मामा भन्ने एक र अरुसहित गरेर चारजना एकै बसमा भारत लगेको बताउँदै खत्रीले भनिन्–“भारत जान्नभन्दा बिहे गरेर भारतमै बस्ने, दुईवर्ष उतै काम गरेर फर्कौंला भन्यो, भोक लाग्यो भन्दा गाडीमा खानेकुरा ल्याइदिन्थ्यो, शौचालय जाँदा पनि मास्क लगाएर सलले अनुहार छोप्न लगाउँथ्यो ।”
 
भारत पुगेपछि थप चारजनासहित आठजनाको घेराबन्दीमा परेकी उनलाई सिलिगुढी हुँदै मेघालयको सिलोङ लाडुङवाई तिनालीमा एक होटलमा पुर्‍याइएपछि नेपाली भाषी सङ्गीता श्रेष्ठको सहयोगमा उनको उद्धार भएको प्रहरीको भनाइ छ ।
 
त्यहाँबाट एक नेपाली भाषी महिलालाई बुझाउने क्रममा खत्री जान नमानेपछि सङ्गीतासहितका स्थानीय नेपाली भाषीले सोधपुछ गरेर प्रहरीलाई खबर गर्ने भनेपछि सबै तत्काल फरार भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
 
खत्रीले दाजु भक्तपुर प्रहरी परिसरमा कार्यरत प्रहरी जवान नीरबहादुर खत्रीको बारेमा जानकारी दिएपछि सङ्गीताले फोन गरेर घटनाबारे जानकारी दिएर बहिनी लिन आउनु भन्ने खबर दिएपछि खत्रीसहित दुईजनाको टोली २३ गते भारत गएर उद्धार गरेर ल्याएको थियो ।
 
उद्धारमा संलग्न प्रहरी जवान खत्रीले सिलिगुढीमा सङ्गीता र अरु नेपाली भाषीको सहयोगमा बहिनीको उद्धार गर्न सहज भएको बताए । फरार तामाङको भने नेपाल र भारतीय प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । –रासस