मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा एनआइसियू खोल्ने तयारी

भरतपुर अस्पतालमा एनआइसियू खोल्ने तयारी


चितवन । चितवनको पुरानो सरकारी भरतपुर अस्पतालमा १० बेड क्षमताको एनआइसियू राख्ने तयारी थालिएको छ । भरतपुर अस्पतालको “बी” ब्लकमा रहेको बच्चा वार्डसँगै एनआइसियू सञ्चालनको तयारी थालिएको भरतपुर अस्पताल बच्चा विभागका विभागीय प्रमुख डा. नारायणबहादुर थापाले जानकारी दिए । 
 
‘भरतपुर अस्पताल मध्यक्षेत्रकै सुरक्षित सुत्केरी गराउने केन्द्र भए पनि एनआइसियू नहुँदा समस्या हुदै आएको छ’ थापाले भने, ‘अबको केही महिनाभित्रै अस्पतालमा नवजात शिशुका लागि एनआइसियू सेवा सञ्चालनमा आउँछ ।’ 
 
एनआइसियूका लागि ९ जना स्टाफ नर्स र ५ मेडिकल मेडिकल अफिसरको आवश्यकता देखिन्छ । यस्तै सो वार्डमा अक्सिजनको सेन्टर सप्लाई पनि जोड्नुपर्ने हुन्छ । एनआइसियू सेवा सञ्चालनका लागि आवश्यक न्यूनेटल वार्मर वेड ८ बटा अस्पतालमा आइसकेको थापाले जानकारी दिए । 
 
न्यूनेटल वार्मर वेड स्वास्थ्य सेवा विभागले भरतपुर अस्पतालका लागि निःशुल्क प्रदान गरेको हो । अस्पतालले एनआइसियू सेवाका लागि आवश्यक पर्ने २ वटा भेन्टिलेटरमध्ये एउटा खरिदका लागि टेण्डरसमेत गरिसकेको विभागीय प्रमुख डा. थापाले बताए । 
 
बाँकी १ भेन्टिलेटर र ४ वटा सिप्याप मेसिनका लागि पनि छिट्टै प्रक्रिया अघि बढाउने तयारी भएको छ । भेन्टिलेटरका लागि करिव २४ लाख रुपैयाँ खर्च हुन्छ भने एउटा सिप्यापका लागि ५ लाख लाग्ने अनुमान गरिएको छ । 
 
‘धेरै कम तौल भएका, जन्मिँदा निस्सासिएर जन्मिएका, संक्रमण भएका साथै सिकिस्त नवजात शिशु, जो आफैं सास फेर्न सक्दैनन्, गाह्रो हुन्छ उनीहरुलाई एनआइसियूमा राखिन्छ’, डा. थापाले भने । जति सामान र उपकरण छ त्यसबाट सुरू गर्दै जान बाल स्वास्थ्य महाशाखाबाट निर्देशन आएको पनि थापाको बताए । 
 
एनआइसियू सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई मेसिन अपरेट गर्न तालिम आवश्यक पर्ने भएकोले सम्बन्धित कर्मचारीहरुलाई तालिमका लागि पठाउने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. माणिकलाल मानन्धरले जानकारी दिए ।